नेपालमा हिन्दुका चारधाम अर्थात् चार मुख्य तीर्थस्थलमध्येको रुरु क्षेत्र (रिडी) को पौराणिक महिमा अपरम्पार छ। यस क्षेत्रको संरक्षण र प्रवर्द्धन गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ सरकारले हालै हुलाक टिकट प्रकाशन गरेको छ।
यहाँको मुख्य मन्दिर ऋषिकेशको चित्रांकित पाँच रुपैयाँको टिकटमा सञ्चारमन्त्री डा.मीनेन्द्र रिजालले टाँचा लगाएका थिए। यसबाट रुरुवासी प्रसन्न छन्।
रुरु क्षेत्रमा धर्म संस्कृति र प्रकृतिको आनन्द प्राप्त गर्न आउने पर्यटकको संख्या पनि उत्साहजनक ढंगले बढेको तथ्यांक रुरु क्षेत्र व्यवस्थापन समितिसँग छ।
पहिले यो क्षेत्र धर्म, संस्कृति, शिक्षा र व्यापारको केन्द्र थियो। पूर्वपश्चिम राजमार्ग, तानसेन-रिडी-तम्घास एवं ग्रामीण क्षेत्रमा सडकको सञ्जाल विस्तारपछि रिडीको व्यापार तानसेन हुँदै बुटवल झरेको हो।
पहिले रोल्पा, रुकुम, प्यूठान, बाग्लुङ पश्चिम नेपालका सबै क्षेत्रका मानिसको मुख्य व्यापार केन्द्र्र रिडी थियो। त्यसैको निरन्तरता अहिले पनि माघेसंक्रान्ति र एकादशी मेलामा रोल्पा रुकुमका घरबुना राडी, पाखी, कम्बल, नाङ्लो, डोकोको निकै व्यापार हुन्छ।
अब रिडी फेरि पर्यटकीय नगरीको रूपमा चम्किन थालेको छ। यहाँका पुरातात्त्विक मठमन्दिर, पाटीपौवा, गुफाकन्दरा, पुराना घर र विशेष ढुंगा (छापा) बिछ्याइएका सडक, ऋषि आश्रम, ऐतिहासिक दरबार, प्राचीन संस्कृत पाठशाला, नेपालको ताजमहल भनिने रानीमहल आदि सम्पदा प्रति पर्यटक आकर्षक भएका छन्।
सरकारले १४ करोड रुपैयाँ लागतमा एसियाकै नमुना हुने गरी गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्ला जोड्ने तीनमुखे आकर्षक झोलुंगेपुल निर्माण थालेको छ। ३० करोड रुपैयाँ लागतमा स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल पनि निर्माण सुरु भएको छ।
आर्थिक गतिविधि बढेकाले पुरानो राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनस्र्थापना, बजारको सडक पक्की र कालीगण्डकी कोरिडोरलाई रिडीको बगर हुँदै लैजानु मागको स्थानीयको छ।
रुरु क्षेत्रमा आयोजना गरिने रामनवमी मेलामा यस वर्ष विगतको वर्षको तुलनामा भक्तजन आगमन बढेको छ। रुरु क्षेत्रलाई भक्तजनले भगवान् विष्णुको निवासस्थल मान्ने गर्छन्।
रुरु क्षेत्र व्यवस्थापन समितिको अभिलेखअनुसार कालीगण्डकी किनारका विभिन्न वेणी र घाटहरूमा गरी यसै वर्षको मकर (माघी) स्नान मेलामा १० लाखभन्दा बढी भक्तजनले गंगास्नान गरेका थिए।
त्यसअघि कार्तिक स्नानमा पनि लाखौं भक्तजन सहभागी भएका थिए। रुरु क्षेत्र, मुक्तिनाथ, देवघाट, त्रिवेणीलगायतका विभिन्न स्थानमा भक्तजनहरूले श्रद्धापूर्वक आध्यात्मिक उद्देश्यले गंगास्नान गर्ने गर्छ।
कालीगण्डकी किनारका रुरु क्षेत्र, मुक्तिनाथ र देवघाट तीर्थस्थलका रूपमा पौराणिक कालदेखि नै प्रसिद्ध हुन्। भगवान् विष्णुको प्रिय क्रीडास्थलको रूपमा यी ठाउँहरूको वराह र स्कन्दपुराणको हिमवत् खण्डमा चर्चा छ।
श्रीमद्भागवद् र महाभारतमा समेत रुरु क्षेत्रका हृषिकेशव भगवान्को चर्चा छ। नेपालमा हिन्दुका चार मुख्य तीर्थस्थल अर्थात् चारधाममध्येका दुईधाम मुक्तिनाथ र रुरु क्षेत्र हुन्। अरू दुई धाम काठमाडौंको पशुपतिनाथ र सुनसरीको वराह क्षेत्र हुन्।
कालीगण्डकी नदी आफैं पनि भगवान् विष्णुको गलाबाट पसिनाको रूपमा उत्पत्ति भएको मान्यता छ। कालीगण्डकीलाई कलियुगमा श्रेष्ठ तीर्थस्थलको रूपमा पुराणमा वर्णन गरिएको छ।
कालीगण्डकीको उत्पत्तिस्थल मुक्तिनाथदेखि रुरु क्षेत्र, देवघाट र त्रिवेणीसम्म धेरै वेणी र घाटहरूमा भक्तजनहरूले आफ्नो सुविधाअनुसार स्नान र पूजा गरी भगवान् विष्णुप्रति आस्था र श्रद्धा प्रकट गर्ने गर्छन्।
कालीगण्डकी किनारका रुरु क्षेत्र, मुक्तिनाथ र देवघाट तीर्थस्थलका रूपमा पौराणिक कालदेखि नै प्रसिद्ध हुन्। भगवान् विष्णुको प्रिय क्रीडास्थलको रूपमा यी ठाउँहरूको वराह र स्कन्दपुराणको हिमवत् खण्डमा चर्चा छ। श्रीमद्भागवद् र महाभारतमा समेत रुरु क्षेत्रका हृषिकेशव भगवान्को चर्चा छ।
मुक्तिनाथ विष्णु र गण्डकीको उत्पत्तिस्थल, रुरु क्षेत्र उनको निवासस्थल, देवघाट देवताहरूले नुहाउने घाट र त्रिवेणी विष्णुले गजेन्द्रनामक हात्तीलाई गोहीको कब्जाबाट मुक्त गराएका पवित्र स्थलहरू हुन्।
गजेन्द्रलाई मोक्ष दिलाउने क्रममा सुदर्शन चक्रले ढुंगा घोटिएर शालिग्राम शिला अर्थात् चक्रशिला निर्माण भएको मान्यता छ। कालीगण्डकीमा पाइने चक्रशिला संसारमा अन्यत्र कतै नपाइने भएकाले यसलाई विष्णुको अवतारको रूपमा भक्तजनले श्रद्धा गर्ने गर्छन्। कालीगण्डकीलाई चक्र नदी पनि भनिन्छ।
रुरु क्षेत्रको पौराणिक महत्त्व यहाँको हृषिकेशव मन्दिरमा प्रचलित पुजारी परम्पराबाट पनि स्वत: सिद्ध हुन्छ। यो मन्दिरमा झन्डै पाँच सय वर्ष अघिदेखि यसै क्षेत्रअन्तर्गतको अर्गलीका भट्टराई परिवारले मात्र सनातन ढंगले पूजा गरिरहेका छन्। यद्यपि अहिले यो परम्परा संकटमा पर्न थालेको छ।
तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनले रुरु क्षेत्रको अर्गलीका भट्टराईलाई पुजारीको काम गर्न लालमोहर प्रदान गरेका थिए। अहिलेसम्म यही परिवारले नै यो काम गरिरहेको छ।
बसाइँसराइँ, संस्कृत शिक्षाको पढाइ नहुनु एवं शास्त्रबमोजिमको पवित्र आहारविहार भएका योग्य ब्राह्मणको कमी हुँदै जानु आदि कारणले पाँच सय वर्षदेखि निरन्तर चलिरहेको परम्परा संकटमा पर्न थालेको हो।
हृषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीका अनुसार अर्गलीमा अहिले जम्मा १२ घर भट्टराई छन्। दुईचारजना बूढा भट्टराईहरू रहुञ्जेल अझै केही वर्षसम्म यो परम्परा चले पनि युवा पिँढीमा शिक्षा एवं आहारविहारको परीक्षामा उत्तीर्ण हुने व्यक्तिहरू पाइन छाडेका छन्।
अहिलेसम्म अर्गलीमै बसोबास गरी हृषिकेश गुठीको जग्गा उपभोग गर्ने भट्टराई परिवारबाहेकका व्यक्तिहरूलाई पुजारी नियुक्त गर्ने गरिएको छैन। यो परिवारमा योग्यता पुगेका व्यक्तिहरू पाइन छाडेपछि परम्परालाई निरन्तरता दिन समस्या पर्ने अध्यक्ष रेग्मीको भनाइ छ। अहिले जीवित पुराना बूढाहरू शास्त्रीय ज्ञानको अतिरिक्त पवित्र आहारविहारको परीक्षामा खरो उत्रेको अनुभवसमेत उनले बताए।
यो मन्दिरको पुनस्र्थापना मणिमुकुन्दले नै गराएका थिए। विक्रम सम्वत् १५७५ देखि १६१० सम्म शासन गरेका मणिमुकुन्दले रुरु क्षेत्रको कालीगण्डकीमा स्नानको क्रममा नदीभित्र हृषिकेश (भगवान् विष्णु) को सपरिकर (जयविजय पार्षद र शंखचक्र आयुधसहित) चतुर्वाहु कृष्ण वर्णको तीन फुट नौ इन्च अग्लो मनोहर मूर्ति भेटाए।
यसलाई राजधानी भैरवस्थान लैजान चाहेकोमा सबै प्रयास विफल भएपछि नदीकिनारको पखेरोमा स्थापित गरिएको एेतिहासिक प्रमाण छ। स्वयं उत्पत्ति भएको शालिग्रामको यस्तो मनोहर मूर्ति संसारमा दुर्लभ भएको मानिन्छ।
मणिमुकुन्दले नियमित पूजा र अक्षताको लागि अर्गलीको खेतको गुठी र भट्टराई परिवारलाई पुजारी नियुक्त गरी लालमोहर गरिदिएका थिए। खेतमा सिँचाइको लागि जोर्ते कुरुङ खोलाबाट कुलो निर्माण गराएका थिए। जो राजकुलो जेठीको नाममा अहिले पनि चल्छ।
गुठी जग्गाको चौकिल्लाको लालमोहर १८९८ सालमा तत्कालीन राजा राजेन्द्रविक्रम शाहले गरिदिएका थिए। गुठीको खेतमा रोपाइँ गर्दा बाजागाजा, गीत र नृत्यसहित ठूलो उत्सवको रूपमा गरिन्छ।
यहाँ पुजारी बन्न शास्त्रीय ज्ञानको अतिरिक्त सात्विक आहार, सदाचार अर्थात् एकनिष्ठ यौनसम्बन्ध र सजातीय मागी विवाहबाट जन्मेको व्यक्ति हुनुपर्छ। यसको परीक्षण एवं पालो बाँध्ने काम भट्टराई परिवारले नै गर्दछन्।
पारिश्रमिक भगवान्को मूर्तिमा भेटी स्वरूप भक्तले चढाएको रकम पाउँछन्। अड्का (अक्षयकोष) मा दान गरेको धनमाल मात्र मन्दिरको हुने परम्परा छ। अहिलेसम्म भट्टराई परिवारले खुसीसाथ सेवा गरिरहेको अध्यक्ष रेग्मीले बताए।
मन्दिरमा माघेसंक्रान्ति, रामनवमी, कृष्णजन्माष्टमी, हरिबोधनी एकादशी आदि पर्वमा विशेष मेला लाग्छ। एकादशी र माघे संक्रान्तिमा भगवान्को भव्य रथयात्रा गरिन्छ। कात्तिक महिनामा गण्डकी स्नान मेला लाग्छ। यस वर्ष कार्तिक स्नानमा झन्डै एक लाख भक्तजन सहभागी भएको तथ्यांक छ।
यो क्षेत्रमा संस्कृत शिक्षाको पुनर्जागरण कार्यक्रम पनि सञ्चालन भएको छ। रुरु संस्कृत तथा साधारण माध्यमिक विद्यालयलाई मित्रराष्ट्र भारतको नेपालस्थित राजदूतावासको तीन करोड ९२ लाख रुपैयाँ आर्थिक सहयोगमा आधुनिकीकरण गर्ने काम भइरहेको छ। अत्याधुनिक भवन, पुस्तकालय र कम्प्युटरको सञ्जाल निर्माण भइरहेको छ।
१९६९ सालमा स्थापित उक्त विद्यालय मुलुककै पुरानो शैक्षिक धरोहर एवं गुल्मी जिल्लाको पहिलो विद्यालय मानिन्छ। औपचारिक आधुनिक शिक्षा लागू हुनुअघि यही विद्यालयमा गुरुकुल शिक्षाअन्तर्गत वेद, चण्डी आदि ग्रन्थ पढाइन्थ्यो।
त्यसैले रुरु क्षेत्रको मुख्य प्राचीन शैक्षिक केन्द्र रोजेर भारतीय दूतावासले सहयोग गरेको हो। विद्यालयबाट उत्पादित विद्यार्थीका लागि शास्त्री तहसम्म पढाउन रुरु विद्यापीठ सञ्चालित छ।
रुरु क्षेत्र प्राचीनकालदेखि नै शिक्षा, संस्कृति र व्यापारको केन्द्र थियो। यहाँ देवदत्तमुनिले तपस्या गरी शिवतत्त्व अर्थात् अष्ठसिद्धि प्राप्त गरेका थिए।
उनकी सुपुत्री रुरु कन्याले पनि यही तपस्या गरी भगवान् विष्णुको प्रत्यक्ष दर्शन गरेकी थिइन्। विष्णुको वरदानले नै रुरु क्षेत्रनामक श्रेष्ठ तीर्थस्थल स्थापना भएको हो।
भक्तजनले यहाँको हृषिकेश मन्दिरको मूर्तिलाई भगवान् विष्णुले रुरु कन्यालाई प्रत्यक्ष दर्शन दिएको साक्षात स्वरूप मानेर पूजा गर्दै आएका छन्। रुरु क्षेत्रमा देवदत्त, और्ब, वशिष्ठलगायत धेरै ऋषिमुनीले आश्रम स्थापना गरी तपस्या गरेको शास्त्रीय प्रमाण छन्।
और्बको नामबाट अर्गली नामकरण भएको हो। केही वर्षअघि स्वर्गारोहण नहुँदासम्म देवघाटमा बस्ने गलेश्वर बाबा पछिल्ला कहलिएका ऋषि हुन्।
तत्कालीन राजा वीरेन्द्रले अनौपचारिक भ्रमणमा गलेश्वर बाबासँगको भेटमा देवघाटलाई पर्यटकीय गन्तव्य बनाउन पुल बनाइदिने प्रस्ताव राख्दा बाबाले यो पुण्य क्षेत्रलाई भीडभाडयुक्त नभई शान्त तपोस्थलको रूपमा रहन दिन आग्रह गरेका थिए। तथापि अहिले देवघाट भीडभाडयुक्त पर्यटकीय गन्तव्य बनेको छ।महेन्द्र थापा