मुलुकमा युवा पलायनको समस्या विकराल छ । युवावर्गले मुलुकभित्र आफ्नो भविष्य सुनिश्चित नदेख्नुको परिणामले यस्तो अवस्था आएको हो । एकातिर मुलुकमा विद्यमान बेरोजगारी, अनिश्चितता, असुरक्षा र तरल राजनीतिक अवस्थाले हाम्रा युवालाई यहाँबाट भागूँ भागूँ बनाइरहेको छ । अर्कोतिर युरोप अमेरिकाको सम्पन्नता, अवसर वा खाडी मुलुकमा पाइने रोजीरोटीले उनीहरूलाई आकषिर्त गरिरहेको छ । कोही धन दौलतको अभिलाषामा पलायन भएका छन्, कोही पाल्न र पालिनको बाध्यतामा पलायन भएका छन् । त्यसैले पलायनभित्र उच्च् महìवाकाङ्क्षा र कठोर बाध्यताले काम गरिरहेको छ ।
मुलुकले धेरै पहिलेदेखि युवा, रोजगारी, गरिबी निवारणलगायतका सवालमा नीति तथा कार्यक्रम ल्याउँदै आएको हो । तर यस्ता प्रयासहरू उपलब्धिमूलक हुनुको सट्टा राजनीतिक लाभहानीमा सीमित हुँदै आएकाले यी कार्यक्रमले युवा पुस्तालाई विश्वास दिन दिलाउन सकेनन्- कि हाम्रो भविष्य यहाँ नै सुरक्षित छ ।
मानव विकासले स्पष्ट गरिसकेको छ- मानिस सधैँ एकै ठाउँमा बसिरहन सक्दैन । सङ्क्षेपमा भन्नु पर्दा सुखसयल र नवीन खोजका लागि विचरण गर्दै उसले आजसम्मको विकास यात्रा पूरा गरेको छ । सञ्चार तथा यातायातले विश्वलाई एउटा ग्राममा परिणत गरिसकेको अवस्थामा परम्परागत सोच, राष्ट्रियताका नारा वा यस्तैउस्तै कार्यक्रमले युवा पलायन रोक्न सकिने अवस्था छैन । युवा पुस्ताको चाहना, उनीहरूको दक्षता र महìवाकाङ्क्षा सम्बोधन गर्दै नेपालबाट भड्किरहेको युवा मनमस्तिष्कलाई यहाँ नै बसुँबसुँ नबनाएसम्म यो राष्ट्रिय समस्या समाधन हुन सक्ने देखिँदैन ।
मूलतः सबै नीतिहरूलाई राजनीतिले नै राज गर्ने भएकाले युवा पलायन रोक्ने दृढ राजनीतिक इच्छाशक्ति र कार्यक्रमको खाँचो छ । तर मुलुकको राजनीति अर्थात् राजनीति गर्ने दलहरू अहिले पनि युवा परिचालनका नाममा उनीहरूलाई अर्धसैनिकी उन्माद सिकाइरहेका छन् । राजनीतिक उद्देश्य पूरा गर्ने यान्त्रिक साधनका रूपमा युवा जनशक्तिको अपचलन गरिएको छ । यस्तो अवस्थामा मुलुकले स्पष्ट र ठोस नीति ल्याउनु जरुरी छ अन्यथा गाउँलाई हराभरा गराउन सक्ने कृषि मजदुरदेखि बीसै लाख रुपियाँ खर्चेर उत्पादन गरिएका चिकित्सकहरूसम्मको पलायनले मुलुकलाई खोक्रो बनाउने परम्पराले विराम पाउन गाह्रो छ ।