Monday, December 22, 2008

क. पुष्पकमललाई बधाई र सुझाव

अगस्ट २३, २००८
पुष्पकमल दाहालको 'गणतान्त्रिक नयाँ नेपालको प्रथम राष्ट्रपति' हुने धोको पूरा नभए पनि गरिमामय प्रथम प्रधानमन्त्री हुने सपना पूरा भएको छ । प्रम प्रचण्डले पद तथा गोपनीयताको शपथ खादा राष्ट्रिय पोसाकमा थिएनन् । उनले कोट-पाइन्ट, सर्टमाथि टाई झुन्ड्याएका थिए । यसले मेरो दिमाग केही खल्लो बनायो । तर, यसमा प्रचण्डको कुनै दोष छ वा छैन? हाम्रो अन्तरिम संविधानमा राष्ट्रिय पोसाक कस्तो बेला लगाउने, शपथग्रहणमा कस्तो पोसाक लगाउने भन्ने स्पष्ट व्यवस्था छ वा छैन मलाई थाहा छैन तैपनि,उनले राम्रो भने पक्कै गरेनन। उपराष्ट्रपतिले शपथ खाँदा लगाएको पोसाकबारे जुन विवाद उठ्यो, यस सन्दर्भमा हेर्दा प्रचण्डको यस पोसाकलाई मान्यता दिनु उचित कि अनुचित भन्ने स्वाभाविक प्रश्न उठेको छ । कम्तीमा पनि हाम्रो देशको औपचारिक पोसाक के हो ?आम जनतालाई थाहा हुनु पर्छ वा पर्दैन? त्यसैले कस्तो बेला कस्तो पोसाक अनिवार्य गर्ने भन्ने विषयमा निश्चित कानुनी व्यवस्था गरिन अत्यन्त जरुरी हुन्छ जस्तो लाग्छ मलाई।

प्रधानमन्त्री निर्वाचित हुनुभएकामा मुरी मुरी बधाई । तर तपाईंसामु सबैभन्दा जटिल चुनौती युवाशक्तिको व्यवस्थापन र परिचालन नै हुनेछ । बेरोजगारी समस्या, वैदेशिक रोजगारमा निर्भरता, प्राविधिक एवं दक्ष जनशक्ति सिर्जनाका लागि गुणस्तरीय शिक्षाप्रणालीको अभाव, विभेदपूर्ण शिक्षानीति, महँगो शिक्षा , नाताबाद-क्रिपाबाद आदिका कारण आम युवावर्ग निराश हुँदै गएको छ ।देशको आर्थिक एबम सामाजिक स्थीति ज्यादै नाजूक छ। यस्तो जटिल र चुनौतीपूर्ण बाटोबाट माओवादीले सबै वर्गलाई समेटेर शान्तिपूर्ण रूपमा मुलुकलाई सहज अवतरण गराउन त्यति सजिलो पक्कै छैन ।

पुष्पकमल दाहाल आफैंले बालेको आगोको भुङ्ग्रोमा टेकेर मुलुकको शासनभार सम्हाल्दै त छन् तर उनलाई आफैंले पटक-पटक विश्वासघात र धोका दिएको दलको सहयोग र साथ लिएर सत्ता टिकाउन र काम गर्न सजिलो भने हुनेछैन अर्कोतर्फ माकुराका बच्चाले आफनै आमालाई खाएजस्तै उनलाई उनकै अनुशासनहीन, अराजक, उद्दण्ड र छाडा वाइसिएल कार्यकर्ताले नखालान् भन्न पनि सकिन्न । अराजक संगठन र कार्यकर्ता पक्तिलाई नियन्त्रण गरेर काम गर्न उनलाई धेरै मिहेनत गर्नै पर्छ। बिधिको बिधान अनुसार चल्ने कानूनी राज्यको निर्माण ,आपसी सम्मान, सद्भाव, सहयोग, सहमति र विश्वासका साथ संवैधानिक प्रावधानानुरूप राज्य सञ्चालन गर्न सबै सम्बद्ध दल र नेताहरूसंग प्रमले सहकार्य गर्नै पर्छ। दलको अथवा व्यक्तिगत स्वार्थभन्दा महान् जनता र मुलुकको स्वार्थमा केन्दि्त र समर्पित हुनसके मात्र देशले काचूली फेर्नेछ भन्ने प्रमले बुज्नु जरूरी छ।

यो खुसीको क्षण भन्दा बढी तपाईंसामु निश्चय नै भीमकाय चुनौती छन् । हिजोसम्म भाषण गर्न जति सजिलो थियो माओवादीका अध्यक्ष तपाईंलाई आज ठ्याक्कै उल्टो स्थान प्राप्त छ र काम गरेर देखाउन उत्तिनै गाह्रो पर्नेछ। जनताको ४ महिनाको लामो प्रतीक्षापछि आशा र भरोसाका किरण बनेर उभिनुभएको छ तपाईं । तर, अब किरण मात्र भएर पुग्दैन, बादलहरू हटाएर प्रत्येक नेपालीका चुलाचौकामा पुग्ने हिम्मत गर्नुपर्छ ।जनतालाई राहत दिने काम तुरुन्तै थाल्नुपर्छ अन्यथा, क्रान्तिकारीका बगिसकेको रगतले तपाइलाई कहिल्यै माफी गर्नेछैन । प्रचण्डजी,इतिहासको कठिन मोडमा उभिनुभएको छ तपाइको भविष्यको छवि प्रचण्ड महानायकको पनि हुन सक्छ, अथवा इतिहासले हराएको नालायक पात्र पनि । तपाईंको नेतृत्वले अहिले विश्वलाई चकित बनाएको छ । टाउकोको मूल्य तोकिएको ब्यक्ति आज नेपालको प्रधानमन्त्री भएको छ। अब हरेक नेपाली मन-मुटुको प्यारो पुरुषका रूपमा देख्न चाहेका छन् नेपालीले तपाइलाई। तपाईंले क्रान्तिको इतिहास रचना गरिसक्नुभएको छ अब शान्तिका लागि त्यसभन्दा ठूलो क्रान्ति गर्नुहोस् ता कि विश्वले २१ औं शताब्दीको महापुरुष भनून।

प्रचण्डको काँधमा नयाँ नेपाल निर्माणको अगुवाइ गर्ने चुनौती आएको छ अहिले नेपालमा शासक छन्, शासन छैन । देशको स्थिती देखेर जनता ज्यादै दु:खी छन।राष्ट्र छ, राष्ट्रियता छैन । लोकतन्त्र छ अन्तरिम संविधानमा, नेताको भाषणमा, तर छ त भोकतन्त्र,अभावतन्त्र,गुण्डातन्त्र,मनपरितन्त्र, लुटतन्त्र र महँगीतन्त्र । व्यवहारमा लोकतन्त्रको नाम निशानसम्म छैन । देश अराजकता,भीड र अभाबै अभाबमा चलिरहेको छ । आशा गरौ,अब सडकमा टायर बाल्नुपर्ने अवस्था नआओस् । नयाँ नेपालमा भोकमरीको खबर सुन्नु नपरोस् । सबै वर्ग, भाषा, भेष, जातजातिले समान अधिकार भोग्नुपर्ने दिन आओस् ,तोकिएको अबधिमा संविधान बनोस्, लोकतन्त्र र शान्तिले स्थायित्व पाओस्।

नेपाली कांग्रेस प्रतिपक्षमा बसेको छ। संसदीय अभ्यासमा प्रतिपक्षीय राजनीतिको पनि महत्त्व हुन्छ । यस परिप्रेक्षमा सरकारका गुणदोषलाई केलाएर नागरिकमाझ पुर्?याउन सक्ने बलियो प्रतिपक्षी आवश्यक हुन्छ । सरकारमा सहभागी नभए पनि शान्तिप्रक्रियालाई अगाडि बढाउने क्रममा भएका प्रत्येक सम्झौता उसैको सहभागितामा भएका छन्। ती सम्झौताहरूको पालना गर्दै अगाडि बढेर मात्रै उसको विश्वास जित्न सकिन्छ। सबै दलबीचको हार्दिक र परस्पर सम्बन्ध र विश्वास आर्जनले मात्रै सरकारले आफ्ना चुनौति पार गर्दै अगाडि बढ्न सक्षम हुन्छ।माओवादीको नेतृत्वमा सरकार गठन भएपछि उसले सो अधिकारको प्रयोग गरी निरंकुश र अधिनायकवादी चरित्र प्रदर्शन गर्ने पो हो कि भन्ने आशंका गर्नेको कमी छैन ।प्रचण्डलाई चेतना भया ! चेतना भया !! चेतना भया !!!

कमल भट्टराई मनासस-भर्जिनिया
(bhattaraikamal1973@gmail.com)