कमल भट्टराई
मनासस भर्जिनिया, अमेरिका
अगस्ट ०६, २००८
हाम्रो नेपालमा बिभिन्न जनजाति, आदिवासी, मधेसी र दलित सबैको आ-आफ्नै खालको मौलिक संस्कृति, भाषा र भेषभूषा कति राम्रा छन्,बयान गरि साध्य छैन। त्यसलेनै,हाम्रो देश चार जात छतीस वर्णको सुन्दर बघैंचा हो। हालै कस्तो अदभुत संयोग भयो ,नेपालमा। राष्ट्रपति र उपराष्ट्रपति दुवै तराईका । तर, एउटाले राष्ट्र भाषा नेपालीमा, अर्कोले हिन्दीमा सपथ लिए ।राष्ट्रपति र उपराष्ट्रपतिले सिंगो राष्ट्रलाई प्रतिनिधित्व गर्छ न कि कुनै एक क्षेत्र वा पार्टीलाई ।
खुल्ला सीमावर्ती क्षेत्रका कारणले थोरै अंशमा प्रभाव देखिए पनि तराईवासीको प्रिय भाषा हिन्दी कहिल्यै रहेन, रहने छैन र रहन दिनु पनि हुन्न । तराईबाट प्रतिनिधित्व गर्ने मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपा र सदभावनालगायतका दलको हिन्दी भाषाप्रतिको मोह देख्दा मलाई आर्श्चर्य लाग्छ । आखिर के का लागि ? भोट कि नोटका लागि ? उनीहरू हिन्दी बोलेर कसलाई खुसी पार्न खोजिरहेका छन् ? जातीय एवं राष्ट्रिय पहिचानका लागि भोकभोकै बसेर तराई आन्दोलनमा सहभागी भएका नेपालीलाई खुसी पार्न त पक्कै होइन - मधेसवादी नेता हिन्दी बोल्नमा गर्व गर्छन्, तर आम तराईवासीले बोल्ने मैथिली, भोजपुरी, अवधिलगायतका भाषा बोल्न हिचकिचाउछन् किन?? यस्तो मानसिकता बोकेका दलले कसरी तराईवासीलाई देशको मूलधारमा ल्याउलान् र उनीहरूको राष्ट्रिय पहिचानको संरक्षण गर्लान्? उनीहरूको प्रयास त तराईवासीलाई भारतीय, विहारी र भैया भनेर चिनाउनेतिर केन्द्रित देखिन्छ ।
०६४ साल असोज ६ गते राति लाखौं लाखौं करौडौं भारतीयहरूको आशाविपरीत प्रशान्त तामाङ इन्डियन आइडल २००७ घोषित भए । त्यसदिन प्रशान्त तामाङले सारा संसारका अगाडि वीर पर्खाहरूप्रति समर्पित गरेर गाएको नेपाली गीतले म आफू एउटा नेपाली भएकामा निकै गर्व महसुस गरेको थिए। प्रशान्त तामाङ इन्डियन आइडल घोषित भएलगत्तै सम्पूर्ण भारतीय दर्शकका अगाडि उनकी आमाले खुकुरी अंकित नेपाली ढाकाटोपी प्रशान्तलाई पहिर्?याउदा मेरो शिर गर्वले सगरमाथाझैं ठाडो भएको थियो। उनीहरूलाई त्यहा नेपाली गीत गाउनुपर्ने, नेपाली ढाकाटोपी लगाउनुपर्ने कुनै आवश्यकता थिएन किनकि उनीहरू त्यहा नेपालको प्रतिनिधित्व गरेर गएका थिएनन् ।
उनीहरू त एउटा भारतीयकै रूपमा भारतकै आइडल बन्न गएका थिए तर 'जे गर जसो गर जहा सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो' भनेझैं उनीहरूको मनमा नेपाल र नेपालप्रतिको माया भिजेको थियो।हाल विश्वका बिभिन्न कार्यक्रममा तथा म सहभागि भएको डि सि कार्यक्रममा आफू नेपाली हो भन्ने गर्व गरेका थिए ऊनले। त्यसविपरीत हाम्रा उपराष्ट्रपति जो सग नेपाली नागरिकता छ नेपाली र नेपालको प्रतिनिधित्व गर्दछन्, उनलाई नेपालको राष्ट्रिय पोसाकमा सजिदा र नेपालीमा शपथ लिदा अप्ठ्यारो लाग्नु बुझ्नै नसकिने कुरा हो ।
परमानन्दझाले हिन्दीको ठाउमा मैथिलीमा सपथ पढेको भए, सारा नेपालीको मनमा मातृभाषाप्रति सम्मान बढ्थ्यो, सबैले गर्व गर्ने ठाउ पाउथे र सहानुभुति पनि राख्दथे । उपराष्ट्रपतिले आफूसम्बद्ध जनअधिकार फोरमको नीति अनुरूप हिन्दी बोलेको भनेर तर्क देलान् । उनी फोरमको उम्मेदवार भए पनि तराई, पहाड र हिमाल सबै क्षेत्रका सभासदको मतले उपराष्ट्रपति भएका हुन् । यो एउटा राष्ट्रको अभिभावक पद भएकाले उनी कुनै एक दल र समुदायलाई नभएर समग्र राष्ट्रलाई प्रतिनिधित्व गर्छन् । मातृभाषा बोल्न लाज लाग्छ भने अन्तराष्ट्रिय भाषा अग्रेजीमा सपथ लिएको भए पनि अलि राम्रो हुन्थ्यो। राष्ट्रपति भवन, संसद र सिंहदरबारजस्तो गरिमामय ठाउमा बस्ने मान्छेले छिमेकी मुलुकको राष्ट्रभाषा बोलेर सम्पूर्ण देशवासीलाई चिढाउने र लज्जित पार्ने काम कदापि स्वीकार्य हुन्न ।
तराईवासी नेपाली आफ्नो पहिचान र राष्ट्रियताको लडाइमा सहिद भएका हुन्, न कि नेपालमा हिन्दी भाषाको प्रचारप्रसारका लागि ।यस्तो महान पदमा निर्वाचित व्यक्तिले संकुचित बिचार लिई आफ्नो राष्ट्र् र राष्ट्रियतालाई विर्सिएर आफ्नो मातृभाषाको समेत अपमान हुने गरी बिदेशी भाषाको सहारा लिदासमेत हाम्रा नयाँ नेपालका राष्ट्रिय पार्टिहरुले खेदप्रश्ताव सेमत पारीत नगर्नुलाई के भन्ने? आम-जनताले जसरी परमानन्दझाको अभिव्यक्तिको विरोधमा सडकमा आएर स्वतस्फूर्त प्रदर्शन गरेका छन्, त्यसले अबका दिनमा राष्ट्रियता र अखण्डताको विरोधमा लाग्ने कसैलाई नेपाली जनताले त्यसै छाड्ने छैनन् भन्ने प्रमाणित गरिदिएको छ। जे होस् आन्दोलनको राप बढ्दै गएपछि उनी जनताका सामु जवाफदेही बन्न बाध्य भएका छन्। यद्यपि, उनले आफूले गल्ती गरेको महसुस गरेका छैनन् र घुमाउरो ढंगले 'जे गरें, ठीकै गरेको छु' भन्ने आसयको अभिव्यक्ति दिएका छन्। तसर्थ,उनलाई सबै दल मिलेर तुरुन्तै गलत्याएर राजिनामा दिलाउन सक्नुपर्छ।
अर्कोतर्फ देशमा अहिलेसम्म नयाँ सरकार गठन हुन सकिरहेको छैन। गतिरोध अन्त्य गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दलको सहमतिमा प्रमुख तीन दलले पहलकदमी गर्नुपर्ने हो। अझ ठुलो दलको हैसियतले नेकपा (माओवादी)ले सरकारको नेतृत्व गर्न पहलकदमी गर्न जरुरी छ। तर, उल्टै ऊ आफैं अन्य दलका सामु शर्त तेर्स्याउर गतिरोध लम्ब्याउन उद्दत बनिरहेको छ। सहमतिको राजनीतिबाट मुलुकलाई अगाडि बढाउन चाहने हो भने सहमतिका निम्ति प्रशस्त आधार छन्। तर, माओवादीका व्यवहारले ऊ सहमतिको राजनीति चाहन्छ वा एक्लौटी आतंक सिर्जना गर्न चाहन्छ?
भन्ने प्रश्न उब्जाएको छ। आफ्ना तर्क र अडान नै सबैभन्दा उत्कृष्ट छन् भन्ने सोच राख्ने हो भने मुलुक सहमतिका आधारमा अगाडि बढ्न सक्दैन। सहमतिका निम्ति अरूका कुरा पनि सुन्ने र सबैलाई मान्य हुने आधार खोज्नेतर्फ लाग्नुपर्छ। राष्ट्रपति यादवले माओवादीलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि दिएको सात दिनको समय बितेपछी पून: तीनदिनको समयावधि थपेका छन् । आशा अनि विश्वास गरौ यो अबधिमा नयाँ सरकार बन्नेछ। राजनीतिक गतिरोध लम्बिएमा देशमा अराजकता बढ्ने, अनिश्चय र असुरक्षाको वातावरण जन्मिनेमात्र नभई यो वा त्यो बहानामा बाहिरी शक्तिकेन्द्रहरू निर्णायक बन्ने खतरा बढ्नेछ। कतिपय मामलामा अहिलेपनि बाहिरी शक्तिकेन्द्रहरूले दबाब दिएर स्पष्ट चलखेल गरिरहेका छन्।
देशमा सरकारको उपस्थिति छ कि छैन नै प्रश्नचिन्ह उब्जिएको छ। त्यसैले समस्याको समाधान निकालेर मुलुकलाई स्थायित्व दिने हो भने छिटोभन्दा छिटो सम्पूर्ण दलहरू सहमतिमा पुग्नैपर्छ,सहमतिकै सरकार बनाउनुपर्छ र जनतालाई राहत दिने कार्यको घोषणा गर्नुपर्छ। हाम्रो मुलुकमा यति बेला त्यही प्रतिबद्धता एवं देश र जनताप्रतिको इमानदारी आवश्यक परेको छ ।
अझै पनि सहमति, समझदारीको राजनीति छोडेर बहुमत एवं अल्पमत सरकार निर्माणको कुरा गर्नु देशको लागि घातक हुन्छ । त्यसैले जनताप्रति इमानदार बन्ने र मुलुक निर्माणप्रतिको प्रतिबद्धता व्यक्त गर्ने हो भने त्यसअनुरूपको आचरण व्यक्त गर्नैपर्छ र सहमतिकै सरकार निर्माण गर्नेतर्फ सबै दलहरू जुट्नु आवश्यक छ।अस्तु