बाढी-पीडितहरूको शिविरमा राहत वितरण कार्य तीव्र गतिमा चलिरहेको थियो । शिविरमा बसेकाहरूलाई राहत सामग्री पर्याप्त मात्रामा पुगिरहेको थियो । दाल, चामल, चिनी, बिस्कुट, चाउचाउको ओइरो लागिरहेको थियो । राहत पाएनौँ भन्ने गुनासो कसैको मुखबाट पनि निस्किरहेको थिएन ।
सरकार पनि प्रशन्न थियो । पीडितहरूबाट राहत नपाएको गुनासो नआउँदा सरकार प्रशन्न नहुने कुरै भएन तर एकदिन अचम्मको खबर आयो । पीडितहरूले भोक-हडताल सुरू गरेको खबर । यो खबर आफैँमा अप्रत्याशित थियो । किन यस्तो भयो ? कसैले पनि अनुमान गर्न सकिरहेका थिएनन् । शिविरमा राहतको अभाव कसैले पनि झेलिरहेका थिएनन् तर पनि किन भोक-हड्ताल भयो ? भोक-हड्तालको रहस्य कसैले पनि पत्ता लगाउन सकेनन् । हड्तालमा बस्नेहरूलाई हडताल गर्नुको कारण सोध्दा मौनता साध्थे । कसैले पनि हडतालको कारण जान्न सकेनन् । शिविरमा दस-बाह्र जना चार-पाँच दिनदेखि भोक-हडतालमा थिए ।
भोक-हडताल लम्बिँदै जाँदा कसैको जीवन जोखिममा पर्यो भने के गर्ने ? सरकार चिन्तित देखियो । सरकारका मन्त्रीहरू पनि चिन्तित देखिए । एकदिन सरकारले निर्णय गर्यो- 'जसरी भए पनि भोक-हड्ताल रोक्नुपर्यो ।'
एकदिन एकजना मन्त्री हातमा जुसका डिब्बा लिएर भोक-हडतालमा बसेकाहरूको हड्ताल तोडाउन गए । मन्त्रीलाई लागेको थियो- हडतालमा बस्नेहरूले कुनै माग राख्लान्, सम्झौता गर्ने कुरा, गर्लान् तर त्यस्तो केही भएन । हडतालमा सहभागी हुनेहरूले जुसको डिब्बातिर हात बढाए र निमेषभरमै जुस खाएर परम आनन्द लिए । मन्त्रीले सोचे- जुस खाएपछि मागपत्र पेस गर्लान् ।
तर केही पनि भएन ।
'तपाईँहरूको केही माग छैन ?' मन्त्रीले अचम्म मान्दै सोचे ।
'हाम्रो माग पूरा भयो ।' भोक हडतालमा बस्नेमध्ये एकजनाले भने ।
'कसरी पूरा भयो माग ? केही कुराकानी नै भएको छैन ।' मन्त्रीले झन् आश्चर्य मान्दै भने ।
'हाम्रो माग यही जुस खान पाउनुपर्छ भन्ने थियो ।' भोक-हडतालका नेतृत्वकर्ताले थपे- 'यो शिविरमा हामीमाथि पक्षपात गरियो । अरू सबै पीडितहरूले अघाउँजी जुस खान पाए, तर हामीले भने पाएनौँ । त्यहीकारण हामी भोक-हडतालमा उत्रिएको हौँ । अहिले तपाईँले हामीलाई स्वादिष्ट जुस पिलाउनुभयो र हाम्रो हडताल पनि टुङ्गयिो ।
मन्त्री दङ्गदास परे ।
अनसनकारीहरू पनि जुस खान पाएकोमा झनै दङ्गदास परे ।