Tuesday, November 18, 2008
क्रान्तिकारी हुँ भन्ने ?
मुलुकमा गणतन्त्र स्थापना भएपछि मलुकले गति लिन्छ होला भन्ने आशा गरिएको थियो। तर, त्यो आशा समयक्रमसँगै निराशामा परिणत भएको छ। जनता हिजोको भन्दा बढी कष्टकर जीवन जीउन बाध्य भएका छन्। महंगी, अभाव र कमजोर शान्तिसुरक्षाले मुलुकलाई आक्रान्त पारेको छ। तर, मुलुक हाँक्ने राजनीतिक दलहरू सत्ता बाँडफाँडको जोडघटाउमा मात्रै रमाइरहेका छन्। कहालीलाग्दो महंगीका कारण सर्वसाधारण जनताको जीवन कष्टकर बन्न पुगेको छ। खाद्यान्नदेखि लिएर जनताले उपभोग गर्ने सम्पूर्ण सामानहरूको मूल्य आकासिएको छ। दिनप्रतिदिन खाद्यसामानमा बढ्दै गएको मूल्यबृद्धिका कारण सर्वसाधारण जनताले साँझबिहान भोकभोकै बस्नुपर्ने अवस्था देखिँदै जान थालेको छ। कमजोर आर्थिक अवस्था भएका जनताले महंगीकै कारण सहरमा मात्रै होइन गाउँमा काम गरेर बिहानबेेलुकाको हातमुख जोर्न पनि धौ–धौ पर्न थालेको छ। महंगीको मारमा सर्वसाधारण जनता उठ्नै नसक्ने गरी थिचिएका छन्। तर, राजनीतिक दलका नेताहरू मौनता साँधेर बसिरहेका छन्। उनीहरूलाई महंगीको मारमा परेर पिल्सिएका जनताको पीरले छुनसमेत सकेको छैन। सर्वसाधारण जनतालाई सरकारले राहतको व्यवस्था नगर्ने हो भने कमजोर आर्थिक अवस्था भएका जनता यो मुलुकमा अब टिक्न सक्ने छैनन्। सर्वसाधारण जनतालाई नेपालमा क्रमिकरूपमा बढ्दै गएको महंगीले यहाँबाट विदेशिन बाध्य पार्नेछ। सर्वहारा जनताका लागि राजनीति गर्दै आएको भाषण ठोक्ने राजनीतिक दलका नेताहरूले चर्को महंगीका विषयमा गम्भीरतापूर्वक अब सोच्ने कि नसोच्ने? कि भाषणमा मात्रै चर्को क्रान्तिका कुरा गर्ने व्यवहारमा नउतार्ने? नेताहरू भने आरामदायी जीवन बिताउने, तर जनताको जीवनस्तर सुधार गर्ने विषयमा भने कुनै कार्यक्रम र योजना नल्याउने प्रवृत्ति अहिले आफूलाई एक नम्बरको क्रान्तिकारी हुँ भन्ने पार्टीमा समेत देखापरेको छ। क्रान्तिकारी पार्टीका नेताहरूमा पनि अहिले आरामदायी र सुखसयलपूर्ण जीवन बिताउने एकपछि अर्को होड नै चलेको छ। नयाँ र सुविधासम्पन्न चर्को भाडादरको घरमा क्रान्तिकारी पार्टीका नेताहरू बसोबास गर्ने थालेको समाचार आइरहेका छन्। यसले के स्पष्ट पारेको छ भने जनता एकपछि अर्को गर्दै महंगी र अभावको गहिरो खाडलमा भासिँदै जान थालेका छन् भने नेताहरू त्यसको विपरीत सुखसयलपूर्ण जीवन बाँच्न थालेका छन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment