Wednesday, December 17, 2008
दर्दनाक दुर्घटनाको पाठ
चितवनको भरतपुरस्थित हिलबर्ड आवासीय माविका विद्यार्थी बोकेको एउटा बस दुर्घटना हुँदा भएको २३ जना विद्यार्थी र शिक्षकसमेतको मृत्यु तथा ६० जनाभन्दा बढी घाइते भएको घटनाले चितवनलाई शोकाकुल त बनाएको छ नै र यसले सिंगो देशलाई स्तब्ध पारेको छ । पिकनिक खाएर रमाउँदै घरतिर र्फकंदै गरेका कलिला नानीहरूका सपनासँगै तिनका अभिभावक र देशसँग गाँसिएका सपना पनि दुर्घटित भएका छन् । चितवनको यो घटना एक्लो घटना अवश्य होइन । देशभर यस्ता दर्दनाक र दुःखद् दुर्घटना बेलाबखत हुने गर्छन् । केही वर्षपहिले सल्यानको एउटा जन्तीबस दुर्घटना हुँदा यस्तै भयानकता बोध भएको थियो । तर, यस्तो भयानक घटना अन्य घटनाभन्दा विशेष देखिन्छ, किनभने बसले विद्यालयका कलिला नानी बोकेको थियो र पिकनिक पनि एउटा जिम्मेवार संस्थाका रूपमा लिइने विद्यालयको आयोजनामा भएको थियो । सम्पूर्ण अभिभावकले आपmना नानीहरूको भविष्य र वर्तमान सुम्पेका विद्यालयले तिनको सुरक्षामा पर्याप्त ख्याल नगरेको देखिनु दुःखद् र खेदपूर्ण घटना हो । चालीसजनाको सिट क्षमता भएको बसमा अस्सीजना यात्रु किन राख्ने ? त्यत्रा विद्यार्थी बोकेर हिँड्ने गाडीचालक र आयोजक स्कुल जिम्मेवार हुनुपर्छ कि पर्दैन ? दुर्घटना चाहेर र पूर्ण निश्चित परिस्थितिमा हुने कुरा होइन, तर त्यसलाई छल्न सकिन्छ । त्यसरी छल्न सकिने कुरा मानवीय प्रयत्नमा वा सचेत गतिविधिमा भर पर्छ । के विद्यालयले यसप्रति पर्याप्त ध्यान दिएको थियो ? नेपालमा यातायात सेवा प्रदान गर्ने व्यवसायी र मजदुर दुवै प्रायः त्यस्ता हुन्छन्, मानौं तिनले यात्रुलाई सातजुनीको नर्कबाट उतार्न लागेका छन् र यात्रुले झुकेर बिन्ती गरेर तिनको सेवा खरिद गर्नुपर्छ । सामान्य शिष्टाचार, नियमको पालना, गति नियन्त्रण, अधिक भारबाट बचावट तथा यात्रुको सुरक्षा तिनको जिम्मेवारीभित्रै नपर्ने विषयजस्तो लाग्छ । यस्ता दुर्घटनाबाट पाठ सिक्दै सरकार, यातायात व्यवस्था विभाग, ट्राफिक कार्यालय, दादागिरीमा विश्वास गर्ने यातायात व्यवसायीका संस्था र मजदुर संगठनले यस्ता विषयमा ध्यान दिए कसो होला ?