Wednesday, December 17, 2008

हाम्रो चाहना के ?

हरेक मानिसको जीवनको मुख्य चाहना शान्ति, सुख, समृद्धि नै हो । प्रत्येक मानिसले घर, खेत, कारखाना, कार्यालय जीवन आदिमा उन्नति खोज्नु उसको सामान्य धर्म हो तर चाहना हुँदाहुँदै पनि सबैलाई प्राप्त हुँदैन । प्रत्येक मानिसको उत्तिकै परिश्रम हुँदाहुदै पनि एकै परिमाणमा सफलता प्राप्त हुँदैन । यसैगरी देशमा पनि यही कुरा लागू हुन्छ । कुनै पनि देशको सफलतामा इमानदारिता, दूरदृष्टि र प्रतिबद्धता साथमा भ्रष्टाचारमुक्त कर्मचारीतन्त्र रहनु आवश्यक रहन्छ ।
यी तत्त्वहरू रह्यो भने कुनै मानिस त के भगवानले पनि सफलताबाट रोक्न सक्दैनन् । ०६३ सालको जनआन्दोलनबाट सफलता प्राप्त गरेपछि नयाँ नेपाल बनाउने सपना हामीले पाएका छौं र देख्यौं पनि । तर आज खोइ हाम्रो सपनालाई कहाँ बज्र पर्‍यो ? हामी अलमलिन थाल्यौं । प्रधानमन्त्रीले पटक-पटक दिएको अभिव्यक्ति 'म कन्फ्युजमा छु' भन्ने वाक्यले हामीलाई झन् सोच्न बाध्य बनाइरहेको छ । के जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान सत्य सावित हुन आँटेको त होइन ?