याँ नेपालको गफ हाँक्दा हाँक्दै सिंगो नेपाल अन्धकारमय बनेको छ। ब्राजिलपछि जलस्रोतको दोस्रो धनी मुलुक भनेर चिनिने हामी नेपालीका लागि यो भन्दा दुर्भाग्यको कुरा अरु के हुन सक्छ? नेपालसँगै प्रजातान्त्रिकरणको युगमा प्रवेश गरेका मुलुकहरु विकासका गतिले कहाँ पुगिसके? तर, हामी नयाँ नेपालको गफ हाँक्दाहाँक्दै टुकी युगमा फर्कदैछौं। यस्तो स्थिति आउनुका पछाडि हाम्रा शासकहरु जिम्मेवार छन्। शासकहरुमा मुलुक र जनताप्रति अलिकति मात्रै जिम्मेवारबोध हुन्थ्यो भने हामी यो स्थितिमा पुग्ने नै थिएनौं।
अझै पनि हाम्रा शासकहरुमा देश बनाउनुपर्छ भन्ने चेतना जागेको देखिँदैन। यदि त्यस्तो चेतना जागेको भए उद्योग कलकारखाना बन्द हुने अवस्था नै आउने थिएन। मिडियामाथि आक्रमण गर्नेहरुमाथि कारवाही हुन्थ्यो। वीरेन्द्र साहका हत्याराहरुको मुद्दा फिर्ता नै हुने थिएन। रामहरिका हत्याराहरु मन्त्रीका वरपर होइन जेलका चिसा छिडीमा हुन्थे होलान्। तर, दुर्भाग्य कानुनी राज्यको खिल्ली उडाउने काम स्वयं माओवादी सरकार र तिनका कार्यकर्ताबाट हुन थालेको छ।
जब सरकार नै कानुनी राज्यको खिल्ली उडाउने काममा लाग्छ भने जनताले कसबाट शान्ति सुरक्षाको अपेक्षा गर्ने? लोकतन्त्र, कानुनी राज्यको पहिलो शर्त भनेकै शान्ति बहाली हो। त्यो बिनाको देश अराजकता, हत्या, हिंसा र आवाराहरुको देश बन्न जान्छ। कताकता अहिलेको स्थितिलाई अध्ययन गर्ने हो भने हामी अराजकतातिर उन्मुख हुँदै गइरहेका छौं। एउटा सामान्य माओवादी समर्थित मजदुरले पनि प्रधानमन्त्री, अर्थमन्त्री, श्रममन्त्रीले भनेको कुरा टेर्न छाडेको छ। अझै ठूलोठूलो स्वरमा तिनै माओवादी कार्यकर्ताहरुले को हो प्रचण्ड?! को हो बाबुराम?! भनेर आफ्ना मालिकहरुलाई धम्क्याउन थालेका छन्। यो भन्दा लाजमर्दो कुरा प्रचण्ड–बाबुरामका लागि अरु के हुनसक्छ? अनि त्यस्ता अराजक पार्टीका नेता र सरकारबाट नेपाली जनताले के अपेक्षा गर्ने? यो गम्भीर प्रश्न हो। यसो भन्दा माओवादी नेताहरुलाई नपच्न सक्छ। तर, यो स्थितिलाई उनीहरुले सुधार्न सकेनन् भने उनीहरु अरुका कारणले होइन, आफ्नै कारणले पतन हुनेछन्।
कुरै कुरामा धेरैले यो देश बर्बाद हुनुमा माओवादी जनयुद्धलाई दोष दिएका छन्। हुन पनि सत्य यही नै हो। १२ वर्षे जनयुद्धका नाममा माओवादीले अर्बौ अर्बको भौतिक संरचनाहरुको नष्ट गरे। कयौं पावरहाउसहरु बमले उडाए। कतिपय निर्माणाधीन जलविद्युत आयोजनाहरु बन्द गरे। चन्दा आतंक मच्चाए। जसका कारण जलविद्युतका क्षेत्रमा कसैले लगानी गर्ने आँट गर्न सकेनन्। यो अन्धकार, लोडसेडिङ हुनुको पछाडी माओवादी पनि जिम्मेवार छन्। अब माओवादी गैरजिम्मेवार बन्न मिल्दैन। माधव नेपाल अथवा गिरिजाप्रसाद कोइरालालाई दोष दिएर प्रधानमन्त्री प्रचण्ड उम्कन मिल्दैन। सकिन्छ भने एमाले र कांग्रेसले गर्न नसकेका कामहरु उसले गरेर देखाउनुपर्छ। सकिन्न भने उनीहरुसँग सहकार्य गरेरै भए पनि मुलुकलाई निकास दिनुपर्छ।
ऐनमा जस्तो अनुहार छ, त्यस्तै आकृति देखिन्छ। नेपाली जनताले अहिलेसम्म धैर्य गरेर प्रचण्डको बाटो कुरिरहेका छन्। त्यो धैर्यताको बाँध फुट्यो भने क–कसलाई बगाउँछ, थाहा छैन। किनभने विश्व इतिहासले पटक–पटक प्रमाणित गरिदिएको छ– जनता नै अजय शक्ति हुन् भन्ने कुरा।– शम्भु श्रेष्ठ