Wednesday, January 20, 2016

सेल्फी पुराण !

सेल्फी पुराण ! 
श्री गणेशाय: नम ! 


आफैले आफ्नो हत्या गर्नुलाई आत्माहत्या भने जस्तै, आफैले आफ्नो फोटो खिच्नुलाई सेल्फी भनिन्छ । अथवा भनिदो रहेछ थाहा पाईयो । त्यसैले होला कता कता यो पनि आत्माहत्या जस्तै भयानक र बीभत्स देखिन्छ । सेल्फी हान्दा चोरी औलो र माझी औलो अग्रेजी बर्णमालाको २२औं अक्षर V जस्तो बनाउएर थुतुनो बिगार्नु अनिवार्य सर्त हो । जमानत जफत भएका विपक्षीका हिसिला,आङकाजी र सरिता गिरी हुन कि भुकम्पसंग हारेर घाईते भएको सरकारका सुशील बामदेब र रामशरणहरु हुन ! चाहे जो होस र जतिसुकै ठूलो हरीलठ्ठक हरूवा होस सेल्फी हान्दा बिजयको प्रतीक victory को "V"को साथमा थुतुनो च्वाँचेको जस्तो चुच्चो बनाउनै पर्छ । नत्र सेल्फी - गयल !आत्माहत्या असफल !! 

पहिला पहिला सेक्स्पियरका कथा जस्तै सेल्फी दुई प्रकारका मात्रै हुन्थे ! संयोगान्तक र वियोगान्तक !! भर्खरै लप पारेकी छिमेकीकी छोरीसंग जोडी बाधेर गाला टासी जोर थुतुनो चुच्चो परेरे "V" मा पोज दिनु संयोगान्तक सेल्फीको उत्तम नमुना भई गयो ! परलोक गमन भएका बाउको लासमाथी बियोगमा छाती पिटिपिटी रोईरहेकी आमालाई पृष्ठभुमिमा राखेर छोराले खिचेको सेल्फी वियोगान्तक सेल्फीको सर्बोच्च कोटीमा पर्छ । तर महाभुकम्प २०७२ पछी सेल्फिको संसारमा उद्दार र राहत भन्ने थप २ प्रकृतिका सेल्फी थपिएर ४ जातको सेल्फीले फेसबुकका भित्ता झन भयावह र बीभत्स बनाएको छ ।

च्याट्ट संग बिहामा सिलाएका टाईसुट धरी भए आफ्नो नभए मागेको कालो चस्मा जखी सकेपछि उद्दारमा प्रयोग भैरहेको बेल्चा एकैछिनलाई मागेर हातमा देखिने गरि लिएपछि भग्नावशेष माथी उपयुक्त प्रकाशको संयोजनमा लिएको सेल्फिलाई उद्दार सेल्फी भनिन्छ भने, एकाबिहानै उठि डाबरलाल दन्तमन्जनले दुईपटक दांत माझेर नरिबल छाप तेल लगाई चिटिक्क कपाल कोरि श्रीमतीजिले टक्र्याएको ब्रेकफास्ट ज्युनार गरिसकेपछि लुटेर, धुतेर, खोसेर, मागेर जे जसरी हात लागेको होस ! हात लागि भएको राहत एक समारोह बिच मोती झै टल्केको दांत ङीच्च देखाउदै हासेर पीडितलाई राहतको बोरा दिदै गर्दा लिएको सेल्फिलाइ राहत सेल्फी भनिन्छ । 


आत्माहत्या गर्ने कर्ताले आफ्नो शरीरको हत्या गर्छ र संसारबाट बिदा लिन्छ । बिपत्तिका बेला चारो हालेर सेल्फी हान्ने सम्बन्धि दलको नेताले आफ्ना संबेद्नाहरुको हत्या गर्छन र आफ्नो नकचरो अनुहार संसारलाई चिनाउछ्न । फलानो दलको तन्नेरी संघ र ढिस्कनो दलको तरुनी संघका नाममा उद्दार र राहतको अभिनय गर्दै राजनैनिक फाईदाका लागि सेल्फी हान्ने राजनैतिक दलका सेल्फिप्रेमी हनुमानहरु हुन अथवा लिम्बुवान त्रिपाल र मधेसी चामल अनि आर्यखस चाउचाउ र जयमुसी चिउरा बाडेर खिचिएका सेल्फीहरु हुन । ती सेल्फि पुराणका सबभन्दा घटिया र संवेदनाहिन सेल्फीहरु हुन । भुकम्पलाई स्वर्णिम अबसर ठान्दै आफ्ना आफ्ना नारा, एजेन्डा र धर्मको पहाड बोकेर प्रचार गर्ने यी सेल्फिदेबहरुको भित्री नियत पीडितलाई राहत उपलब्ध गराउनु हैन आफुलाई दान शिरोमणि बलीराज प्रमाणित गर्दै सकेको फाईदा उठाउनु हो । त्यसैले सेल्फी पुराणका यी अनेकौं सेल्फि देबहरुको नियत बुझौं र भक्तहरूले आजै आफ्ना आफ्ना सेल्फिदेबलाई तर्पण दिएर बिषर्जन गरौ ! 
इति इस्कन्दे पुराणखण्डे माग माहात्मे कुमार अगस्ते सेल्फी पुराण इति !! -सन्तोष चिमरिया 
हरी शरणम .........