Friday, November 21, 2008

१९ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइँदै

काठमाडौँ, मङसिर ५- नोवेम्वर २०/'नयाँ नेपालको नयाँ संविधान बाल अधिकारको पूर्ण सम्मान' भन्ने मूल नाराका साथ आज १९ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
बालअधिकार सम्बन्धी महासन्धी सन् १९९० मा अनुमोदन गरेपछि त्यसको कार्यान्वयनका लागी नेपालले पनि थुप्रै काम गरिरहेको नेपाल सरकारको दावी रहेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा बालअधिकारसँग सम्बन्धित सङ्घसंस्थाले आज बिहानैदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा र्याली निकालिरहेका छन् ।
बालअधिकार दिवसकै सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगले विगतमा भएका बाल अधिकार सम्बन्धी प्रतिवद्धताहरूलाई यथाशीघ्र कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । आयोगले विज्ञप्ति निकालेर सरकारलाई संविधानमा व्यवस्था गरेअनुसारको बालअधिकार प्रत्याभूत गर्न आग्रह गरेको हो ।
बालअधिकार संरक्षण, प्रवर्द्धन र परिपूर्तिका लागि नेपाल सरकारलाई विभिन्न समयमा सिफारिसहरू गरिरहेको उल्लेख गर्दै आयोगले कार्यान्वयन हुन बाँकी रहेका सिफारिसको कार्यान्वयनका लागि नेपाल सरकारले तत्काल पहल गर्नु पर्ने समेत आवश्यकता औल्याएको छ । नेपालका हजारौं बालबालिकाहरूलाई राहत, पुन:र्स्थापना र सामाजिक पुन:एकिकरणको खाँचो रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।