हालै नेपालमा सञ्चारगृह र सञ्चाकर्मीमाथिको आक्रमणको खबरले जो कसैलाई दुःखी तुल्यायो बाहेक माओवादी। हिजो जनयुद्धताका नेपालका मिडियालाई आफ्नो पक्षमा प्रयोग गर्न माओवादीले अनेक रणनीति अपनाएको थियो । सुरक्षाकर्मीको आँखा छलेर विज्ञप्तिहरू ओसारपसार गरिदिन र छाप्न उसले सञ्चारकर्मी, सम्पादक र प्रकाशकहरूसँग अनेकन अनुरोध गरेको भन्नेबारे समाचारमा कुरा आएकै हो। माओवादीको आन्दोलन, बन्द हडताल, चक्काजामजस्ता कार्यक्रमको प्रचारप्रसारमा प्रेस जगतले निकै योगदान पनि गर्यो। प्रसारका लागि सञ्चार जगतले पुर्याएको योगदान फलस्वरुप आज माओवादी यो स्थानमा छ तर विडम्बना योगदानको बदलामा अहिले नेपाली प्रेसले उसको ज्यादती खेप्नुपरेको छ । हिमाल खबरपत्रिकामाथि भएको 'बज्रपात' केवल एउटा मिडियामाथिको पीडा होइन, सबै पत्रकार,मिडिया र स्वतन्त्रताप्रेमी, सूचनाको हकदार सबै नेपालीका लागि यो गहिरो पीडा हो । राष्ट्रिय अस्मिताको प्रतिनिधित्व गर्ने जिम्मेवार पक्षले नै दण्डहीनतालाई निरन्तरता दिनु कहाँसम्म उचित छ ? हाल नेपालमा किन सरकारको तर्फबाटै पत्रकारहरूको अपहरण, हत्या, कुटपिट, धम्की सामान्य भएका छन् । यसबाट के स्पस्ट हुन्छ भने निरन्तरको आक्रमणले माओवादी हतियारको उन्मादबाट माथि उठन नसकेको मात्रै होइन, ऊ कलममाथि निरन्तर दबाब बनाइराख्न चाहन्छ, प्रेस स्वतन्त्रतामाथि आक्रमण जारी राखेर आफ्नो बन्दुके मानसिकतालाई लादेर नै अघि बढ्न चाहन्छ भन्ने प्रस्ट छ ।"कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर" भन्ने उखान हाल माओवादीलाई ज्यादै म्याच भएको छ।
माओवादीको लोकतान्त्रीकरण प्रक्रिया कस्तो छ, उसले फरक विचार र आस्थामाथि कसरी प्रहार गर्छ भन्ने सारा विश्वले हेरिरहेको छ । 'परम्परागत संसदवादी बुर्जुवा पार्टी होइनौं हामी, दस वर्षमा नेपाललाई स्विट्जरल्यान्ड बनाइदिन्छौं, हाम्रो हातमा डाडु-पन्यु त आओस् चमत्कारै चमत्कार गरिदिन्छौं,' भन्थे हाम्रा माओवादी नेताले पहिला। हाल हातमा डाडु, पन्युमात्र होइन सम्पूर्ण भान्सै ओगटेर बस्ने मौका पाएका छन् तर चमत्कार भइरहेका छन यी सबमा- प्रेसमा चमत्कार, उद्योगधन्दामा चमत्कार, प्रशासनमा चमत्कार, बोलीमा चमत्कार, सडकमा चमत्कार, सदनमा चमत्कार, वाईसीएलको चमत्कार,आदी इत्यादी के के हो केकेमा चमत्कार अधोगती तर्फबाट। सर्पझैं घिस्रने होइन भ्यागुताझैं उफ्रिने आर्थिक नीति अख्तियार गर्नुभएका अर्थमन्त्रीज्यूले उद्योगधन्दामा मजदुरको नाममा ठाडो हस्तक्षेप गरेर आर्थीक चमत्कारको सुरुवात गरिसक्नुभएको छ। लोकतान्त्रिक नेपालको सुरुवाती दिनमा माओवादीका नेताहरू अमेरिका, बेलायत, जापानजस्ता देशलाई पछार्ने आर्थिक विकास गरौंला, विश्व नै अचम्मित हुने गरी औद्योगिक विकास, प्राविधिक विकास गरौंला भन्ने,नेपाल गरिव हुनुपर्ने कुनै कारण नदेख्ने कमरेडहरू, सत्तासीन भएको चार महिना नपुग्दै सरकार छाड्छु, जनतामा जान्छु, फेरि बन्दुक पड्काउँछु भन्न थालेका छन्, जुन अत्यन्तै लज्जापूर्ण र घ्रिणित छ ।
अति भयो भने खती सुनिश्चित छ । पटक-पटक सञ्चारगृह र सञ्चारकर्मीमाथि हमलाको निशाना बनाएको माओवादीका लागि सबैभन्दा ठूलो आँखाको कसिंगर अब प्रेसजगत नै बन्नेछ । लोकतान्त्रिक गणतन्त्रको खोल ओढेर अधिनायकवादी र सर्वसत्तावादी शासनसत्तातर्फ उन्मुख माओवादी नेतृत्वको सरकारको दिनगन्ती हिमाल खबरपत्रिकामा आक्रमण गरेदेखि सुरु भएको छ। एउटा कुरा भने निश्चित छ, यदि माओवादीले प्रेसमाथि हमला रोक्ने र आफूलाई सच्याउने प्रयत्न साँचो अर्थमा गर्न सकेन भने माओवादी पार्टी इतिहास बन्न सक्छ । वर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले अपराधीलाई कारबाही गर्ने आश्वासन दिए पनि अहिलेसम्म कसैलाई कारबाही हुन सकेको छैन । यसबाट के भान हुन्छ भने सरकारको नेतृत्व गरिरहेको माओवादीको राजनीतिक चरित्रमा तत्काल सहज सुधारको आशा राख्नु भनेको सपनामात्रै हो ।
जब कसैको पतन सुरु हुन्छ, अनि उसले प्रेसलाई तारो बनाउने गर्छ । कतै माओवादी पतनको संकेत पनि प्रेसमाथिको आक्रमणनै हुने त होइन? दुनियाँका कुनै पनि तानाशाह प्रेसमाथि हमला गरेर बाँचेको इतिहास आजसम्म छैन । विगतमा ज्ञानेन्द्र शाहले पतनोन्मुख सन्देश प्रेसलाई नै निशाना बनाएर दिएका थिए । आज माओवादी एकातिर आफ्ना भ्रातृसंगठन र मजदुरका नाउँमा आक्रमण र प्रत्याक्रमण गराउँदै जाने, अर्कोतिर माफी माग्दै कारबाहीको प्रतिबद्धता व्यक्त गर्दै जाने शैली 'अधिनायकवादी' चरित्रको प्रदर्शन गरिरहेको छ । गल्ती, कमी कमजोरी सच्याएर अगाडि बढे अझै पनि आकाशै खसेको छैन । चाहेमा गर्न सक्ने ठाउँ पर्याप्त छ । प्रेस जगत (जसलाई राज्यको चौथो अंग भनिन्छ) माथिको हमला भनेको अरिंगालको गोलो चलाएर आफ्नो पतन रोज्नु हो यो कुरा माओवादीले समयमै बुझे राम्रो ।
कमल भट्टराई मनासस-भर्जिनिया
bhattaraikamal1973@gmail.com