जुन २३, २००८
एक युगमा एक दिन आउने संविधानसभाको पहिलो बैठक समाप्त भैसक्यो। पहिलो बैठकलेनै बिधिवत गणतन्त्रको घोषणा गरे सगै नेपाल नयाँ युगमा प्रबेश गर्नेछ भन्ने जनताले सोचेका थिए। अनि नेताहरुले पनि संविधानसभाको निर्वाचनपछि देशमा स्थायी शान्ति आउँछ भनेर जनतालाई आश्वासनका पोका बाँडेका थिए। त्यसैले निर्वाचनमार्फत जनताले चुनेर पठाएका प्रतिनिधिबाट देशलाई अग्रगमनतर्फ उन्मुख गराउन ठूलो प्रयास हुनेछ भन्ने अपेक्षा आम नेपालीमा रहेको थियो, तर निर्वाचन भएको अढाइ महिना बित्न लाग्दा पनि सभासद्हरुले कुनै भूमिका निर्वाह गर्न नसक्नुले उनीहरु पनि दलका दासबाहेक केही होइनन् भन्ने स्पष्ट भएको छ। दलका शीर्षस्थ नेताहरु भागबन्डा र भ्रष्टाचारमा लिप्त रहेका छन् अनि सभासद्हरु ठूला ठूला भाषण त गर्छन् तर उनीहरुको अन्तरात्माको कहींकतै कुनै अर्थ र तुक छैन। नचाहे पनि उनीहरु दलको ह्विपमा समर्पित हुनुपर्ने बाध्यता छ।
जनतालाई अधिकारसम्पन्न बनाउने नाममा आएको लोकतन्त्र र गणतन्त्रको औचित्य कतै प्रस्टिएको छैन बरु यसकै नाममा भीडतन्त्रले स्थान बनाइसकेको छ। जहाँतहीँ जसलाई मन लाग्यो-त्यसले बन्द, हड्ताल र चक्का जाम गर्नेजस्ता अराजक प्रवृत्तिहरु देखिंदै आएका छन्। बन्द भन्ने शब्द नेपाली समाजमा यति सस्तो भइसक्यो कि कुनै पनि सवारी साधनले मानिस किच्यो भने चक्का जाम, ट्याक्सी ड्राइभरको हत्या भयो भने चक्काजाम, माओवादीले शिविरमा वा अन्यत्र लगेर हत्या गर्यो भने चक्काजाम। सवारी साधनले मान्छे मार्छ, जनताले सवारी साधन तोडफोड गर्छन्, यातायात व्यवसायीले चक्का जाम गर्छन्। पाठ्यपुस्तक पाएन भने विद्यार्थीले चक्काजाम गर्छन्। आफ्नो मागप्रति ध्यानाकर्षण गराउनको लागि चक्काजाम नै गर्नुपर्ने बाध्यता त आफ्नो ठाउमा उचित नै होला। तर त्यसले आम नागरिकलाई पुर्याउने असरका सम्बन्धमा भने आन्दोलनकारीले कहिल्यै सोचेनन् न त अधिकारको माग गर्नेहरुका आवाजलाई सरकारले आन्दोलनविना नै सुन्ने प्रयास गर्यो। कुनै पनि घटना वा मागमा टायर बाल्ने चक्काजाम, बन्दजस्ता कार्य सदाका लागि बन्द हुनुपर्छ तर, सरकारले वा संम्बन्धित पक्षले समस्याप्रति तुरुन्त ध्यान दिनुपर्छ र सम्बन्धित पक्षसँग वार्ता गरी समाधान दिने प्रयास गर्नुपर्छ।
संविधान निर्माण त्यसै पनि जटिल काम, त्यसमा दलहरू मिलेर सरकार चलाउने अर्को जटिल काम । यस्तो घडीमा सरकार सञ्चालनभन्दा राजनीति सञ्चालन महत्त्वपूर्ण हुन्छ र यस्तो कठिन परिस्थितिमा नेतृत्व गर्ने युग पुरुषहरूको ठूलो भूमिका रहन्छ । अन्यथा गणतन्त्रको राजनैतिक स्थापना, कानूनी र व्यावहारिक रूप कमजोर पर्न सक्छ र इतिहासले फेरि उल्टो बाटो पक्रन सक्छ। हालका दिनहरुमा यसले केही अर्थपूर्ण प्रश्न अघिसारिदिएको छ । पहिलो, मुलुकमा राष्ट्रपतिका निम्ति योग्य साझा अनुहारको खडेरी छ, त्यसका निम्ति अब टर्चलाइट बालेर मुलुकका कुनाकन्दरासम्म खोज्न निस्कनुपर्छ । दोस्रो, राष्ट्रिय सहमति नेपाली राजनीतिमा स्वार्थको अर्का नाम हो । आफ्नो पक्षमा सबै रहुञ्जेल राष्ट्रिय सहमति गर्न सबै दल तयार हुन्छन् तर केही गुम्ने भएमा राष्ट्रिय सहमतिका सामु सर्तका बिस्कुन बिछ्याइन्छ । तेस्रो, मुलुक लोकतान्त्रिक भए पनि मुलुकको नेतृत्व गर्ने नेतामा लोकतान्त्रिक आचरणको "अ" पनि पलाइसकेको छैन, यसले कतै गणतन्त्रलाई नेतृत्वहीन बन्न बाध्य पारेर दुर्घटनामा पार्ने त होइन रु दलहरूले लामो समय खेर फालिसकेका छन् । सबैका आफ्ना स्वार्थ, सर्त र प्रस्ताव छन् । कोही एक इन्च छाड्न चाहन्नन् । बरु आधा इन्छ बढी नै प्राप्त गर्न चाहन्छन् । कांग्रेस, एमाले, माओवादीका बेग्लाबेग्लै राष्ट्रपति नाममा ढुंगो गल्ला, कुनै दल गल्ने संकेत छैन । मुलुकलाई यसरी कतिञ्जेल राष्ट्रप्रमुख बनाएर तड्पाइराख्ने हो रुआज यो भूमिका निभाउने बढी जिम्मेवारी मूख्यरुपमा फेरि राजनीतिक दलका नेताहरुको काधमा आएको छ । तपाईंहरूले राज्य सञ्चालनभन्दा कूटनीतिक राजनीति सञ्चालन गरेर यो काम फत्ते गर्न सक्नुपर्छ। गर्नेभन्दा गराउने ठूलो होइन र रु सम्पूर्ण राजनीतिक पर्टिसँग सहकार्य -अझ मधेसी, महिला, जनजाति, दलितलाई नेतृत्वमा समावेश गरेर राज्य सञ्चालन गराउनुहोस् - यसपर्यन्त कसले खोस्ने तपाईंहरूको युग पुरुषको उपाधि - के सक्नुहुन्छ - सक्नुहुन्छ भने बेला यही हो गरेर देखाउनोस् र अगाडि बढ्नुहोस् हामी पछाडि लाग्नेछौं ।
सहमति, सहकार्य र सहयात्रा भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल समृद्ध बन्ने छ भन्ने तपाईंहरुलाई थाहा हुनैपर्छ। जनादेशप्रति गैरजिम्मेवार नेताहरू केही बोल्दैनन् ।पौराणिक कालमा लावण्य देशमा राजगद्दी खाली भएपछि सुँडमा माला राखेर हात्तीलाई सहर घुमाइन्थ्यो, हात्तीले जसलाई माला पहिर्याइदियो, उसैलाई राजा बनाइन्थ्यो भन्ने हिन्दु धर्मकथा छ । बाइसे-चौबीसेयुगमा नेपालकै लिगलिगकोटमा राजा छान्न दौड प्रतियोगिता आयोजना गरिन्थ्यो । जसले जित्यो, उसैलाई राजा बनाइन्थ्यो भन्ने इतिहास छ । आधुनिक नेपालमा राष्ट्रपति खोजीको आजको स्थितिले कतै तिनै पौराणिक घटनालाई खिज्याइरहेको त छैन रु दलहरूले राष्ट्रिय सहमतिको विधि र पात्र खोज्न नसक्नु विडम्बनापूर्ण मात्र होइन, अलोकतान्त्रिक, अराजनीतिक र अस्वाभाविक घटनासमेत हो ।
अन्तमा, यो युगमा नेपालमा गणतन्त्र आयो त्यसका प्रधान विचारक र नेता पुष्पकमल दाहाललाई गणतन्त्र ल्याउन महत्वपूर्ण योगदान छैन भनिए अन्याय हुन्छ । त्यस्तै गणतन्त्र भित्र लोकतन्त्र समावेश गर्न र संविधानसभा जस्तो जटिल र महत्त्वपूर्ण निर्वाचन सम्पन्न गर्न सफल हालका सर्वोपरि नेता गिरिजाप्रसाद कोइरालालाई लोकतान्त्रिक गणतन्त्र नेपालका पिता किन नभन्ने? र माधव नेपालले त आफ्नो नैतीकता सेमत देखाइ सकेकाछन। तर गिरिजाप्रसाद कोइरालालाई थाहा हुनुपर्छ कुर्सिका लागि हानथाप, मनमुटाव वा लुछाचुडी हुनुले युग र गणतन्त्रकै अपमान हुने मात्र हैन - यसले नेपालमा प्रगति होइन सास्ती नै बढ्नेछ । सबैलाई थाहै छ महात्मा गान्धीले एक पद पनि नलिइ भारतलाई स्वतन्त्रता दिलाउन सफल नेतृत्व गरे । त्यस्तै नेलसन मण्डेलाले २७ वर्षजेल बसेर पनि एकपटकलाई मात्र राष्ट्रपति बनेर अर्को उदाहरण थपे । उनीहरूको पदीय जिम्मेवारीबिना पनि आज भारत र दक्षिण अफ्रिकाले उन्नति गर्दै छन् । के तपाईं पदमा नभैइ नेपालको अस्तित्व र उन्नति गुम्ला त रु यसो हो भने तपाईं र नारायणहिटीमा बस्ने पूर्व राजा बीच के भिन्नता - राष्ट्रपति कि राष्ट्रपिता ठूलो - ठूलै हुन खोजेको हो भने पतिभन्दा त पितै ठूलो होला नि??
कमल प्र. भट्टराई मनासस्-भर्जिनीया
(bhattaraikamal1973@gmail.com)