Monday, December 22, 2008

प्रतीक्षाको मीठो फल

जुन ०२, २००८
परिवर्तन नियमित र गतिशील सत्य हो। हामी जो कसैले पनि जन्मेपछी परिवर्तन देखिरहेका छौ। तर कहिलेकाही समय यस्तो आउछ जहाँ नियमित परिवर्तन पर्याप्त हुदैन। साइत यस्तो जुरिदिन्छ कि आमूल परिवर्तन भइदिन्छ । २३९ वर्षको इतिहास बोकेको नेपालको शाहवंशको राजशाहीको अन्त्य भएको छ अनि गणतन्त्र नेपाल भएको छ। हिजोका 'तन्त्र' हरू इतिहासका रोचक र सन्देशमूलक कहानी भएका छन् । यो आफैंमा उपलब्धि हो । सगसगै कमल थापा र भरतकेशर सिंहबाट गुज्रिएर गणतन्त्रको संस्थागत विकास गर्ने चुनौती पनि जन्मिएको छ । बुझ्नुपर्ने कुरो, गणतन्त्र घोषणामात्र पर्याप्त छैन । नेपालीलाई नयाँ जीवन दिन गर्नुपर्ने थुप्रै काम छन् । भ्रष्टाचार मौलाएको छ। भ्रष्टाचारी नेता र प्रशासकको संरक्षकत्वमा मोटाइरहेका छन् । भ्रष्टाचारको गुदी कारण खोतल्ने प्रयास भएको देखिदैन । प्रशासनदेखि जनता रुष्ट छन् । सर्पले काचूली फेरेजस्तै आफ्ना भाषण फेर्न नेताहरु निपूर्ण र ब्यस्त छन्। अर्कोतर्फ प्रशासनसंयन्त्र आफैं पनि असन्तुष्ट छ । परिवर्तन र त्यसको व्यवस्थापनका लागि अग्रणी भूमिका निर्वाह गर्नसक्ने सम्भावना बोकेको कर्मचारीतन्त्र 'प्रतिबद्ध' राजनीतिक र 'कटिबद्ध' प्रशासनिक नेतृत्वको अभावमा छ ।

जीवनको मूल्य खस्किएको छ । अपहरण, लुट, असुरक्षामा भारी वृद्धि भएको छ । सडकमा 'चिप्लिने' र 'घिस्रिने' बीच नापिनसक्नुको दूरी छ । जनताले आश्वासनसग गरिबी निल्न थालेको धेरै भइसकेको छ । भाषण धेरै भए । आयोग धेरै बनाइए । ऐन नियमका खात लागेका छन् । तर समाज जहाको त्यही छ । अझै पनि दूरदर्शी र सभ्य राजनीतिक संस्कारको अभाव छ । राजनीतिक नेता तथा जनतामा शिक्षाको कमि छ। कानूनलाई पनि लादने परिपाटी छ।'जब भयो राति अनि बूढी ताती' को शैलीले "नयाँ नेपाल" बन्ने छाट देखिदैन । जेठ १५ को दलीय विलम्बले फेरि जनतालाई सशङ्कति गराएको छ ।

संविधानसभा अझै केही समयसम्म संविधान निर्माणको मूल एजेन्डामा प्रवेश नगरी शक्ति र सत्तापछाडि लागिपर्ने स्थिति देखिएको छ । गणतान्त्रिक अधिनायकवादको खतरा पनि त्यत्तिकै छ । लामो गाथा तयार हुन्छ नेपाली अस्तव्यस्त परिवेशको चर्चा गर्दा । हामी ठूलो सम्भावनाको माझमा छौं । बुद्धि पुर्याएर, विवेक लगाएर र राष्ट्रस्वार्थ हेरेर काम गर्ने हो भने अर्को तन्त्रको खोजी गर्नुपर्दैन ।

गणतान्त्रिक नेपालको यात्रा शून्यबाट सुरु भएको छ । मनको एक कुनामा डर यही छ कि यो यात्राले ऋणात्मक गति नलेओस् । एक,दुई ,दस र पचास हुदै हाम्रो यात्रा समृद्धिको शिखरतर्फ अग्रसर होओस् । विश्वविद्यालयबाट भर्खर निस्किएको 'बुद्धिसागर' होस् या बलिया पाखुरा भएको अशिक्षित 'बलबहादुर' होस्, हरेकलाई राज्यले गरिखाने अवसर देओस्। हामी लागिपरौं देश बनाउन, जो जहा छौ जस्तो इलममा, जस्तो उद्यममा । यस क्रममा विवादमाथि संवाद समझदारी र सहकार्यले विगतको भन्दा पनि परिपक्वता तथा महत्त्व पाउने अपेक्षा गरिन्छ । सहमतिको नाममा सत्तासुख एवं भागबण्डाको पारम्परिक जोडघटाउको खेल हेर्नमा जनताको रुचि छैन । राजतन्त्रको अन्त्य मात्र गणतन्त्रको एकमात्र प्रत्याभूति सावित हुनसक्दैन । लाखौं लाख हृदयहरूमा परिवर्तनका नव अनुभूतिका नव ढुकुढुकीहरू सुन्ने वातावरण निर्माण गरिनुपर्छ । परिवर्तन र रूपान्तरणको प्रतीक्षामा आज लाखौं नेपालीले नयाँ नेपालको नयाँ अर्थ खोजिरहेका छन् । सारा नेपालीहरू अझ जनताले ऐतिहासिक अभिभारा सुम्पेका जनताका ऐतिहासिक प्रतिनिधिहरूले यस घडीमा सामूहिक दायित्वबोधका साथ जनताको आकाङ्क्षा र बलिदान हार्ने कुनै पनि काम गर्नुहुन्न । आशा छ, साहसी नेपालीहरू सङ्कल्प र समर्पणको समवेत महायज्ञमा हाम्रा नेतृत्वपङ्क्ति असफल र अक्षम सावित हुनेछैनन् । सारा विश्वले समेत हामीलाई उत्सुकतापूर्वक हेरिरहेको कुरा कुनै नेपालीले बिर्सनु हुन्न ।

जे होस् जेठ १५ गते अन्ततः मुलुकले इतिहासको सबभन्दा ठूलो प्रश्नको छिनोफानो गर्यो । यो सारा मुलुकवासीको महान् उपलब्धि हो । अब यस उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । आज सारा मुलुक गणतन्त्रमय भैसकेकोमा सन्देह छैन । जनताले गणतन्त्रको पक्षमा अभिमत दिएर आफ्नो ऐतिहासिक दायित्व पूरा गरिसकेका छन् । अब चुनौती दलहरूका नेताका काधमा छ । संविधानसभाबाट सारा नेपालीको आशा, आकांक्षालाई सम्बोधन गर्ने सफल संविधान निर्माण गर्न सकियो भने साच्चिकै सङ्क्रमण कालको अर्को चरण पार गरी नेपाल विकास, शान्तिपूर्ण र स्थायित्वको अर्को युगमा प्रवेश गर्नेछ । तर भन्न जति सजिलो छ गर्न उत्तिकै कठिन । विभिन्न मत, वाद, विचार, धारणाको पृष्ठभूमिमा हुर्किएका नेताहरूबीच समन्वय, सुझबुझको खाचो पनि उत्तिकै देखिन्छ।
नेताहरू दलको अथवा व्यक्तिगत स्वार्थभन्दा महान् जनता र मुलुकको स्वार्थमा केन्दि्त र समर्पित हुनसके गणतन्त्र स्थापनाको औचित्य सार्थक हुने कुरामा शङ्का छैन ।गणतान्त्रिक मुलुकका नेतृत्वकर्ताले बुझ्नुपर्छ, गणतन्त्र घोषणा एउटा शासकलाई हटाएर अर्का शासकलाई बसाल्ने बहानामात्र होइन । नेपाल अब त्यस्तो मुलुक नबनोस् । बिधिको बिधान अनुसार चल्ने कानूनी राज्यको निर्माण होस्। अब जनता शासक होइन, उनका सच्चा जनप्रतिनिधि चाहन्छन् । उनीहरू आफ्ना सेवक चाहन्छन् । कैयौं जनताको बलिदानबाट आएको गणतन्त्र साच्चै बलियो होस् । जनतालाई दुःख दिने तन्त्रको अन्त्य होस् । जनता सताउनेहरू दण्डित हुने वातावरण बनोस् । गणतान्त्रिक मुलुकमा सबै खालका उत्पीडन, शोषणको अन्त्य होस् । हामी साच्चै अर्थमा स्वतन्त्र सार्वभौम जनता हौं भनेर छाती फुलाएर भन्न सकियोस् । गणतन्त्र गुलियो र रसिलो बनोस् ।आपसी सम्मान, सद्भाव, सहयोग, सहमति र विश्वासका साथ संवैधानिक प्रावधानानुरूप राज्य सञ्चालन गर्न सबै सम्बद्ध दल र नेताहरू सचेत बनून । साथै नेपाली नागरिकहरूले सधैं सजग, सतर्क र अनुशासित बनेर लोकतान्त्रिक चरित्र दर्साउन सके मात्र गणतन्त्रको सार्थकता झल्किनेछ। अनि मात्र स्वाभिमानी, स्वाधीन, सार्वभौम र राष्ट्रियताप्रति गौरवान्वित महसुस गर्न सक्ने वातावरण बन्नेछ। संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, दिगो शान्ति र स्वतन्त्रताका लागि सबैलाई शुभकामना !शुभकामना!!शुभकामना!!!र अन्तमा एक जुगमा एकपल्ट आउने संबिधानसभा चुनाव अनुभव गर्न पाएकोमा म आफु र तपाइलाई सेमत भाग्यमानि ठान्दछु।

कमल भट्टराई-मनासस भर्जिनिया