विगतका केही वर्षदेखि सबैभन्दा बढी कुनै शब्द प्रचलित भएको छ भने त्यो हो "नयाँ नेपाल ।" जनआन्दोलनदेखि आजसम्म प्रत्येक राजनीतिक पार्टीका हरेक नेताले यो शब्द दोहोर्याउँदा हामी सबैलाई साँच्चै नयाँ नेपाल कस्तो होला भन्ने जिज्ञासा लाग्नु स्वाभाविक हो । नेपाललाई नयाँ रूप दिनु र नौलो आकृति प्रदान गर्नु वास्तवमा आजको माग पनि हो । "नयाँ नेपाल" भन्ने शब्द जति प्रचलित छ अथवा सुन्दा जति कर्णपि्रय लाग्छ यथार्थमा यसलाई मूर्तरूप दिनु त्यत्तिकै चुनौतिले भरिपूर्ण छ । यसको अवधारणा जुन पार्टी वा राजनेताले ल्याए त्यो धेरै सह्राहनीय विषय हो । जन आन्दोलनको क्रममा तराई, पहाड तथा हिमाली भेगका हरेक जनताले दिएको त्याग बलिदानको ऋणलाई अहिलेको परिस्थितिमा चुकाउन कता कता गाह्रो देखिन्छ ।
विगतमा दलहरूबीच जे जस्तो सम्झौता भएपनि ती सम्झौताहरूलाई साथ कार्यान्वयन गरेको देखिँदैन । यस्तो अवस्थामा नयाँ नेपाल कसरी बन्छ त्यो सोचनीय छ । हिजोभन्दा आजका दिनहरूमा पक्का पनि सुधार भएको छ । बन्द, काटमार, मृत्यु, चक्काजाम, अपहरण जस्ता घटनाहरू अझै भइरहेको छ । यस्तो अवस्था नयाँ नेपालको परिकल्पना गर्नु सपनामा सुनको महल देख्नु बराबर हो ।
नयाँ नेपालको आगनमा सबै नेपाली दिपावलीको दियो सरी नयाँ युगको सुरुवात होस् सबै एकजुट भई अगाडि बढौँ भन्ने विचार सबैमा हुनु जरूरी छ । जबसम्म जनताको गास, बास र कपासको समस्या हट्दैन तबसम्म नेपाल नयाँ बन्दैन । विद्यमान जातीय, धार्मिक, छुवाछुत, लैङ्गकि असमानता, मदिरा, लागूऔषध चेलिबेटी बेचबिखन जस्ता समस्या मुलुकमा व्याप्त छ । यी समस्याको समाधान बिना नयाँ नेपालको बारेमा सोच्नु कठिन छ । अझै पनि तराई, दुर्गम जिल्लातिर यस्ता समस्या बडो नराम्रो तरिकाले जकडिएको छ । राष्ट्रको कर्णधार भनिने जनशक्ति जसले नयाँ नेपालको निर्माणमा सहयोग गर्न सक्छन् उनीहरू अधिकांश विदेश पलायन हुँदैछन् । युवापिढीँहरू यसरी पलायन हुँदै जाँदा नयाँ नेपाल कसरी बन्छ ? तराईमा हत्या हिंसा, लुटपाट, डकैति, चन्दा असुली जस्ता समस्याहरू बढ्दै जानु चिन्ताको विषय हो । कुनै समय पहाड यस्तो समस्याबाट ग्रसित थियो भने अहिले तराई यसको जालोमा नराम्ररी फसेको छ । घरबाट निस्केको मानिस फर्केर घर आउँछ भन्ने कुराको निश्चित हुँदैन । हामी जस्तो पिछडिएको समाजले अझसम्म पनि यस्तो समस्याबाट पार पाउन नसकेको अवस्थामा नयाँ नेपालको चित्रण फिक्का हुनजान्छ । देशभित्र रहेको धनको ढुकुटी बलियो बनाउने उद्योग धन्दा जति सबै बन्द हुने अवस्थामा छन् भने कतिपय बन्द भइसकेका छन । यी सबै समस्याहरू प्रति राजनेताहरूको ध्यान जानु जरूरी छ ।
जनता जबसम्म जागरुक हुँदैनन् तबसम्म यस्तो समस्याहरूबाट पार पाउन गाह्रोमात्र छैन असम्भव नै छ । जबसम्म यो राष्ट्र मेरो हो, राष्ट्रप्रति मेरो जिम्मेवारी छ भन्ने भावना जागृत हुँदैन, नयाँ नेपाल बनाउने कार्य कठिन छ । सबै समुदाय, वर्ग, क्षेत्रको जनतालाई समान अवसर प्रदान नगरिएसम्म नयाँ नेपालको शीतल छहारीमा हामी बस्न पाउँदैनौँ । जब यी सबै समस्याहरू समाधान भई हामी सबै एकसूत्रमा बाँधिएर बस्छौँ अनि मात्र नयाँ नेपालको आकाशमुनि बसेर हामी सबैले भन्न सक्छाँ "नयाँ नेपाल मेरो नेपाल " -सुनिलकुमार