Wednesday, January 20, 2016

सेल्फी पुराण !

सेल्फी पुराण ! 
श्री गणेशाय: नम ! 


आफैले आफ्नो हत्या गर्नुलाई आत्माहत्या भने जस्तै, आफैले आफ्नो फोटो खिच्नुलाई सेल्फी भनिन्छ । अथवा भनिदो रहेछ थाहा पाईयो । त्यसैले होला कता कता यो पनि आत्माहत्या जस्तै भयानक र बीभत्स देखिन्छ । सेल्फी हान्दा चोरी औलो र माझी औलो अग्रेजी बर्णमालाको २२औं अक्षर V जस्तो बनाउएर थुतुनो बिगार्नु अनिवार्य सर्त हो । जमानत जफत भएका विपक्षीका हिसिला,आङकाजी र सरिता गिरी हुन कि भुकम्पसंग हारेर घाईते भएको सरकारका सुशील बामदेब र रामशरणहरु हुन ! चाहे जो होस र जतिसुकै ठूलो हरीलठ्ठक हरूवा होस सेल्फी हान्दा बिजयको प्रतीक victory को "V"को साथमा थुतुनो च्वाँचेको जस्तो चुच्चो बनाउनै पर्छ । नत्र सेल्फी - गयल !आत्माहत्या असफल !! 

पहिला पहिला सेक्स्पियरका कथा जस्तै सेल्फी दुई प्रकारका मात्रै हुन्थे ! संयोगान्तक र वियोगान्तक !! भर्खरै लप पारेकी छिमेकीकी छोरीसंग जोडी बाधेर गाला टासी जोर थुतुनो चुच्चो परेरे "V" मा पोज दिनु संयोगान्तक सेल्फीको उत्तम नमुना भई गयो ! परलोक गमन भएका बाउको लासमाथी बियोगमा छाती पिटिपिटी रोईरहेकी आमालाई पृष्ठभुमिमा राखेर छोराले खिचेको सेल्फी वियोगान्तक सेल्फीको सर्बोच्च कोटीमा पर्छ । तर महाभुकम्प २०७२ पछी सेल्फिको संसारमा उद्दार र राहत भन्ने थप २ प्रकृतिका सेल्फी थपिएर ४ जातको सेल्फीले फेसबुकका भित्ता झन भयावह र बीभत्स बनाएको छ ।

च्याट्ट संग बिहामा सिलाएका टाईसुट धरी भए आफ्नो नभए मागेको कालो चस्मा जखी सकेपछि उद्दारमा प्रयोग भैरहेको बेल्चा एकैछिनलाई मागेर हातमा देखिने गरि लिएपछि भग्नावशेष माथी उपयुक्त प्रकाशको संयोजनमा लिएको सेल्फिलाई उद्दार सेल्फी भनिन्छ भने, एकाबिहानै उठि डाबरलाल दन्तमन्जनले दुईपटक दांत माझेर नरिबल छाप तेल लगाई चिटिक्क कपाल कोरि श्रीमतीजिले टक्र्याएको ब्रेकफास्ट ज्युनार गरिसकेपछि लुटेर, धुतेर, खोसेर, मागेर जे जसरी हात लागेको होस ! हात लागि भएको राहत एक समारोह बिच मोती झै टल्केको दांत ङीच्च देखाउदै हासेर पीडितलाई राहतको बोरा दिदै गर्दा लिएको सेल्फिलाइ राहत सेल्फी भनिन्छ । 


आत्माहत्या गर्ने कर्ताले आफ्नो शरीरको हत्या गर्छ र संसारबाट बिदा लिन्छ । बिपत्तिका बेला चारो हालेर सेल्फी हान्ने सम्बन्धि दलको नेताले आफ्ना संबेद्नाहरुको हत्या गर्छन र आफ्नो नकचरो अनुहार संसारलाई चिनाउछ्न । फलानो दलको तन्नेरी संघ र ढिस्कनो दलको तरुनी संघका नाममा उद्दार र राहतको अभिनय गर्दै राजनैनिक फाईदाका लागि सेल्फी हान्ने राजनैतिक दलका सेल्फिप्रेमी हनुमानहरु हुन अथवा लिम्बुवान त्रिपाल र मधेसी चामल अनि आर्यखस चाउचाउ र जयमुसी चिउरा बाडेर खिचिएका सेल्फीहरु हुन । ती सेल्फि पुराणका सबभन्दा घटिया र संवेदनाहिन सेल्फीहरु हुन । भुकम्पलाई स्वर्णिम अबसर ठान्दै आफ्ना आफ्ना नारा, एजेन्डा र धर्मको पहाड बोकेर प्रचार गर्ने यी सेल्फिदेबहरुको भित्री नियत पीडितलाई राहत उपलब्ध गराउनु हैन आफुलाई दान शिरोमणि बलीराज प्रमाणित गर्दै सकेको फाईदा उठाउनु हो । त्यसैले सेल्फी पुराणका यी अनेकौं सेल्फि देबहरुको नियत बुझौं र भक्तहरूले आजै आफ्ना आफ्ना सेल्फिदेबलाई तर्पण दिएर बिषर्जन गरौ ! 
इति इस्कन्दे पुराणखण्डे माग माहात्मे कुमार अगस्ते सेल्फी पुराण इति !! -सन्तोष चिमरिया 
हरी शरणम .........

Tuesday, January 19, 2016

उट्पट्याङ र प्रतिवादी -१

 मेरी प्रेमिकाको आँखा गिद्धका जस्ता हुन् 
उनी बोल्दा कागको जस्तो आवाज आवस
बस्दा कालिमाटिको थुप्रो जस्तै देखिउन 
हिँड्दा मरुभूमिको उँट जस्ती हुन् उनी 
चिम्पान्जिको जस्तो थुतुनो होस् उनको
मयुरका जस्ता कत्ला परेका खुट्टा हुन्
गणेशको जस्तो ठूलो भुँडी भएकी
चिप्ले किराको जस्तो शरीर होस्
लामखुट्टेका जस्ता हात हुन्
चिबेको जस्तो स्वभाब भएकी हुन्
कोकलेको जस्तो बानी होस् उनको
गलामा ठूलो गाँड भएकी हुन् उनी
अनुहार भरि कालो पोतो आएकी
हेर्दैमा हेर्दै घिनलाग्दी शरिर भएकी
उनी बोल्दा २ फीट पर सम्म सास गनाएर बान्ता आउने
तर जे भए पनि उनी मेरै मात्र हुन् ।
१६ जनवरी २०१६
कृष्ण  
यस्तो कल्पना कसले गर्छ ? सबैले कि त प्रेमिकाको प्रसंसामा लेख्छन कि बिछोड भयो भन्दै गाली गर्दै लेख्छन । हुन त मेरो बिचारमा राम्री हुनु उनी र पति दुबैको लागी असुरक्षा हो । यो चाँहि मेरा हजुरबाको उखानबाट । "जाग्गा किन्नु ढाँडे बिहे गर्नु गाँडे " यो मैले अनौठो रुपमा विपक्षमा लेखेकोले यसलाई प्रतिवादी साहित्य भन्नु पर्छ भन्ठान्छु म ।

Thursday, January 14, 2016

एक पटक घुम्नै पर्ने 'रुरु'


 
 
नेपालमा हिन्दुका चारधाम अर्थात् चार मुख्य तीर्थस्थलमध्येको रुरु क्षेत्र (रिडी) को पौराणिक महिमा अपरम्पार छ। यस क्षेत्रको संरक्षण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ सरकारले हालै हुलाक टिकट प्रकाशन गरेको छ।
 यहाँको मुख्य मन्दिर ऋषिकेशको चित्रांकित पाँच रुपैयाँको टिकटमा सञ्चारमन्त्री डा.मीनेन्द्र रिजालले टाँचा लगाएका थिए। यसबाट रुरुवासी प्रसन्न छन्।
 रुरु क्षेत्रमा धर्म संस्कृति र प्रकृतिको आनन्द प्राप्त गर्न आउने पर्यटकको संख्या पनि उत्साहजनक ढंगले बढेको तथ्यांक रुरु क्षेत्र व्यवस्थापन समितिसँग छ। 

पहिले यो क्षेत्र धर्म, संस्कृति, शिक्षा र व्यापारको केन्द्र थियो। पूर्वपश्चिम राजमार्ग, तानसेन-रिडी-तम्घास एवं ग्रामीण क्षेत्रमा सडकको सञ्जाल विस्तारपछि रिडीको व्यापार तानसेन हुँदै बुटवल झरेको हो। 
 
पहिले रोल्पा, रुकुम, प्यूठान, बाग्लुङ पश्चिम नेपालका सबै क्षेत्रका मानिसको मुख्य व्यापार केन्द्र्र रिडी थियो। त्यसैको निरन्तरता अहिले पनि माघेसंक्रान्ति र एकादशी मेलामा रोल्पा रुकुमका घरबुना राडी, पाखी, कम्बल, नाङ्लो, डोकोको निकै व्यापार हुन्छ। 
 
अब रिडी फेरि पर्यटकीय नगरीको रूपमा चम्किन थालेको छ। यहाँका पुरातात्त्विक मठमन्दिर, पाटीपौवा, गुफाकन्दरा, पुराना घर र विशेष ढुंगा (छापा) बिछ्याइएका सडक, ऋषि आश्रम, ऐतिहासिक दरबार, प्राचीन संस्कृत पाठशाला, नेपालको ताजमहल भनिने रानीमहल आदि सम्पदा प्रति पर्यटक आकर्षक भएका छन्।
 
सरकारले १४ करोड रुपैयाँ लागतमा एसियाकै नमुना हुने गरी गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्ला जोड्ने तीनमुखे आकर्षक झोलुंगेपुल निर्माण थालेको छ। ३० करोड रुपैयाँ लागतमा स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल पनि निर्माण सुरु भएको छ। 
 
आर्थिक गतिविधि बढेकाले पुरानो राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनस्र्थापना, बजारको सडक पक्की र कालीगण्डकी कोरिडोरलाई रिडीको बगर हुँदै लैजानु मागको स्थानीयको छ। 
 
रुरु क्षेत्रमा आयोजना गरिने रामनवमी मेलामा यस वर्ष विगतको वर्षको तुलनामा भक्तजन आगमन बढेको छ। रुरु क्षेत्रलाई भक्तजनले भगवान् विष्णुको निवासस्थल मान्ने गर्छन्।
 
रुरु क्षेत्र व्यवस्थापन समितिको अभिलेखअनुसार कालीगण्डकी किनारका विभिन्न वेणी र घाटहरूमा गरी यसै वर्षको मकर (माघी) स्नान मेलामा १० लाखभन्दा बढी भक्तजनले गंगास्नान गरेका थिए। 
 
त्यसअघि कार्तिक स्नानमा पनि लाखौं भक्तजन सहभागी भएका थिए। रुरु क्षेत्र, मुक्तिनाथ, देवघाट, त्रिवेणीलगायतका विभिन्न स्थानमा भक्तजनहरूले श्रद्धापूर्वक आध्यात्मिक उद्देश्यले गंगास्नान गर्ने गर्छ।
 
कालीगण्डकी किनारका रुरु क्षेत्र, मुक्तिनाथ र देवघाट तीर्थस्थलका रूपमा पौराणिक कालदेखि नै प्रसिद्ध हुन्। भगवान् विष्णुको प्रिय क्रीडास्थलको रूपमा यी ठाउँहरूको वराह र स्कन्दपुराणको हिमवत् खण्डमा चर्चा छ। 
 
श्रीमद्भागवद् र महाभारतमा समेत रुरु क्षेत्रका हृषिकेशव भगवान्को चर्चा छ। नेपालमा हिन्दुका चार मुख्य तीर्थस्थल अर्थात् चारधाममध्येका दुईधाम मुक्तिनाथ र रुरु क्षेत्र हुन्। अरू दुई धाम काठमाडौंको पशुपतिनाथ र सुनसरीको वराह क्षेत्र हुन्। 
 
कालीगण्डकी नदी आफैं पनि भगवान् विष्णुको गलाबाट पसिनाको रूपमा उत्पत्ति भएको मान्यता छ। कालीगण्डकीलाई कलियुगमा श्रेष्ठ तीर्थस्थलको रूपमा पुराणमा वर्णन गरिएको छ। 
 
कालीगण्डकीको उत्पत्तिस्थल मुक्तिनाथदेखि रुरु क्षेत्र, देवघाट र त्रिवेणीसम्म धेरै वेणी र घाटहरूमा भक्तजनहरूले आफ्नो सुविधाअनुसार स्नान र पूजा गरी भगवान् विष्णुप्रति आस्था र श्रद्धा प्रकट गर्ने गर्छन्। 
 
कालीगण्डकी किनारका रुरु क्षेत्र, मुक्तिनाथ र देवघाट तीर्थस्थलका रूपमा पौराणिक कालदेखि नै प्रसिद्ध हुन्। भगवान् विष्णुको प्रिय क्रीडास्थलको रूपमा यी ठाउँहरूको वराह र स्कन्दपुराणको हिमवत् खण्डमा चर्चा छ। श्रीमद्भागवद् र महाभारतमा समेत रुरु क्षेत्रका हृषिकेशव भगवान्‌को चर्चा छ।
 
मुक्तिनाथ विष्णु र गण्डकीको उत्पत्तिस्थल, रुरु क्षेत्र उनको निवासस्थल, देवघाट देवताहरूले नुहाउने घाट र त्रिवेणी विष्णुले गजेन्द्रनामक हात्तीलाई गोहीको कब्जाबाट मुक्त गराएका पवित्र स्थलहरू हुन्। 
 
गजेन्द्रलाई मोक्ष दिलाउने क्रममा सुदर्शन चक्रले ढुंगा घोटिएर शालिग्राम शिला अर्थात् चक्रशिला निर्माण भएको मान्यता छ। कालीगण्डकीमा पाइने चक्रशिला संसारमा अन्यत्र कतै नपाइने भएकाले यसलाई विष्णुको अवतारको रूपमा भक्तजनले श्रद्धा गर्ने गर्छन्। कालीगण्डकीलाई चक्र नदी पनि भनिन्छ।   
    
रुरु क्षेत्रको पौराणिक महत्त्व यहाँको हृषिकेशव मन्दिरमा प्रचलित पुजारी परम्पराबाट पनि स्वत: सिद्ध हुन्छ। यो मन्दिरमा झन्डै पाँच सय वर्ष अघिदेखि यसै क्षेत्रअन्तर्गतको अर्गलीका भट्टराई परिवारले मात्र सनातन ढंगले पूजा गरिरहेका छन्। यद्यपि अहिले यो परम्परा संकटमा पर्न थालेको छ।
 
तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले रुरु क्षेत्रको अर्गलीका भट्टराईलाई पुजारीको काम गर्न लालमोहर प्रदान गरेका थिए। अहिलेसम्म यही परिवारले नै यो काम गरिरहेको छ। 
 
बसाइँसराइँ, संस्कृत शिक्षाको पढाइ नहुनु एवं शास्त्रबमोजिमको पवित्र आहारविहार भएका योग्य ब्राह्मणको कमी हुँदै जानु आदि कारणले पाँच सय वर्षदेखि निरन्तर चलिरहेको परम्परा संकटमा पर्न थालेको हो। 
 
हृषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीका अनुसार अर्गलीमा अहिले जम्मा १२ घर भट्टराई छन्। दुईचारजना बूढा भट्टराईहरू रहुञ्जेल अझै केही वर्षसम्म यो परम्परा चले पनि युवा पिँढीमा शिक्षा एवं आहारविहारको परीक्षामा उत्तीर्ण हुने व्यक्तिहरू पाइन छाडेका छन्। 
 
अहिलेसम्म अर्गलीमै बसोबास गरी हृषिकेश गुठीको जग्गा उपभोग गर्ने भट्टराई परिवारबाहेकका व्यक्तिहरूलाई पुजारी नियुक्त गर्ने गरिएको छैन। यो परिवारमा योग्यता पुगेका व्यक्तिहरू पाइन छाडेपछि परम्परालाई निरन्तरता दिन समस्या पर्ने अध्यक्ष रेग्मीको भनाइ छ। अहिले जीवित पुराना बूढाहरू शास्त्रीय ज्ञानको अतिरिक्त पवित्र आहारविहारको परीक्षामा खरो उत्रेको अनुभवसमेत उनले बताए।
 
यो मन्दिरको पुनस्र्थापना मणिमुकुन्दले नै गराएका थिए। विक्रम सम्वत् १५७५ देखि १६१० सम्म शासन गरेका मणिमुकुन्दले रुरु क्षेत्रको कालीगण्डकीमा स्नानको क्रममा नदीभित्र हृषिकेश (भगवान् विष्णु) को सपरिकर (जयविजय पार्षद र शंखचक्र आयुधसहित) चतुर्वाहु कृष्ण वर्णको तीन फुट नौ इन्च अग्लो मनोहर मूर्ति भेटाए। 
 
यसलाई राजधानी भैरवस्थान लैजान चाहेकोमा सबै प्रयास विफल भएपछि नदीकिनारको पखेरोमा स्थापित गरिएको एेतिहासिक प्रमाण छ। स्वयं उत्पत्ति भएको शालिग्रामको यस्तो मनोहर मूर्ति संसारमा दुर्लभ भएको मानिन्छ।
 
मणिमुकुन्दले नियमित पूजा र अक्षताको लागि अर्गलीको खेतको गुठी र भट्टराई परिवारलाई पुजारी नियुक्त गरी लालमोहर गरिदिएका थिए। खेतमा सिँचाइको लागि जोर्ते कुरुङ खोलाबाट कुलो निर्माण गराएका थिए। जो राजकुलो जेठीको नाममा अहिले पनि चल्छ। 
 
गुठी जग्गाको चौकिल्लाको लालमोहर १८९८ सालमा तत्कालीन राजा राजेन्द्रविक्रम शाहले गरिदिएका थिए। गुठीको खेतमा रोपाइँ गर्दा बाजागाजा, गीत र नृत्यसहित ठूलो उत्सवको रूपमा गरिन्छ।
 
यहाँ पुजारी बन्न शास्त्रीय ज्ञानको अतिरिक्त सात्विक आहार, सदाचार अर्थात् एकनिष्ठ यौनसम्बन्ध र सजातीय मागी विवाहबाट जन्मेको व्यक्ति हुनुपर्छ। यसको परीक्षण एवं पालो बाँध्ने काम भट्टराई परिवारले नै गर्दछन्। 
 
पारिश्रमिक भगवान्को मूर्तिमा भेटी स्वरूप भक्तले चढाएको रकम पाउँछन्। अड्का (अक्षयकोष) मा दान गरेको धनमाल मात्र मन्दिरको हुने परम्परा छ। अहिलेसम्म भट्टराई परिवारले खुसीसाथ सेवा गरिरहेको अध्यक्ष रेग्मीले बताए। 
 
मन्दिरमा माघेसंक्रान्ति, रामनवमी, कृष्णजन्माष्टमी, हरिबोधनी एकादशी आदि पर्वमा विशेष मेला लाग्छ। एकादशी र माघे संक्रान्तिमा भगवान्को भव्य रथयात्रा गरिन्छ। कात्तिक महिनामा गण्डकी स्नान मेला लाग्छ। यस वर्ष कार्तिक स्नानमा झन्डै एक लाख भक्तजन सहभागी भएको तथ्यांक छ।
 
यो क्षेत्रमा संस्कृत शिक्षाको पुनर्जागरण कार्यक्रम पनि सञ्चालन भएको छ। रुरु संस्कृत तथा साधारण माध्यमिक विद्यालयलाई मित्रराष्ट्र भारतको नेपालस्थित राजदूतावासको तीन करोड ९२ लाख रुपैयाँ आर्थिक सहयोगमा आधुनिकीकरण गर्ने काम भइरहेको छ। अत्याधुनिक भवन, पुस्तकालय र कम्प्युटरको सञ्जाल निर्माण भइरहेको छ।
 
१९६९ सालमा स्थापित उक्त विद्यालय मुलुककै पुरानो शैक्षिक धरोहर एवं गुल्मी जिल्लाको पहिलो विद्यालय मानिन्छ। औपचारिक आधुनिक शिक्षा लागू हुनुअघि यही विद्यालयमा गुरुकुल शिक्षाअन्तर्गत वेद, चण्डी आदि ग्रन्थ पढाइन्थ्यो। 
 
त्यसैले रुरु क्षेत्रको मुख्य प्राचीन शैक्षिक केन्द्र रोजेर भारतीय दूतावासले सहयोग गरेको हो। विद्यालयबाट उत्पादित विद्यार्थीका लागि शास्त्री तहसम्म पढाउन रुरु विद्यापीठ सञ्चालित छ।
 
रुरु क्षेत्र प्राचीनकालदेखि नै शिक्षा, संस्कृति र व्यापारको केन्द्र थियो। यहाँ देवदत्तमुनिले तपस्या गरी शिवतत्त्व अर्थात् अष्ठसिद्धि प्राप्त गरेका थिए। 
 
उनकी सुपुत्री रुरु कन्याले पनि यही तपस्या गरी भगवान् विष्णुको प्रत्यक्ष दर्शन गरेकी थिइन्। विष्णुको वरदानले नै रुरु क्षेत्रनामक श्रेष्ठ तीर्थस्थल स्थापना भएको हो। 
 
भक्तजनले यहाँको हृषिकेश मन्दिरको मूर्तिलाई भगवान् विष्णुले रुरु कन्यालाई प्रत्यक्ष दर्शन दिएको साक्षात स्वरूप मानेर पूजा गर्दै आएका छन्। रुरु क्षेत्रमा देवदत्त, और्ब, वशिष्ठलगायत धेरै ऋषिमुनीले आश्रम स्थापना गरी तपस्या गरेको शास्त्रीय प्रमाण छन्। 
 
और्बको नामबाट अर्गली नामकरण भएको हो। केही वर्षअघि स्वर्गारोहण नहुँदासम्म देवघाटमा बस्ने गलेश्वर बाबा पछिल्ला कहलिएका ऋषि हुन्। 
 
तत्कालीन राजा वीरेन्द्रले अनौपचारिक भ्रमणमा गलेश्वर बाबासँगको भेटमा देवघाटलाई पर्यटकीय गन्तव्य बनाउन पुल बनाइदिने प्रस्ताव राख्दा बाबाले यो पुण्य क्षेत्रलाई भीडभाडयुक्त नभई शान्त तपोस्थलको रूपमा रहन दिन आग्रह गरेका थिए। तथापि अहिले देवघाट भीडभाडयुक्त पर्यटकीय गन्तव्य बनेको छ।महेन्द्र थापा 

Wednesday, January 13, 2016

भन्नुहोस् नेताजी, के जवाफ फर्काऊँ?

भूपेन दाइ! हामीलाई नेताहरुले यसरी किन भुलेका? सहिद परिवारलाई किन यतिसम्म हेला गरेका?'' ती बहिनीको प्रश्नले मलाई नाजवाफ बनायो।
यस्तो प्रश्नको चितबुझदो जवाफ मसँग थिएन। यस्ता प्रश्नका जवाफ दिन सिपालु म नेता पनि त थिइनँ।
आफ्नै उबडखावड जिन्दगीका मोडमा हिँड्दाहिँड्दै थकाई लागेर बिसाइरहेको म धेरै समयपछि कुनै प्रशनले अल्मलिएँ।
अघिसम्म तछाडमछाड गर्दै शब्द ओकलिरहेका मेरा औंला निशब्द भए। केही समय बितिसक्दा पनि जवाफ नपाएपछि उनले फेरि सोधिन्,'तपाईं पनि त आन्दोलनमा सहभागी भएको मान्छे। हामीले तपाईंहरुसँग आशा नगरे कोसँग गर्ने त? किन चुपचाप बस्नुभएको?'
चुपचाप हुनु र नाजवाफ हुनुको अन्तर कसरी बुझाऊँ।
बेकारको अन्तरको कुरा बुझाउन थाले साध्य हुनेवाला पनि थिएन। उनको अपेक्षा एकातर्फ थियो मेरो मस्तिष्कको तरंग अर्कोतर्फ।
प्रश्नको भारले रन्थनिएँ।
उनी सहिद परिवारकी छोरी हुन्। मैले थाहा पाएसम्म उनले जन्मिँदै भोगिन् बाबा नुहुनुको पीडा। अरुजस्तो औंला समातिदिएर लखरलखर हिँड्न सिकाउने उमेरमा उनका बा भने देशका कुन कुनामा राइफलको टि्रगर समाउँदैथिए। र, समाउँदासमाउँदै ढले एक दिन कहिल्यै नब्युझनेगरी।
बाल्यकालमा सबैभन्दा पहिला मुखमा झुण्डिने शब्द हुन् –आमा! बाबा!
उनले पनि उच्चारण गरिन् बाबा भनेर। तर त्यो शब्दको जवाफ कहिल्यै सुन्न पाइनन्। सायद समयले आँखाभरि आँसु दिएर त्यो अबोध बालिकालाई जवाफ फर्कायो होला। मनले नमानीनमानी चित्त बुझाउन बाध्य भइहोलिन् उनी। आमाले पनि कहिल्यै तारा त कहिले कोशौं पारिको दृश्य देखाएर भनिहोलिन्, …नानी, तिम्रा बा तिम्लाई गुुडिया, धेरै कापी कलम ल्यादिन उः त्यो डाँडापारि जानु भाछ। तिमी नरोए छिटै आउनुहुन्छ। नरोऊ है।'
तर आज पढाइको सिलसिलामा आमाभन्दा नि टाढा छन् उनी। अब उनले बुझिसकेकी छन्  कि त्यो डाँडापारिको अपरिचित सहरबाट उनको कोही आफन्त आउनेवाला छैन। न त साथमा पीडाको भार साटिदिने आमा नै छिन्।
अब त उल्टै आमाका आँसु पनि पुछिदिनुपर्नेछ उनले। बूढेसकालमा सहारा दिने लौरो युवाकालमै गुमाएकी हुन् आमाले पनि। त्यसैले त होला मलाई दाइ सम्झेर यसरी अप्रत्याशितरुपमा सोधेकी।
यस्तै सोच्दै थिएँ।
उनको अर्को मेसेजले सोचाइको क्रम बिथोलिदियो।
'दादा हजुर पनि नबोल्ने हो अब?'
उनका प्रश्नले पिनजसरी क्रमैसँग भित्रभित्रै खोपिरहे। भन्न मन थियो।
'बोल्न मन त धेरै छ नि नानु, तिमीसँग। तर, बोल्नलाई उपयुक्त शब्द छैनन् मसँग। नेताजसरी झट्ट जवाफ फर्कादिएर झनै तिम्रो चित्त के दुखाउनु!'
यद्यपी अब नबोलेर सुख पाइनेवाला पनि थिएन। म आफैँभित्र पनि एक प्रकारको उकुसमुकुस भइसकेको थियो। त्यस्ौले यति मात्र भनेँ, 'यो प्रश्नको जवाफ त मसँग नि छैन नानु। जवाफ भेटेसि फर्काउँछु ल। टेक केयर!'
यति सुनेसि उनी धन्यवाद टक्रयाएर बिदा भइन्। तर, अब सोच्दैछु जवाफ फर्काउनु मेरो बाध्यता मात्र नभई जिम्मेवारी पनि हो। उसो त मैले पनि त सुनेका छु विगतमा ती श्ाब्द। कतै भनेको पनि होला।
'पार्टी भनेको बाआमा परिवार सबै हो। त्यसैले यो समय घरपरिवार छोडेर देशबारे सोचाँै। आज देश बनाऔँ। भोलि परिवार बनाऔंला।'
खोज्दैजाँदा कहीँकतै घोषणापत्र र पत्रकार सम्मेलनमा केही जवाफ अवश्य भेटिन्छन्।
जस्तैःसहिद परिवारलाई यो दिइनेछ। त्यो दिइनेछ।
काठमाडौँमा नेताजी सहिद परिवारका लागि विनियोजन गरिएको बजेटबारे सुनाउँदा गर्वानुभूति गर्छन्। राहत छुट्याइएको पैसाको कण्ठस्त हिसाब हुन्छन् उनीहरुसँग।
तर जबजब यस्ता घोषणापत्र र आश्वासनबारे सुन्छु, मेरो मनमा झनै प्रश्न उम्लिन थाल्छन्। सोध्न मन लाग्छ, नेताजी सुत्केरी अवस्थामा श्रीमान्को हातको न्यानो स्पर्शको अभाव खेप्नुपरेको ती दिदीको भावनाको मुल्य कति होला? बाआमा हामी भनी तपाईंले कलिलो उमेरमै आफनो पछाडि हिँडाएको त्यो कलिलो युवकको खाइलाग्दो बैंसको मूल्य कति होला? बूढेसकालको लाठी मानिने छोरा नै सहिद भएपछि एक्लै लखरलखर हिँड्नुपर्ने ती वृद्धवृद्धाको पीडाका कति मूल्य पाइएला? अनुहार नै देख्न नपाए नि बाबालाई सम्भि्करहने त्यो बहिनीको पीडादायी त्यो सम्झनाको मूल्य तपाईको हिसाबकिताबमा कति पर्ला?
ल, ठिक छ। तपाईंलाई मूल्य तोक्ने छुट भइहाल्यो। तपाईंले बाँड्ने राहतका प्याकेज लग्न ती टुहुरा आइपुग्लान् जिल्ला सदरमुकाम? साँच्ची, हिजो त्यो बाउ, आमा, छोरो, छोरी ....! ती  सबैलाई त तपाईंले घरबाटै खोसेर लग्नुभएको थियो नि।  आज त्यही घरको आँगन टेक्न तपाईंका खुट्टामा किन कामज्वरो आउँछ?
ल, छाड्नुस राहत अनि पैसाका कुरा।
तपाईंलाई सोध्न मन लाग्यो, तपाईंको मूल्य कति हो? सायद यसको जवाफ एकछिन सोच्नुभयो भने तपाईं आफैँ नाजवाफ हुनुहुनेछ। अझै नि नैतिकतामा बिर्को नलागेको भए बुझ्न ुहुनेछ कि मान्छेको मूल्य राहतका प्याकेजमा नभई भावनासँग जोडिएको हुन्छ।
लाग्दैन कोही यो राहत या अनुदानको आशा गरेर तपाईंपछाडि जीवन सुम्पेको थियो। तपाईंको एक आदेशमा नै प्राण आहुती दिन तयार भएको थियो।
हो, थिए होलान् सपना।
जस्तैः सबै बराबर हुने। अन्यायले देश छाड्ने। समानताको आभास हुने। तपाईंलाई याद हुनुपर्ने आफन्त गुमाएका ती मानिस रुँदा पनि हिजो आँसु लुकाई रुन्थे। सोचे होलान्, तपाईं हिँड्ने बाटो चिप्लो नभईदिओस् ता कि लड्न नपरोस्। कतिले तपाईंकै अनुहार हेरी छोरा गुमाउनुको पीडा भुले।
साँच्ची नेताज्यू, यी भावनाका अगाडि हिजोआज तपाईंले राजधानीबाट घोषणा गर्ने राहत प्याकेजको आवाज निकै धमिलोगरी ती गाउँबस्तीमा पुग्छ। तपाईंले घोषणापत्र या यो संविधानमा लेखेका शब्दले ती भावनात्मक प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्दैन। जवाफ त तपाईंले दिन आवश्यक छ।
त्यो पनि तपाईंको आफनै मुखबाट।
त्यही गाउँ, त्यही घरको आँगनमा उभिएर जहाँबाट सुनौलो भविश्यको आशा देखाई तपाईंले हिँडाल्नु भएको थियो, १५ हजार भन्दा बढी ती मानिसलाई। र, जवाफ दिनुभन्दा पहिला त धेरै सुन्न आवश्यक छ। १० औं वर्ष बगेका आँसुको आवाज। छोराको अभावमा बैसाखी टेक्दै हिँडेका ती वृद्ध बाआमाका पैतलाको आवाज। महसुस गर्न आवश्यक छ सहिद परिवार भई छटपटाउनुका पीडा। परिवारको अभावमा आफन्त खोजी हिँड्ने ती युवायुवतिका आवाज। बल्ल तपाईंले भेट्नु होला उपर्युक्त जवाफ।
र, साँच्ची त्यो बहिनीलाई चित्तबुझ्दो जवाफ दिन नसक्दा मभित्र पनि उकुुसमूकुस चलिरहेछ। म  पनि मुक्ति चाहन्छु यस्ता प्रश्नबाट।
ल, भन्नुस् नेताजी के जवाफ फर्काऊँ? 


Wednesday, January 6, 2016

यो मेरो टोपी हो...

धोती र टोपीको न तुलना हुनसक्छ न ती एकअर्काका विकल्प हुन्। एउटा कम्मरमुनि लगाइने, लाज ढाक्ने समेत प्रयोजनको बस्त्र हो, अर्को टाउको ढाक्ने। त्यसैले टोपी वा धोती भनेर तिनलाई 'विरोधी खेमाका' बनाउन जरूरी छैन।
बिक्रम राई
म गोपाल योञ्जनको गीत गुन्गुनाउँदै लेखिरहेको छु, 'मेरो टोपी कैलाशको शिर जस्तो, हिमालको भीर जस्तो...'
१ जनवरीलाई 'नेपाली टोपी दिवस' का रूपमा चलाउने चलन हलुकैसित चल्यो। परारसाल फेसबूकमा कसैले आह्वान गरेको देखें, हिउँदको दिन, यसै पनि कुनै न कुनै टोपी लगाइन्छ नै, मैले भादगाउँले टोपी ढल्काइदिएँ। पोहोर दोस्रो वर्ष, दर्जीले सिलाएको टोपी लगाएँ।
दर्जीले सिलाएको टोपी हिजोआज कम प्रचलनमा छ तर त्यो टोपी र त्यसका शिल्पीहरू बिर्सन सकिन्न। टाउको नापेर 'उब्रेको कपडा' बाट सिलाइदिने दर्जीहरूकै कारण टोपी नेपाली पहिरनको अङ्ग बनिरहन सकेको हो। यस्तो टोपी पोहोरै लगाइसकेकाले यो वर्ष चाहिं तेह्रथुमे सुब्बाकहाँ बुनिएको ढाका टोपीको पालो आयो।
केही दिनअघि एउटा नक्कल पुतली (म्यानिकिन) का टाउकामा ढाका टोपी देखें, आकर्षक लाग्यो। फोटो खिचें र 'नेपाली टोपी दिवस, १ जनवरीको पूर्वसन्ध्यामा' भनेर ट्वीट गरें, “पुतली नानीलाई त सुहाउने नेपाली टोपीले कसलाई नसुहाउला र?”
अपेक्षित नै थियो, प्रतिक्रिया आइहाल्यो, बोस्टन, अमेरिकामा बस्ने फोटोग्राफर विमल नेपालले लेखे, “टोपी नेपाली हो? अनि धोती नि?” उनको आशय थियो, दुवै पहिरन मौलिक नेपाली होइनन्, टोपीलाई मात्र किन यत्रो महत्व दिएको? 'आफ्नो भाषा आफ्नो भेष' को आत्मरतिबाट निस्किनुपर्छ आदि!
कसैले किन मनाउने टोपी दिवस? भन्दा मेरो चाहिं सबभन्दा सजिलो उत्तर हो, नमनाउने किन?
थप प्रश्न पनि आइहाल्दो रहेछ, धोती दिवस चाहिं किन नमनाउने?
जवाफ अनेक हुनसक्छन्। प्रश्नकर्तालाई नै अनुरोध गर्न सकिन्छ, मलाई टोपी मनपर्छ त्यसैले टोपी दिवस मनाउनतिर लागें। तपाईंलाई धोती मनपर्ने रहेछ, धोती दिवसको थालनी गर्नोस्! नभए, आफ्नो कुनै प्रतिबद्धता नभएको विषयमा प्रश्न मात्र गर्नुको के अर्थ? मधेशको सम्मानमा केही साथीहरूले केहीअघि काठमाडौंमा धोती जुलूस गर्दा त्यसलाई विवादमा तान्न कसैले खोजेन भने '१ जनवरीमा सबैले टोपी लगाऊँ' भन्ने आह्वानको विरोध किन गर्नुपर्‍यो?
ठूला प्रश्न जति पनि गर्न सकिन्छ, सानै भए पनि जवाफ फेला पार्ने पो पार्ने! माघेसंक्रान्ति आउँदैछ, प्रश्न गर्न सकिन्छ, अफ्रिकाबाट आएको तरुलको पर्व हुने, पेरुबाट आएको आलुको पर्व किन नहुने?
गोपेन राई
वास्तवमा धोती र टोपी जोडेर बनाइएको प्रश्नको कुनै अर्थ छैन। यी दुईको तुलनै हुँदैन। एउटा कम्मरमुनि लगाइने, लाज ढाक्ने समेत प्रयोजनको बस्त्र हो, टोपी चाहिं टाउको ढाक्ने। ती एकअर्काका विकल्प हुनै सक्दैनन्, त्यसैले टोपी वा धोती भनेर तिनलाई 'विरोधी खेमाका' बनाउन जरूरी छैन। 'धोती न टोपी हुनु' भन्ने उखानको पनि संकेत हो यी दुवै कुरा एकसाथ लगाइन्छन्। धोती लगाउने मेरा हजुरबाहरूले 'तयार नपरी' अर्थात् धोती नलगाई भात खाएको मैले कहिल्यै देखिनँ। तर उहाँहरूको शिरमा टोपी कहिल्यै छुट्दैनथ्यो, खाना खाँदा बाहेक। मधेशमा पनि धोती लगाउँछन् र आवश्यकता र चाहना अनुसार पाग वा पगडी वा टोपी जस्ता विभिन्न शिरपोसले टाउको न्यानो राख्छन् वा सजाउँछन्। धोती लगाउने भारतका अन्य भागमा पनि ठाउँ र चलन अनुसारका शिरपोस छन्।
कहाँबाट आयो टोपी?-- केदार शर्मा