Wednesday, November 26, 2008

प्रधानमन्त्रीलाई खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू !
नेपाल सरकार
नयाँ नेपाल निर्माणका लागि सिंगो मुलुक जुर्मुराइरहँदा हामी विदेशमा रहेका नेपालीहरुमा उत्साहको सीमा छैन । देश दिगो शान्तिको दिशामा अगाडि बढ्नु र लोकतान्त्रिक संविधान निर्माण प्रारम्भ हुनुले नयाँ नेपाल टाढा छ जस्तो लाग्दैन । तर पछिल्लो समयमा देशमा बढेको हत्या-हिंसा, अपहरण, घरजग्गा कब्जाका घटनाले हामीलाई चिन्तित तुल्याएको छ । त्यसमा पनि सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी प्रत्यक्ष-परोक्ष रुपमा त्यस्ता घटनाहरुमा संलग्न हुनुले नयाँ नेपाल निर्माणको नारामा सन्देह पैदा भएको छ ।
माओवादीले सरकारको नेतृत्व गरेको अवस्थामा धादिङमा निर्मल पन्त र पुष्कर डंगोलको शव गाडिएको अवस्थामा फेला परेको छ । उक्त घटनामा नेकपा माओवादीनिकट योङ कम्युनिष्ट लिग वाईसीएलको संलग्नता रहेको पुष्टि भइसकेको छ । जनताको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने दलको भ्रातृ संगठनबाट भएको जघन्य अपराध अक्षम छ । नेपाली जनसम्पर्क समिति हङकङ, घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाहीका लागि सरकारले जिम्मेवारी देखाओस् भन्ने ध्यानाकर्षण गराउँदछ । वाईसीएलको बर्बरतापूर्ण कार्य रोकिएको छैन । उसले विभिन्न जिल्लामा घरजग्गा कब्जा गर्ने र सरकारी स्वामित्वका कार्यालयहरुमा कब्जा जमाएर बसिरहेको छ । उसले चन्दा आतंक पनि कायमै राखेको छ ।
तराईका जिल्लाहरुमा दिनप्रतिदिन असुरक्षा बढेकोछ । जनताहरु मारिने, अपहरित हुने क्रम बढ्दो छ । सशस्त्र समूहका नाममा अपराधिक गतिविधि गर्नेहरु मौलाउन थालेका छन् । छ महिनाभित्र शान्ति सुरक्षा बहाल गर्ने सरकारको दाबी हावादारी सावित हुँदै गएको छ । सशस्त्र समूहसँग गर्ने भनिएको वार्ता पनि हल्लामा मात्र सीमित भएको छ । देशमा असुरक्षाको वातावरणका कारण हामीलाई चिन्तित बनाएको छ । यसले नेपालमा लगानीका लागि इच्छुक हामी प्रवासी नेपालीलाई सतर्क गराएको छ । विदेशमा आर्जन गरेको सम्पत्ति स्वदेशमा लगानी गर्ने हाम्रो उत्साह सेलाएको छ । यसले नेपालमा आर्थिक क्रान्ति गर्ने सरकारको नारा नारामा मात्र सीमित हुने खतरा बढेको छ ।
नेपाली जनसम्पर्क समिति देशमा शान्ति-सुरक्षाको ग्यारेन्टी गरी मानवाधिकारको सुनिश्चिततामा जोड दिन चाहन्छ । साथै राजनीतिक आडमा हुने अपराधिक कार्यहरुलाई निरुत्साहित पार्न कडाभन्दा कडा कदम चाल्न सरकारसँग जोडदार माग गर्दछ ।