Monday, December 22, 2008

गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति निर्वाचन

कमल भट्टराई
जुलाई २३, २००८
आम जनताका छोराछोरी मुलुकको सर्वोच्च राष्ट्रप्रमुख पदमा पुग्ने कुराको कल्पना गर्नु केही वर्षअघिसम्म हास्यास्पद मानिन्थ्यो। जनताका छोराछोरी पुग्नसक्ने सर्वोच्च पद प्रधानमन्त्रीको मर्यादाक्रम पञ्चायती व्यवस्थामा ३४ औं नम्बरमा थियो,२०४६ सालमा प्रजातन्त्र आइसकेपछि सो क्रम नवौं नम्बरमा उक्लियो। लोकतान्त्रिक आन्दोलन २०६२/६३ ले जनताका छोराछोरीलाई मुलुकको सर्वोच्च स्थानमा पुग्ने बाटो खोलिदियो। राष्ट्रपति पद रहने र जनताले छानेको व्यक्ति त्यो पदमा पुग्ने व्यवस्था कायम भयो।

विश्वमा राष्ट्रपति पद राष्ट्रिय एकताको प्रतीकका रूपमा मानिँदै आएको छ। विवादित पृष्ठभूमि नभएको सर्वस्वीकार्य व्यक्तिलाई राष्ट्रपति बनाउने प्रचलन संसारका प्रजातान्त्रिक मुलुकहरूमा रहेको पाइन्छ। एकातर्फ सात कक्षामा पढ्दा साथीको कलम चोरेको पृष्ठभूमि भेटिएका कारण अमेरिकाको डेमोक्रेटिक पार्टीले आफ्ना लोकप्रिय नेतालाई राष्ट्रपति पदको उम्मेदवार नबनाएको र अर्कोतर्फ नेताहरू बहुविवाह गरेकै कारण राष्ट्रपति पदको उम्मेदवार बन्नबाट वञ्चित भएका नजिर पनि छन्। निर्विवाद र कलंकरहित पृष्ठभूमिका राजनेता दुर्लभ हुने भएकाले राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था कायम राख्नुपर्ने तर्क पनि संसारमा अझै जीवित छ। यस्तो अवस्थामा भर्खरै गणतन्त्र स्थापना भएको मुलुक नेपालले राष्ट्रपतिजस्तो गरिमामय पदमा कि राजनेतालाई पुर्?याउन सक्नुपर्थ्यो, राजनेता नपाए सर्वस्वीकार्य व्यक्तित्वलाई पुर्?याउन सक्नुपर्थ्यो, सर्वस्वीकार्य व्यक्तित्व नभेटिए राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्?याएको र जनताका नजरमा नगिरेको नागरिक समाजको अगुवालाई त्यो पदमा पुर्?याउन सक्नुपर्दथ्यो। तर उमेर अवस्थाका कारण इन्द्रीयहरू पनि शिथिल भइसकेको रामराजाप्रसाद सिंहजस्तो व्यक्तिलाई राष्ट्रपतिजस्तो गरिमामय पदमा पुर्?याउन माओवादीले ज्यादै तल ओर्लिए ।काङ्ग्रेसले पटक-पटक प्रधानमन्त्री बनेका वयोवृद्ध गिरिजाबाबुलाइ नै राष्ट्रपति बनाउने अन्तिम इच्छा प्रकट गर्नु अनि एमालेले जनता द्वारा पराजित माधवजीलाइ अघि सार्नु।

गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति निर्वाचनको पहिलो चरणमा कसैले पनि स्पष्ट बहुमत ल्याउन सकेन । तर पनि यो इतिहासकै गौरवको दिन हो । यो निर्वाचनले केही नकारात्मक पक्ष पनि उजागर गरेको छ । पहिलो,राष्ट्रपति निर्वाचनमा २५ मत बदर हुनु,मलाई भित्रभित्रै लाज लागेर आउछ हाम्रा सभासददेखि । ४ दशमलव २ प्रतिशत सभासदलाई मत खसाल्न पनि आउदो रहेनछ । संविधानसभा निर्वाचनताका मतदाता शिक्षाको कमी भए पनि हुम्ला र जुम्लाजस्ता जिल्लाका मतदाताले खसालेको मतमध्ये क्रमशः २ दशमलव २ र ३ दशमलव १ प्रतिशत मात्र बदर भएका थिए । यी सभासदको भीडलाई शिक्षित अनि व्याबहारिक बन्न लाजै नमानि क्लास सुरु गर्नै जिम्मा आ-आफ्नो पार्टिले लिनु पर्छ। ।दोश्रो,यसले दलहरूबीच सहमतीय प्रणाली समाप्त गरेको छ । राजनीतिमा पुनः गणितीय खेल हाबी भएको छ । यसले नया मन्त्रिमण्डल गठन र संविधान लेखनमा समेत नकारात्मक प्रभाव पार्ने निश्चित छ।

पार्टिहरुमा आम सहमति नबनेपछि अनौठो संयोग बन्यो,राष्ट्रपति निर्वाचनमा । तीन ठूला दलले तीनै नेता मधेसी समुदायबाट मात्र उठाएनन्, उपराष्ट्रपतिमा समेत गठजोड गरेर मधेसी नेतालाई नै जिताए । यो गठबन्धनलाई अप्राकृतिक वा असान्दर्भिक मानिए पनि यसको नियत सफा भए यसले नयाँ युगमा मुलुकलाई सफलतापूर्वक नेतृत्व दिनेछ । माछो-माछो भ्यागुतो' कुल मतदाताको २३ प्रतिशत मत ल्याएको एमाले र २० हजारभन्दा बढी मत ल्याएका माधवकुमार नेपाल 'हरुवा' भनेर माओवादीबाट अपमानित गरिए । त्यसैले माओवादी र एमालेबीच सहमति र सम्बन्ध स्थापित भई गर्भाधान प्रक्रियाबाट भ्रुण बनिसकेको राष्ट्रपति पद बीचैमा तुहाइयो । भ्रुणहत्याको अभियोगमा एमाले र माओवादीलाई कमी-कमजोरी छुट्टयाई कम्युनिस्ट कार्यकर्ताले समयक्रममा दोषअनुसारको कारबाही गर्ने नै छन् । 'कम्युनिस्टको शत्रु कम्युनिस्ट' भन्ने प्रमाण हो यो घटना ।

नेपालीमा एउटा उखान छ- भाग्यमानीको भूतै कमारो । यो उखान अहिले कसैमाथि लागू हुन्छ भने ति भाग्यमानी व्यक्ति हुन्- रामवरण यादव उनलाई मेघामिलियन परेको छ।गृहजिल्ला धनुषाबाट पटक-पटक चुनाव जित्दै आएका यादव राष्ट्रपति पदको चुनाव पनि सजिलै जित्न सफल भएर अहिले नेपालकै सबभन्दा भाग्यमानी व्यक्ति भएका छन् । गजब छ, राजनीतिक खेल । यसमा ठूलठूला विश्लेषक पनि फेल भए । पछिल्लो दुइ महिनादेखि राष्ट्रपति पदको निम्ति तछाड-मछाड भइरहेको नामावलीमा कतै कहींबाट नसुनिएको नामले अचानक राष्ट्रपति पद हात पार्नुले के बुद्धिजीवी, के विश्लेषक, के राजनीतिकर्मी सबैलाई तीनछक्क पारेको छ । रामवरणजी राष्ट्रपति हुनेछन् भन्ने कसैले अड्कलसमेत गरेका थिएनन् । स्वयम् रामवरणले पनि यस्तो हुन्छ भन्ने सोचेका होलान?क-कसले के-के दाउपेच गरेनन् यो ऐतिहासिक पदनिम्ति, तर पूर्पोरोमा लेखेको पनि त हुनुपर्दो रहेछ नि ।

जेहोस,मुलुकले बल्ल राष्ट्रप्रमुख पाएको छ । त्यो पनि गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको रूपमा। बाध्यात्मक गठबन्धनले सर्बोपरि राष्ट्रपति पदमा निर्वाचित गराएर तराईका पुराना कांग्रेसी डा.यादवलाई ऐतिहासिक जिम्मेवारी सुम्पेको छ- तराई-पहाड-हिमालको एकसाथ मुहार उज्यालो बनाउन सेतुको भूमिका निर्वाह गर्ने । विगतमा अपहेलित मधेस एकैचोटि राज्यसत्ताको सर्बोच्च पदमा पुग्दा यतिबेला मधेस मात्र मुस्काएको छैन, सर्बसाधारण,अपहेलित, पिछडिएका सबै तप्का र वर्गमा खुसीको सञ्चार भएको छ । विगत तीन महिनाको राजनीतिक अवरोधको अन्त्य गरी राष्ट्रपतिजस्तो गरिमामय पदमा नयाँ नेपालका प्रथम राष्ट्रपति बनेर जुन ऐतिहासिक गौरव रामवरणजीले प्राप्त गर्नुभएको छ, त्यसका निम्ति म कमलको पनि हार्दिक बधाई !कार्यसफलताको मुरीमुरी शुभकामना!!!

कमल भट्टराई मनासस-भर्जिनिया
(bhattaraikamal1973@gmail.com)