Thursday, December 4, 2008

नयाँ युगको जग

विकास, शान्ति र सुरक्षा अहिलेका एकीकृत चिन्तनका विषय हुन् । सशस्त्र द्वन्द्वपछिको अवस्था यसै त अत्यन्त संवेदनशील हुन्छ, त्यसमाथि शान्ति प्रक्रियालाई दरिलो बनाउनु, मानवीय र प्राकृतिक कारणले प्रताडित र पीडितलाई राहत दिनु, पुनस्र्थापना गर्नु, आफैँ भत्किएका वा द्वन्द्वका क्रममा भत्काइएका भौतिक संरचनाहरूको पुनः निर्माण गर्नु, पुराना सोचमा आधारित राज्य संरचनालाई युगानुकूलित पुनः संरचना गर्नु, आर्थिक विकास र सामाजिक रूपान्तरणका नीति र व्यवहार मिलाउनु आदि कामको सूचीलाई सम्झन जति व्यवहारमा उतारेर देखाउन पक्कै पनि सजिलो हुँदैन । जस्तोसुकै असजिलोलाई पनि सजिलोसँग आत्मसात गर्दै जनस्तरको न्यायपूर्ण सपनालाई सिर्जनशीलतामा बदल्ने कौशल भने अहिलेको राष्टि््रय संयुक्त सरकारको नेतृत्वसँग रहेको विश्वास गर्न सकिन्छ । इतिहास रच्दै अघि बढ्नु र नयाँ युगको जग बसाउनु अहिलेको नेपालको मौलिक र विशिष्ट परिस्थिति पनि हो ।
यस खालको परिस्थिति सहजै उपलब्ध भएको भने होइन । वर्गीय समाजको सामन्ती संरचनामा रहेको अमानवीय स्तरको विभेदकारी स्वरूपलाई मेचीदेखि महाकालीको धरातलसम्म, विचारदेखि व्यवहारको तहसम्म भत्काउँदै विवेकमा आधारित समतामूलक समुन्नत समाज निर्माणको मानवीय उद्देश्यका साथ नेपालीले एक दशक लामो सशस्त्र द्वन्द्वको विषम कालखण्ड समेत पार गरिसकेका छन् । हजारौँ वर्षदेखि विवेकशील व्यक्तिको मानसपटलमा सुषुप्त वर्गीय र लिङ्गीय विभेद र उत्पीडनविरुद्धका विविध प्रश्नले वैज्ञानिक विमर्शको आड पाएपछि विचारको रूपमा समाजमा प्रकट भए र विस्तारित हुँदै गए । विचारको तहबाट संस्थागत रूपमै सङ्गठित भएर उठेको स्वाभाविक द्वन्द्वको समयमै समुचित व्यवस्थापन गर्नबाट राज्य चुकेपछि मुलुकले सशस्त्र संघर्षको उत्कर्ष रूप समेत व्यहोरेर युगान्तकारी मोडसम्म आइपुगेको हो । अहिले बाह्रबुँदे बृृहत् शान्ति सम्झौताको जगमा टेकेर शान्ति प्रक्रियामा रूपान्तरण हुने बाटो समातेको देशको राजनीतिक इतिहासले अबको समयमा समसामयिक धरातलीय यथार्थलाई समेत आत्मसात गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । जनताप्रति उत्तरदायी भइरहेको निरन्तर सन्देशका लागि पनि यो जरुरी छ ।
विकासका लागि शान्ति र शान्तिका लागि विकासको मूल भावना बोकेर अघि बढ्न खोजिरहेको सरकारका सामु हजारौँ वर्षदेखि खात लागेर बसेको वर्गभेदी, लिङ्गभेदी, क्षेत्रभेदी र जातजातिभेदी अहंकार र हीनताले ग्रस्त मानसिकतासित पाइला पाइलामा र तह तहमा लड्नुपर्ने चुनौती छ । यसले जनताको काख र सङ्घर्षको राखबाट कतै पर हुने पोे हो कि भन्ने इमान्दार आशङ्कासित जुध्नुपर्ने वाध्यता पनि सिर्जना गर्दछ । यस्तो अवस्थामा क्रान्तिको सपनामा उन्मुक्त जनस्तरको बलिदानी जोशलाई जनहितकारी उद्देश्यबाट विचलित हुन नदिइकन समानान्तर शक्तिसँग रणनीतिक मिलान गर्दै शान्ति प्रक्रियाको बाटो समाउनु र त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याएर सिमान्त तहको समानुपातिक विकासमा रूपान्तरण गर्ने काम सँगसँगै अघि बढाउनु नेपालका सन्दर्भमा नयाँ प्रयोग पनि हुन्छ । इतिहासमा पहिलोपटक नेपालीले जनताको नाम मात्र होइन, कामप्रति समर्पित हुने अग्निपरीक्षा पार गरेर आएको पार्टीको नेतृत्वमा बनेको सरकार पाएका छन् । द्वन्द्वात्मक भौतिक चेतना, विवेकसम्मत विचार र भेदभावविरुद्ध संघर्षको चरणबद्ध इतिहास पार गरेर खारिएको शक्तिले स्वतन्त्र जनताको समेत भारी अनुमोदन प्राप्त गरेको छ । यस स्थितिमा जनआकाङ्क्षालाई व्यापक रूपमा समेटेर समसामयिकता प्रदान गर्न पनि नयाँ युग निर्माणको आधारभूत धरातल स्थापना गर्नु जरुरी छ । त्यसका लागि नयाँ नयाँ रूप र आवरणमा सतहमा आइरहेका द्वन्द्वको व्यवस्थापन र समाधानका लागि नयाँ आधारको खोजी गर्नु पनि अपरिहार्य देखिन्छ । विकास, शान्ति र सुरक्षाको बहसबाट अहिले कोही पनि नेपाली पन्छिएर पार पाउने अवस्था छैन ।