Thursday, December 25, 2008

छोराछोरीमा फरक किन?

किन किन सधैं राजनीतिक अवस्थाबारे केही कुरा लेख्ने मेरो दिमागमा आज अचानक प्रीथक सोचाइ आयो। त्यो के भने म सानोहुदादेखिनै सुनेको,बुझेको र अनुभव गरेको तथा हालसम्म प्रचलित चलन। हामीहरुले आफ्ना सन्तान(छोरा-छोरि)लाई हेरिने दृष्‍टिकोण वारे।हाम्रो समाजमा विद्यमान परम्परागत मान्यताले छोरालाई यति महत्व दिएको छ कि कुनै महिला गर्भवती भएदेखि नै उनीबाट छोराको अपेक्षा गरिन्छ । यति मात्र होइन, कुनै महिला गर्भवती हुँदा उनको आनीबानी र चालचलनलाई अवलोकन गरी गर्भको भ्रुणको बारेमा नानाथरी चर्चा परिचर्चा गरिन्छ । गर्भवती महिला अल्छि भएमा छोरी र जाँगरिली भएमा छोरा जन्मिन्छ भन्ने किम्बदन्ती हाम्रो समाजमा प्रचलित छ। तर, यसमा कुनै जैविक सत्यता छैन ।पेटभित्र हुर्किरहेको शिशुको आमाको बाहिरी कृयाकलापमा कुनै असर पार्दैन । न छोराले उसलाई फुर्तिलो बनाउँछ न त छोरीले अल्छि बनाउछे ।

छोरा जन्मिएको ६औ दिनमा छैठी गर्ने चलन छ भने छोरी जन्मदा केही गर्नु पर्दैन।'छोरा पाए खसी, छोरी पाए फर्सी' भन्ने प्रचलित उखानले छोराको आगमनमा ठुलै भोज गर्नुपर्छ भन्ने प्रष्ट हुन्छ । छोरा होस् वा छोरी दुबै जन्माउन आमाको लागि उत्तिकै कष्टप्रद र सुखद् अनुभुति हुन्छ । त्यसैले आमाको खानामा कुनै फरक गरिनु हुँदैन। त्यस्तै अर्कौ प्रचलित 'ढिलै होस् छोरा होस्' वा 'ढिलो भयो छोरै भयो' भन्ने जस्ता उखानले पनि छोराको महत्वलाई शिरोपण गरेको छ । यस्ता कुराहरुले महिलाहरुलाई छोरो जन्माउन सामाजिक र धार्मिक दबाव यसरी पर्दछ कि आफ्नो ज्यानलाई जोखिममा पारेरै भए पनि बर्षौ सन्तान जन्माइरहन उनीहरु बाध्य हुन्छन् । सन्तान जन्माउन उचित मानिने उमेर काटेरै भएपनि छोरो जन्माएमा सबै खुसी हन्छन् ।

हामीले सुन्दै आएको अर्को उखान छ 'छोराले खाएको खाना र घोडाले खाएको दाना खेर जादैंन ' जसको आसय भविष्यमा पालन पोषण गर्ने आशामा उसलाई सक्षम र सबल बनाउन अभिभावकहरुका लागि पर्दछन् । पठनपाठन,खानेकुरा,मायाममतामा सेमत बराबर गरिदैन। यसैसंग मिल्दो अर्को प्रसंग 'जसको छोरा उसको धन' । छोरो भनेको बावुआमाको सम्पति हो । तर, छोरी अर्काको घर जाने जात हो, उसलाई रसिलो पोसिलो खुवाउनु भनेको मलजल गरेर अरुको बाली सपार्नु जस्तो हो । जसको फाइदा अर्कैले लिन्छ भन्ने सोचाई राख्नेहरु पनि छन् ।

'पोथी बाँसेको घर राम्रो हुँदैन ' भन्ने अर्को प्रचलित बोलीचाली धेरैजसोको जीब्रोमा झुण्डिएको छ । पढेलेखेका हुन् वा अशिक्षित समूह, नेतृत्व तथा महत्वपूर्ण निर्णयको कुरामा महिलाले अघि सरेर बोलेमा यस्ता उखान टुक्का प्रयोग गरी हतोत्साहित गरिन्छ । महिलाहरु पेटमा कुरा राख्नै सक्दैनन् उनीहरु कुरौटे स्वभावका हुन्छन् भन्ने भन्ने सोचाईले 'महिलाको घाँटीमा रुद्र घन्टी हुँदैन' भन्ने उखान प्रचलित भएको छ । तर,तिनै महिलामा भएको धैर्यता र सहनशीलताले गर्दा कतिपय घरायसी समस्या समाधान भएका छन् । जबकि यहाँ यस्ता पुरुषहरु पनि छन् जसको शब्दकोषमा गोप्यता भन्ने शब्द नै छैन । यहाँनेर कुरौटे हुनु र नहुनुमा रुद्राघण्टिको कुनै सम्बन्ध नै देखिदैन ।

छोरी जन्मेदेखिनै पराई धनको रुपमा उसलाई हेरिने हुँदा स्वयम् बावुआमाले पनि यस्तै व्यवहार गर्दछन् । बिहेपछि केही समय छोरी माइत बस्न आएमा कसैको सम्पति ठानी धेरै समय राख्न माईतीपक्ष डराउँछन् । 'अर्काको नासो गलाको पासो' भन्दै घर फर्काउन माइती आतिन्छन् ,चाहे उसले घरमा दुःख किन नहोस् । 'छोरीको जन्म हारेको कर्म' भन्दै उसलाई दुःख सहन सिकाइन्छ ।
आज समय धेरै बदलिसकेको छ छोराछोरीमा भेदभाव गरिनु हुँदैन। सबै आमबाबुले आफ्ना सन्तानलाई समान किसिमले हेरौ। छोरी भएर जन्मनु अभिसाप होइन , छोरी भनेको त घरको रौनक हो , श्रीमती भनेको त घरको शोभा हो, आमा हो, सृष्टिकर्ता हो, पृथ्वी हो, जसले आफ्ना सन्तानको भार थामिरहेको छ ।
Aug 27, 2008
कमल भट्टराई (मनासस-भर्जीनिया)