Monday, December 8, 2008

प्रधानमन्त्रीलाई खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्रीज्यू !नेपाल सरकार-नमस्कार
सर्वप्रथम साम, दाम, दण्ड, भेद प्रयोग गरेर संविधानसभामा सबैभन्दा ठूलो पार्टी बनि सरकारको नेतृत्व गर्न आइपुगेको नेकपा माओवादी नेतृत्वको सरकारले सयदिन पूरा गरेकोमा हजुरलाई मुरी मुरी बधाई! तथा तपाईंको भित्री मनलाई थाहा भएको कुरा-एकपटक माओवादीलाई पनि हेरौ भनेर जनताले तपाईंलाई प्रधानमन्त्री बनाएका हुन भन्ने नबुच्पचाउन अनुरोध पनि।नयाँ नेपाल निर्माणका लागि सिंगो मुलुक जुर्मुराइरहँदा विदेशमा रहेका नेपालीहरुमा उत्साहको सीमा छैन । तर पछिल्लो समयमा देशमा बढेको बारम्बार हत्या-हिंसा, अपहरण,घर जग्गा कब्जा घटनाले मलाई चिन्तित तुल्याएको छ ।भनिन्छ, नानीदेखि लागेको बानी छुटाउन गाह्रो हुन्छ त्यही भएरै होला जनयुद्ध वेला देखि सर्वसाधारणको अपहरण,चन्दा आतंक , हत्या, घरजग्गा तथा सम्पत्ति कब्जा ,धम्की जंगलदेखि सदन हुदै सरकारसम्म पुग्दा पनि चरित्र र व्यवहारमा सुधार आउने संकेत अझै पनि तपाईंमा देखिएको छैन । यस्तो किन??तपाईंको सरकारले कुनै पनि क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउन सकेको छैन।वाईसीएलले हत्या र हिंसालाई निरन्तरता दिएकै छ कब्जा गरिएका घर जग्गा फिर्ता गरिनु कता हो कता क्षतिपूर्ति राज्यले दिने भन्ने कुरा स्वयम तपाईं भन्नुहुन्छ। वाईसीएल कानुन मान्न तयार छैन वा एकतन्त्रीय तानाशाही चाहन्छ भन्ने स्पष्ट हुन्छ त्यसमा पनि सत्ताको नेतृत्व गरिरहेको तपाईंको पार्टी प्रत्यक्ष-परोक्ष रुपमा त्यस्ता घटनाहरुमा संलग्न हुनुले नयाँ नेपाल निर्माणको नारामा सन्देह पैदा भएको छ ।यसको अर्थ हो माओवादीका ज्यादतीलाई छुट र त्यसको दण्डचाहिँ राज्यले भोग्नुपर्ने।यो भन्दा अचम्मको अर्को विषय केही छ?प्राकृतिक प्रकोपबाट पीडितहरुलाई त राज्यले क्षतिपूर्ति दिन सकेको छैन भने माओवादीले उत्पन्न गरेको विपत्तिलाई राज्यले कसरी धान्ला ए भगवान?
प्रचण्ड कमरेड- मुलुकको समग्र शासनप्रणालीलाई जनमुखि बनाउने र देशलाई सकारात्मक संक्रमणको दिशामा बदल्ने जिम्मा इतिहासले आफ्नो काँधमा सुम्पेको छ भन्ने कुरा यो सरकारले बुझेन। एकातर्फ हत्या गरिएका बाराका पत्रकार वीरेन्द्र शाह र कोटेश्वरका व्यापारी रामहरिका नातागोतालाई अझै धम्की आइरहेको छ भने अर्कोतर्फ भर्खरै कलंकीका युवा निर्मल पन्त र पुष्कर डंगोलको वाईसीएलले अपहरणपछि हत्या गरेका छन् शव गाडिएको अवस्थामा फेला परेको छ ।यसमा वाईसीएलको संलग्नता रहेको पुष्टि भइसकेको छ । यसको अर्थ व्यक्ति हत्या सरकारका लागि जायज थियो भन्ने बुझिन्छ । यो वाईसीएल ज्यादतीको पराकाष्ठा होइन -यी सब कुकृत्यहरू निरीह गृह प्रशासनले टुलुटुलु हेरिरहेको छ।जनताको सुरक्षाको ग्यारेन्टी लिनुपर्ने दलको भ्रातृ संगठनबाट भएको जघन्य अपराध लुकाउन सरकार पछि प्रदैन किन प्रम ज्यू? प्रम साहेब-के वाईसीएल अपराध गर्ने वैधानिक लाइसेन्स बोकेको जत्था हो् ? होइन भने उनीहरूको व्यवहार लोकतान्त्रिक र कानुनसम्मत हुनुपर्‍यो । वाईसीएलकै कारण कतै तपाईंको पार्टी माओवादी पतन हुने त होइन ?चाडै बुझ्नुहोस है प्रम प्रचण्ड।
तराईका जिल्लाहरुमा दिनप्रतिदिन असुरक्षा बढेकोछ ।वाईसीएलले तराईमा किसानका धान लुटिरहेका छन् ।जनताहरु मारिने, अपहरित हुने क्रम बढ्दो छ । सशस्त्र समूहका नाममा अपराधिक गतिविधि गर्नेहरु मौलाउन थालेका छन् । छ महिनाभित्र शान्ति सुरक्षा बहाल गर्ने सरकारको दाबी हावादारी सावित हुँदै गएको छ । सशस्त्र समूहसँग गर्ने भनिएको वार्ता पनि हल्लामा मात्र सीमित भएको छ । देशमा असुरक्षाको वातावरणका कारण हामीलाई चिन्तित बनाएको छ । यसले नेपालमा लगानीका लागि इच्छुक प्रवासी नेपालीलाई सतर्क गराएको छ । विदेशमा आर्जन गरेको सम्पत्ति स्वदेशमा लगानी गर्ने हाम्रो उत्साह सेलाएको छ । यसले नेपालमा आर्थिक क्रान्ति गर्ने सरकारको नारा नारामा मात्र सीमित हुने खतरा बढेको छ।
सरकारको १०० दिनको अवधि भित्रै पूर्व सहमतिहरुमाथि बारम्बार प्रश्नहरु उठ्नु, १२ बुँदे समझदारी पालना नहुनु ,आफ्ना लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने सुगा रटान गर्नुले सरकारका महत्वपूर्ण जिम्मेवारीमाथि नै अहिले गम्भीर प्रश्न उठिसकेको छ। दुई वर्षभित्र नयाँ संविधान बनाउने जिम्मेवारी संविधानले तोकेको सीमाभित्रै सम्पन्न हुन्छ भनी जनतालाई आश्वस्त तुल्याउन नसक्नु र देशमा शान्ती,सुरक्षा र अमन चैन कायम बिफल हुनुनै तपाईंको सबैभन्दा पहिलो ठुलो कमजोरी हो।

तपाईंका सत्ताको सय दिन अत्यन्तै निराशपूर्ण ढंगबाट बितेका छन्। दिनहुँजसो व्यक्ति हत्याको श्रृंखला बढ्दो छ। जनताले सधैं असुरक्षाको महसुस गरिरहेका छन्। इमान, जमान,राजनीति सिद्धान्त जनता र मुलुक केही होइनन् आफू र मेरो पार्टी भनेर तपाईं सरकारमा गएको हो भने त ठिकै छ, होइन दशौं हजार शहीद, राष्ट्र,अशिक्षा, युद्धका अपांग तथा गरिबीको रेखामुनिका जनताका विषयमा पनि तपाईं जवाफदेही हुने हो वा होइन?माओवादी समर्थक भएकै आधारमा योग्यता नभएको व्यक्तिलाई शिक्षक बनाउने, परीक्षामा सामेल नभइकन बाहुवल देखाएर सर्टिफिकेट माग्ने, कोशी पीडितका औषधी आफ्नो क्लिनिकमा लगेर बेच्ने जस्ता क्रियाकलापले विशेषतः माओवादी क्रमशः बदनाम हुँदै गएको छ भन्ने तपाईंले कहिले बुझ्ने?तपाईंबाट जनताले धेरै आशा राखेका थिए -प्रचण्ड कमरेड आफ्नो धरातल नबिर्सनुस है।अन्यथा,जनतामा तपाईंको छवी चिल्लो गाडी र महँगो घडी,पलङ प्रयोग गर्ने, छोराछोरी, ज्वाइँ आफन्त सबैलाई विदेश सयर गराउने र आफू अनि आफ्नो पार्टिलाई मात्र सेवा गर्ने-अवसरवादी प्रचण्ड हुनेछ।
अन्तमा,प्रम प्रचण्ड जि अहिलेसम्म तपाईंको सरकारले दुईवटा मात्रै साह्रै काम राम्रा काम गर्नुभएको छ। ती हुन'नीति तथा कार्यक्रम नयाँ शैली- क्रमभङ्गता' र 'ठूलो आकारको बजेटको प्रस्तुति'।तर,यी दुवै काम सरकारको नियमित कामभित्रै पर्ने भएकाले सरकारले आफूले ती काम गरें भन्ने दाबी गर्नु नै ब्यर्थ छ।प्रशासन संयन्त्र जनमुखी हुन नसक्दा जनताले विगतजस्तै सास्ति भोगिरहेकै छन्, बढ्दो महंगीले जनता उत्तिकै आक्रन्त छन् तपाईंलाई थाहा छ कि छैन कुन्नी? राजनीतिक क्षेत्र बिग्रिएर नै सबै क्षेत्र लथालिङ्ग भएको हो-नेपालमा। त्यसैले सबभन्दा पहिले शिक्षा पद्धतिमा सुधार अनि राजनीतिक क्षेत्रमा आमूल परिवर्तन , राजनीतिक कार्यकर्ता, नेता, शासक-प्रशासक गैरउत्तरदायी कुरा गर्दै हिँड्ने परम्परालाई पूर्णतः नियन्त्रण गरिनु पर्ने हुन्छ कि । अन्यथा, नेपाली जनतालाई गणतन्त्र 'कागलाई बेल पाके' सरी हुनेछ। सरकार संचालक पार्टीहरुलाई सुन्दर शान्त,बिश्वमा नेपाल चिनाउन हातमा हात राखी, कसम खाई, एक जुट भई काम गर्नेहो भने विस्तारै देशले काचुली फेर्नेछ भनेकुरा बुझ्नुपर्‍यो र बुझाउनु पर्‍यो होइनर प्रम ज्यू ? आम जनताले महशुश हुने परिवर्तनको आकाक्षा आजैबाट गरेका छन,न कि तपाईंको चिप्लो भाषण अनि आश्वासन मात्र ।

कमल भट्टराई मनासस-भर्जिनिया