Wednesday, November 26, 2008

विवाद, बहस र दुई लाइन

सकारात्मक संघर्ष कम्युनिजमका आधार हुन् । तर, प्रचण्ड कमरेडलाई आफ्नो धरातल नबिर्सन सुझाव छ । अहिले प्रचण्ड जहाँ हुनुहन्छ, त्यो केवल माओवादी मतले मात्र होइन, आमजनताको भोटले उहाँ सत्ताको नेतृत्वमा पुग्नुभएको हो ।प्रचण्ड र किरण दुवैले आफूहरू सच्चा नेपाली कम्युनिस्ट नभएको प्रमाणित गरिदिएका छन् । उनीहरू दुवै अवसरवादी रहेछन् । अध्यक्षपद किरणलाई छाड्दा प्रचण्डको के जान्थ्यो ? क्रान्तिकारी भन्ने, दुवै पद आफै राख्ने । चिल्लो गाडी र महँगो पलङ प्रयोग गर्ने, छोराछोरी, ज्वाइँ सबैलाई विदेश सयर गराउने, यसबाटै प्रस्ट हुन्छ- प्रचण्ड पनि अवसरवादी नै रहेछन् । प्रचण्डले यति चाँडै कांग्रेस र सत्ता साझेदार पार्टीको आलोचना नगरेकै भए राम्रो हुने थियो । माओवादीलाई जंगलबाट फर्काएर संविधानसभा चुनाव गराउने कांग्रेस र एमालेको भूमिका अहिल्यै बिर्सनु मूर्खता हो । सत्ता सञ्चालनमा सबैको सहयोग पाए मात्र माओवादी सफल हुन सक्छ । भनिन्छ, नेपाली राजनीतिको मुख्य लगाम नेपाली नेताको हातमा हुँदैन, उनीहरू 'भारतीय'ले जे भन्यो, त्यही गर्न विवश हुन्छन् । यो भनाइ धेरै हदमा सत्य साबित हुँदै आएको पनि छ । त्यति मात्र होइन, नेपालमा जुन पार्टी सत्तामा पुग्छ, उसलाई भारतीय खुफियाले फुटाइछाड्छन् भन्ने भनाइले पनि पटकपटक यथार्थमा रूपान्तरण हुने मौका पाइरहेको छ । एमाले, कांग्रेस, राप्रपा, सद्भावनासमेत यस भनाइका उदाहरण बनिसकेका पार्टी हुन् । अब पालो माओवादीको छ । अहिले माओवादीमा देखिएको विवादको कडी कतै यही त होइन ? नेतृत्वले विश्लेषण गरोस् ।