भूपेन दाइ! हामीलाई नेताहरुले यसरी किन भुलेका? सहिद परिवारलाई किन यतिसम्म हेला गरेका?'' ती बहिनीको प्रश्नले मलाई नाजवाफ बनायो।
यस्तो प्रश्नको चितबुझदो जवाफ मसँग थिएन। यस्ता प्रश्नका जवाफ दिन सिपालु म नेता पनि त थिइनँ।
आफ्नै उबडखावड जिन्दगीका मोडमा हिँड्दाहिँड्दै थकाई लागेर बिसाइरहेको म धेरै समयपछि कुनै प्रशनले अल्मलिएँ।
अघिसम्म तछाडमछाड गर्दै शब्द ओकलिरहेका मेरा औंला निशब्द भए। केही समय बितिसक्दा पनि जवाफ नपाएपछि उनले फेरि सोधिन्,'तपाईं पनि त आन्दोलनमा सहभागी भएको मान्छे। हामीले तपाईंहरुसँग आशा नगरे कोसँग गर्ने त? किन चुपचाप बस्नुभएको?'
चुपचाप हुनु र नाजवाफ हुनुको अन्तर कसरी बुझाऊँ।
बेकारको अन्तरको कुरा बुझाउन थाले साध्य हुनेवाला पनि थिएन। उनको अपेक्षा एकातर्फ थियो मेरो मस्तिष्कको तरंग अर्कोतर्फ।
प्रश्नको भारले रन्थनिएँ।
उनी सहिद परिवारकी छोरी हुन्। मैले थाहा पाएसम्म उनले जन्मिँदै भोगिन् बाबा नुहुनुको पीडा। अरुजस्तो औंला समातिदिएर लखरलखर हिँड्न सिकाउने उमेरमा उनका बा भने देशका कुन कुनामा राइफलको टि्रगर समाउँदैथिए। र, समाउँदासमाउँदै ढले एक दिन कहिल्यै नब्युझनेगरी।
बाल्यकालमा सबैभन्दा पहिला मुखमा झुण्डिने शब्द हुन् –आमा! बाबा!
उनले पनि उच्चारण गरिन् बाबा भनेर। तर त्यो शब्दको जवाफ कहिल्यै सुन्न पाइनन्। सायद समयले आँखाभरि आँसु दिएर त्यो अबोध बालिकालाई जवाफ फर्कायो होला। मनले नमानीनमानी चित्त बुझाउन बाध्य भइहोलिन् उनी। आमाले पनि कहिल्यै तारा त कहिले कोशौं पारिको दृश्य देखाएर भनिहोलिन्, …नानी, तिम्रा बा तिम्लाई गुुडिया, धेरै कापी कलम ल्यादिन उः त्यो डाँडापारि जानु भाछ। तिमी नरोए छिटै आउनुहुन्छ। नरोऊ है।'
तर आज पढाइको सिलसिलामा आमाभन्दा नि टाढा छन् उनी। अब उनले बुझिसकेकी छन् कि त्यो डाँडापारिको अपरिचित सहरबाट उनको कोही आफन्त आउनेवाला छैन। न त साथमा पीडाको भार साटिदिने आमा नै छिन्।
अब त उल्टै आमाका आँसु पनि पुछिदिनुपर्नेछ उनले। बूढेसकालमा सहारा दिने लौरो युवाकालमै गुमाएकी हुन् आमाले पनि। त्यसैले त होला मलाई दाइ सम्झेर यसरी अप्रत्याशितरुपमा सोधेकी।
यस्तै सोच्दै थिएँ।
उनको अर्को मेसेजले सोचाइको क्रम बिथोलिदियो।
'दादा हजुर पनि नबोल्ने हो अब?'
उनका प्रश्नले पिनजसरी क्रमैसँग भित्रभित्रै खोपिरहे। भन्न मन थियो।
'बोल्न मन त धेरै छ नि नानु, तिमीसँग। तर, बोल्नलाई उपयुक्त शब्द छैनन् मसँग। नेताजसरी झट्ट जवाफ फर्कादिएर झनै तिम्रो चित्त के दुखाउनु!'
यद्यपी अब नबोलेर सुख पाइनेवाला पनि थिएन। म आफैँभित्र पनि एक प्रकारको उकुसमुकुस भइसकेको थियो। त्यस्ौले यति मात्र भनेँ, 'यो प्रश्नको जवाफ त मसँग नि छैन नानु। जवाफ भेटेसि फर्काउँछु ल। टेक केयर!'
यति सुनेसि उनी धन्यवाद टक्रयाएर बिदा भइन्। तर, अब सोच्दैछु जवाफ फर्काउनु मेरो बाध्यता मात्र नभई जिम्मेवारी पनि हो। उसो त मैले पनि त सुनेका छु विगतमा ती श्ाब्द। कतै भनेको पनि होला।
'पार्टी भनेको बाआमा परिवार सबै हो। त्यसैले यो समय घरपरिवार छोडेर देशबारे सोचाँै। आज देश बनाऔँ। भोलि परिवार बनाऔंला।'
खोज्दैजाँदा कहीँकतै घोषणापत्र र पत्रकार सम्मेलनमा केही जवाफ अवश्य भेटिन्छन्।
जस्तैःसहिद परिवारलाई यो दिइनेछ। त्यो दिइनेछ।
काठमाडौँमा नेताजी सहिद परिवारका लागि विनियोजन गरिएको बजेटबारे सुनाउँदा गर्वानुभूति गर्छन्। राहत छुट्याइएको पैसाको कण्ठस्त हिसाब हुन्छन् उनीहरुसँग।
तर जबजब यस्ता घोषणापत्र र आश्वासनबारे सुन्छु, मेरो मनमा झनै प्रश्न उम्लिन थाल्छन्। सोध्न मन लाग्छ, नेताजी सुत्केरी अवस्थामा श्रीमान्को हातको न्यानो स्पर्शको अभाव खेप्नुपरेको ती दिदीको भावनाको मुल्य कति होला? बाआमा हामी भनी तपाईंले कलिलो उमेरमै आफनो पछाडि हिँडाएको त्यो कलिलो युवकको खाइलाग्दो बैंसको मूल्य कति होला? बूढेसकालको लाठी मानिने छोरा नै सहिद भएपछि एक्लै लखरलखर हिँड्नुपर्ने ती वृद्धवृद्धाको पीडाका कति मूल्य पाइएला? अनुहार नै देख्न नपाए नि बाबालाई सम्भि्करहने त्यो बहिनीको पीडादायी त्यो सम्झनाको मूल्य तपाईको हिसाबकिताबमा कति पर्ला?
ल, ठिक छ। तपाईंलाई मूल्य तोक्ने छुट भइहाल्यो। तपाईंले बाँड्ने राहतका प्याकेज लग्न ती टुहुरा आइपुग्लान् जिल्ला सदरमुकाम? साँच्ची, हिजो त्यो बाउ, आमा, छोरो, छोरी ....! ती सबैलाई त तपाईंले घरबाटै खोसेर लग्नुभएको थियो नि। आज त्यही घरको आँगन टेक्न तपाईंका खुट्टामा किन कामज्वरो आउँछ?
ल, छाड्नुस राहत अनि पैसाका कुरा।
तपाईंलाई सोध्न मन लाग्यो, तपाईंको मूल्य कति हो? सायद यसको जवाफ एकछिन सोच्नुभयो भने तपाईं आफैँ नाजवाफ हुनुहुनेछ। अझै नि नैतिकतामा बिर्को नलागेको भए बुझ्न ुहुनेछ कि मान्छेको मूल्य राहतका प्याकेजमा नभई भावनासँग जोडिएको हुन्छ।
लाग्दैन कोही यो राहत या अनुदानको आशा गरेर तपाईंपछाडि जीवन सुम्पेको थियो। तपाईंको एक आदेशमा नै प्राण आहुती दिन तयार भएको थियो।
हो, थिए होलान् सपना।
जस्तैः सबै बराबर हुने। अन्यायले देश छाड्ने। समानताको आभास हुने। तपाईंलाई याद हुनुपर्ने आफन्त गुमाएका ती मानिस रुँदा पनि हिजो आँसु लुकाई रुन्थे। सोचे होलान्, तपाईं हिँड्ने बाटो चिप्लो नभईदिओस् ता कि लड्न नपरोस्। कतिले तपाईंकै अनुहार हेरी छोरा गुमाउनुको पीडा भुले।
साँच्ची नेताज्यू, यी भावनाका अगाडि हिजोआज तपाईंले राजधानीबाट घोषणा गर्ने राहत प्याकेजको आवाज निकै धमिलोगरी ती गाउँबस्तीमा पुग्छ। तपाईंले घोषणापत्र या यो संविधानमा लेखेका शब्दले ती भावनात्मक प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्दैन। जवाफ त तपाईंले दिन आवश्यक छ।
त्यो पनि तपाईंको आफनै मुखबाट।
त्यही गाउँ, त्यही घरको आँगनमा उभिएर जहाँबाट सुनौलो भविश्यको आशा देखाई तपाईंले हिँडाल्नु भएको थियो, १५ हजार भन्दा बढी ती मानिसलाई। र, जवाफ दिनुभन्दा पहिला त धेरै सुन्न आवश्यक छ। १० औं वर्ष बगेका आँसुको आवाज। छोराको अभावमा बैसाखी टेक्दै हिँडेका ती वृद्ध बाआमाका पैतलाको आवाज। महसुस गर्न आवश्यक छ सहिद परिवार भई छटपटाउनुका पीडा। परिवारको अभावमा आफन्त खोजी हिँड्ने ती युवायुवतिका आवाज। बल्ल तपाईंले भेट्नु होला उपर्युक्त जवाफ।
र, साँच्ची त्यो बहिनीलाई चित्तबुझ्दो जवाफ दिन नसक्दा मभित्र पनि उकुुसमूकुस चलिरहेछ। म पनि मुक्ति चाहन्छु यस्ता प्रश्नबाट।
ल, भन्नुस् नेताजी के जवाफ फर्काऊँ?