Sunday, January 4, 2009

मान्छेहरू भ्रममा छन्

मानिसहरु अझै भ्रममा छन्। सबैले सोचेका थिए– माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति छाउने छ। लगानीको वातावरण बन्ने छ। दश, प्रन्ध हजार कमाउन विदेशिनु पर्ने छैन। संक्षेपमा भन्नुपर्दा देश नयाँ नेपालमा प्रवेश गर्ने छ। तर, माओवादी शान्ति प्रक्रियामा आएको तीन वर्ष बित्न थालिसक्यो। सरकारमा पुगेको सय दिन बितिसक्यो। यस अवधिमा माओवादी अध्यक्ष प्रचण्डले बोलेका र व्यवहारमा देखिएका कुराहरुमा आकाश जमिनको फरक छ। जनताले नेताको मूल्यांकन गर्ने कुरा पनि त्यही नै हो। प्रचण्डले व्यापारीहरुसँग भेट्दा 'अब हामी आर्थिक क्रान्ति गर्छौ, स्वदेशी पूँजीको संरक्षण गर्छौं।' भनेर एक पटक होइन, दश पटक आफ्नो प्रतिबद्धता दोहोर्‍याए। परिणाम– भएभरका उद्योगधन्दामा माओवादी कार्यकर्ताले ताला ठोके। सम्पूर्ण उद्योगहरु बन्द भए। प्रचण्डले मानवअधिकारवादीसँग भेट्दा हामी मानवअधिकारप्रति प्रतिबद्ध छौं, मानवअधिकार हनन् गर्नेहरु माथि कारवाही गर्छौ भने। परिणाम– रामहरि श्रेष्ठको माओवादी क्याम्पभित्रै हत्या भयो। रामहरिका हत्यारालाई माओवादी सरकारले संरक्षण दियो। प्रचण्डले पत्रकारहरु सामु भेट्दा 'हामी प्रेस स्वतन्त्रताको सम्मान गर्छौं। पत्रकारहरुमाथि भएका हत्या हिंसाको छानविन गरी दोषीलाई कारवाही गर्छौ भने। परिणाम– हिमाल मिडियामा तोडफोड भयो। ठूला दैनिकमा माओवादी कार्यकर्ताले धावा बोले। वीरेन्द्र साहका हत्याराको मुद्दा 'क्याविनेट' बाटै फिर्ता लिइयो। यो भन्दा निर्लज्जता अरु के हुनसक्छ? जनतालाई एक पटक ढाँट्न सकिएला, पटक–पटक ढाँट्न सकिन्न। त्यो पनि प्रधानमन्त्रीको कुर्चीमा बसेर। माओवादी नेताका बोली र व्यवहारबीचका केही उदाहरण मात्र हुन्। यी उदाहरणभित्र थुप्रै पीडाहरु लुकेका छन्। यसले के देखाउँछ भने माओवादीहरु अझै सच्चिएका छैनन्। सच्चिन तयार पनि छैनन्। कि त माओवादी नेताहरुले भन्नुपर्‍यो– माओवाद भनेकै जंगली शासन हो भनेर। होइन भने लोकतन्त्रको आवरणमा अधिनायकवाद थोपर्न पाइन्न। हुन त जनताले बुझेको माओवाद र प्रचण्ड–बाबुरामले बुझेको माओवाद फरक फरक छ। प्रचण्ड बाबुरामको माओवादमा प्रेस स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता केही पनि हुन्न। त्यहाँ मानवअधिकार पनि हुन्न। उद्योगधन्दा कलकारखाना चलाउन पनि पाइन्न। यदि उनीहरुले यही बाटोमा नयाँ नेपाललाई डोहोर्‍याउन खोजेका हुन् भने त्यो जनतालाई स्वीकार हुने कुरै भएन। माओवादी नेताका भनाइ र गराइले मुलुक नजानिँदो ढंगबाट लोकतन्त्रतिर होइन, अधिनायकवादतिर लम्कँदैछ। यसको संकेत आफैं सरकारमा भएर मालिक–मजदुरबीच तनाव उत्पन्न गराउनु। मालिकलाई शोषक, मजदुरलाई सर्वहारा भन्दै उचाल्नु। स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन युनियन उचाल्नु माओवादी राज्यसत्ता कब्जा गर्ने नीतिभित्रकै कुरा हुन्। यसर्थ सिंगो नेपाल र नेपाली जनता माओवादी अधिनायकवाद भोगिरहेका छन्। अब नेपाली जनता त्यो बाटोमा लोकतनत्रलाई जान नदिन जागरुक बन्नुपर्ने बेला आएको छ। लोकतन्त्रले एक पटक बाटो बिराएपछि त्यसलाई लिकमा ल्याउन फेरि ठूलै संघर्ष गर्नुपर्ने हुन्छ। त्यसैले आफ्नो निहित स्वार्थपूर्तिका लागि सिंगो मुलुकलाई भड्खालोमा हाल्नुभन्दा सत्ता हातमा आएको बेला केही गरेर देखाउने यो राम्रो अवसर पनि हो माओवादीका लागि। उनीहरुले पनि यो कुरा नबुझेका होइनन्। तर, उनीहरु आफैंप्रति इमान्दार नभएको कारण चौतर्फी अन्यौलता बढेको छ। बोली र व्यवहारको अन्तरले पनि उनीहरु आफ्ना वचनबद्धताप्रति इमान्दार छैनन् भन्ने देखाउँछ। प्रचण्ड बाबुरामले ०६२ सालमा एकजना पत्रकारलाई अन्तर्वार्ता दिँदै– 'संविधान सभाबाट सत्ता आए पनि हामी त्यसमा बस्दैनौं, हामी 'स्टेटमेनसीप' मा जान्छौं।' भनेका थिए। तर, प्रचण्ड–बाबुराम आज कहाँ छन्? किन छन्? के गर्दैछन्? के गर्न खोज्दैछन्? आम नेपाली जनताले यी प्रश्नहरुका जवाफ नखोज्ने हो भने माओवादीलाई बुझ्न सक्ने छैनन्। उनीहरुले 'चिल आयो भन्दै चल्ला' टिप्ने छन्।