Friday, November 21, 2008

अमेरिकामा राष्ट्रियताको पक्षमा फैसला

मार्टिन लुर्थर किङले “मसँग सपना छ” भन्ने बिषयमा दिएको भाषणमा अमेरिकामा हुने गरेको कालोजाती माथिको विभेदको अन्त्य गर्नु पर्ने माग राख्दा, सायदै उनले पनि सोचेका थिए कि एकदिन संसारको शक्तिशाली मुलुकको राष्ट्रपति कालो जातीको हुनेछ । तर डेमोक्रेट उम्मेदबार बाराक ओबामाले लुथरको सपनालाई अमेरिकाको ४४ औं निर्वाचित राष्ट्रपति भएर पुर्णता मात्र होइन त्यसलाई उत्कर्षमा पुर्याइ दिएका छन् । ओबामाको विजयले अमेरिकाको इतिहासमा सबै प्रकारका मान्छेलाई अमेरिकाले ठाउँ दिन्छ भनि लेख्न सहज र सजिव तुल्याएको छ । यो विजयले काला जातिमाथीको सबै किसिमको भेदभावलाई अन्त्य गरेको छ । अमेरिकी जनताले जातभन्दा माथि उठेर अमेरिकाको पक्षमा निर्णय गरेका छन् । उनीहरूले अमेरिकालाई परिवर्तन गर्ने मान्छेलाई सबैभन्दा माथी उठेर राष्ट्रियताको बारेमा सोच्न उत्साहित गरेका छन् । रंग, जात, सम्प्रदायको मुद्दामा अल्झिएका देशहरूलाई अहिलेको समयमा अमेरिकी जनताले महत्वपुर्ण सन्देश प्रवाहित गरेका छन् । यसका लागि उनीहरूलाई धन्यवाद दिनै पर्छ ।
“अमेरिकाको शक्ती भनेको बन्दुक र युद्ध होइन, प्रजातन्त्र, मानव अधिकार र आदर्श हो” विजयी भए लगत्तै ओबामाले दिएको यो अभिव्यक्तीले उनको शान्तिप्रतिको प्रतिवद्धता व्यक्त गर्दछ । उता पराजित रिपब्लिकन पार्टीका उम्मेदबार जोन मेक्केनले ओबामाको विजयलाई सहज रूपमा लिएर आफ्ना समर्थकलाई उनलाई सहयोग गर्न भन्नुले पनि राष्ट्रियताको कुरा सबैभन्दा माथी भएको प्रमाणित गरेको छ । जुन जहिले पनि दलगत मुद्दामा अल्झिरहेका र एकअर्काको कमजोरी देखाउन उधृत नेपाली राजनीतिज्ञलाई समेत गतिलो सन्देश हुन सक्छ ।
प्रतिद्वन्द्धी रिपब्लिकन उम्मेदबार जोन मेक्केनको तुलनामा युवा ओबामाको पक्षामा उर्लिएको जनलहरले अमेरिकीहरू इराक र अफगानस्तानको युद्धले धुमलिएको छवी सुधार्न चाहन्छन् भन्ने देखाएको छ । पछिल्को सर्वेक्षणमा अमेरिकाको लोकप्रियतामा कमी आएको छ । राजनीतिक विश्लेषकहरूले त ओबामाको विजयले सबै तह र तप्कमा परिवर्तन गर्ने टिप्पणी गरेका छन् । ओबामा आप्रवासी नितीमा लचक हुन्छन् भन्ने विश्वास गरिएको छ, त्यसैले पनि आप्रवासीहरूले ओबामाको पक्षमा खुलेर समर्थन गरेक थिए । अमेरिका बाहिर गरिएका सर्वेक्षणहरूमा पनि मेक्केनभन्दा ओबामा नै अगाडी थिए ।
अहिले अमेरिकाले भोगीरहेको वित्तिय संकट र आतंकवादको लडाई नै ओबामाको प्रमुख दुई चुनौती हुन् । ओबामाले परिवर्तनको नारा दिएका छन् र उनले सबै अमेरिकी जनताका साथसाथै विश्वलाई नै अमेरिकाको सुधारिएको छवीको विश्वास दिलाउनु पर्ने हुन्छ । अब अमेरिकाले आतंकवादको नाउँमा सार्वभौम सम्पन्न मुलुकमा हमला गर्न रोक्नुपर्छ र ओबामाबाट विश्व समुदायले गरेको प्रमुख अपेक्षा पनि यहि हो ।