Tuesday, January 20, 2009

बाख्रागोठाला देखि कमाण्डर इन चिफ सम्म


ठुलाबडा मानिसले भनेको सुनेको थिए बाच्नुपर्छ जीन्दगिमा के के देखिन्छ के के? समयले मानिसलाई कहाँ बाट कहाँ पुर्याउछ? के बाट के बनाउछ ? हामीहरुले मान्नैपर्छ समय यती बलवान छ कि केही समय भित्रै कुनै पनि ब्यक्तिको जीवन,स्थिती अनि रहनसहनमा आकाश जमिनको फरक ल्याउछ। तर त्यसका लागि पक्कै कडा मिहेनत,लगन आदी हुनैपर्छ। यही समयको परिबन्दले गर्दा म नेपालमा जन्मिएको ब्यक्ती हाल जिन्दगीको अनकन्टार भुमी अमेरिकामा छु। सबै जस्तै म पनि भोलि आकाश पातल ,स्वर्ग नर्क कहाँ पुग्छु अत्तोपत्तो छैन। अब प्रसँग सोझै शीर्षकमा ल्याउ कडा परिश्रम ,मिहेनत,लगन र समयको मागले गर्दा बारक ओबामा औपचारिक रुपमा ४४औअमेरिकी राष्ट्रपती भैसकेका छन्, वाइट हाउस भित्र प्रबेस गरिसकेका छन। भर्खरै इनग्र्याचुलेसन कार्यक्रम सकिएको छ। मेरा यी दुई आँखा जिन्दगीमा पहिलोपटक यति धेरै भवसागर मानिसहरु उक्त कार्यक्रमको लागि सलहझै हुम्मिएको प्रतक्ष देखिरहदा थकित भएका छन। अमेरिकी जनताहरुका लागि उनी अविस्मरणीय पात्र भइसकेका छन। अब सुरु गरौ उनको बिगत बारे।
बाराक ओबामाको जन्म सन् १९६१ अगस्त ४ अमेरिकाको होनोलुलु, हावाईमा भएको हो। एउटा सामान्य परिवारमा जन्मिएको मानिस आज महाशक्ती राष्ट्र अमेरिकाको कमान्डर इन चिफ पद उनको नाममा भइसकेको छ। अमेरिकी इतिहासमा भएको सबैभन्दा रोमान्चक चुनावमा उनको नाम ४४औं राष्ट्रपति बनाउँदै देश पहिलो कालो जातीको पहिलो राष्ट्रपतिको रूपमा चिनिएको छ। तर ह्वाइट हाउसम्मको उनको यात्रा सजिलो भने पक्कै थिएन । प्रसिद्ध अँग्रेजी पत्रिका टाइमले जव ओबामालाई कभरमा राख्यो तब धेरै मान्छे छक्क परे । टाइमले यो कालो जातको मान्छे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा आफ्नो दावी गर्दैछ र संसारलाई अमेरिका एउटा परिवर्तनको संकेत गर्दैछ भनेर लेखेको थियो । जुन कुरा अहिले साचो भएको छ। आखिर संसारलाई परिवर्तनको सन्देश दिदैँ, राष्ट्रियता सबैभन्दा माथी छ भन्दै अमेरिकी जनताले ४७ बर्षिय अफ्रिकन-अमेरिकन बाराक ओबामालाइ राष्ट्रपति बनाइ छाडे। यसरी अब्राहम लिंकनपछि दोस्रोपटक एकजना दरिद्र र श्रमिक वर्गीय परिवारबाट आएको व्यक्ति अमेरिकाको राष्ट्रपति बनेका छन् । पहिला राष्ट्रपतिको उम्मेदबारमा मनोनयन हुन नै उनले सिनेटर हिलारी रोधाम क्लिटनसँग कडा प्रतिस्पर्धा गर्नुपर्यो । हक्की स्वभाव र बोलीचालीमा कडा मिजासका ओबामाले राजनीति सुरु गरेपछि यो आदर्शलाई कहिल्यै त्यागेनन् । सन् २००४ मा डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा दिएको भाषण पछी मात्र उनलाई अमेरिकी जनताले अलि अलि चिनेका हुन तर उनको देश प्रतिको फरक भावना,स्पष्ट दृष्‍टिकोण, तीक्ष्ण बुद्धि, विलक्षण बोल्ने क्षमता र निरन्तर मिहेनतले गर्दा आज उनलाई नचिन्ने कमै मानिस होलान। यीनै क्षमताले गर्दा उनी सिनेटरको चुनाव जिते र हेर्दा हेर्दै उनी संचार माध्यममा छाउन लागे।

बाराकको पारिबारिक स्थिती पनि अली भिन्न प्रकारको छ। उनका बुवा केन्याली गरिब बाख्रागोठाला थिए भने आमा अमेरिकी हुन् । ओबामा दुई वर्षको हुँदा उनको बुवा र आमाबीच सम्बन्ध विच्छेद भएको थियो ।सन १९८२को एक सडक दुर्घटनामा उनका बाबुको मृत्‍यु भएको थियो। हावर्डमा पढ्ने अवसर पाएका उनका बुवाले पैसा नभएका कारणले सबै परिवारलाई त्यहा लैजान सकेनन। पढाइ सकेपछि उनका बुवाले केन्या सरकारका लागि काम गरे । बाराक छ बर्षको हुँदा उनकी आमाले एक इन्डोनेशियन नागरिकसँग विवाह गरिन । त्यसपछि उनको पुरै परिवार जकार्तामा बसाइँ सरे । त्यहाँ उनी चार बर्षसम्म बसे र उनले धर्म निरपेक्ष विद्यालयमा अध्ययन गरे । दश बर्षको उमेरमा उनी आफ्नी हजुरआमासँग बस्न हवाई गए जहाँ उनले आफ्नो बाल्यकाल र किशोरावस्था विताए । संयोगले बाराकका दुबै बुवा मुसलमान थिए तर ओबामा भने इसाइ हुन् । कोलम्बिया विद्यालयबाट उनले राजनीति शास्त्रमा पढाइ गरे र फेरी शिकागो गए । सन् १९८८मा उनले हावर्ड ल स्कुलबाट कानुनमा स्नाकोत्तर गरे । उनी हावर्ड ल रिभ्यूको पहिलो अफ्रीकी-अमेरिकी अध्यक्ष पनि बने । पढाइ पुरा गरेपछि उनले सामाजिक क्षेत्रमा हात हाले । उनले शिकागोमा सानो ठुलो धेरै काम गरे । कहिले उनले मतदाता पञ्जीकरण अभियान चलाए त कहिले संवैधानिक कानुनको बिषयमा भाषण दिए । उनले आमजनताको वकिलको रूपमा पनि काम गरे । १९९२ देखि २००४ सम्म सिकागोको युनिभर्सिटीको ल स्कुल'मा संवैधानिक कानुनका प्राध्यापक पनि भए। यस अबधिमा उनले बिभिन्न आरोह अबरोहविच दुइवटा किताव लेखिसकेका थिए। सन् १९९५मा लेखिएको "ड्रिम्स फ्रम माइ फादर" उनी राजनीतिमा आउनु अघि नै लेखिएको हो । यसमा उनले आफ्नो तीनतिर बसिरहेको परिवारको बारेमा, आफ्नो बुवाको अनुपास्थितीको बारेमा लेखेका छन् । उनको अर्को पुस्तक "द अडसिटी अफ होप" एक किसीमको राजनीतिक दस्तावेज हो । उनको नितीको बारेमा यो पुस्तकमा लेखिएको छ ।


ओबामाले एक कानुन व्यवसायी मिशेल सँग सन् १९९२ विवाह गरे । हाल उनका क्रमश ११ वर्षिय र ८ वर्षिय मालिया र शासा नामका दुई छोरीहरू छन् । ओबामाले सन् १९९६ मा पहिलो पटक इलिनोइस राज्य सिनेटको निर्वाचन जिते । यहाँ उनले दलगत श्वार्थभन्दा माथी उठेर काम गर्ने राजनितीज्ञको छवी बनाएका छन् । उनले गरिबको लागि करमा राहत, मृत्युदंड सम्बन्धी कानुनमा महत्वपुर्ण परिवर्तनको लागि काम गरेका छन् । यसैको फलस्वरूप सन् २००४मा उनलाई अमेरिकी सिनेटको लागि चुनियो । ओबामा शुरूदेखि नै इराक युद्धका विपक्षमा छन् । सन् २००३ मार्चमा इराकमा हमला हुनुअघि नै उनले युद्धको आशंकाको बारेमा कुरा गरेका थिए । उनले इरानसँग बिना सर्त वार्ता गर्न पनि बताएका छन् । अमेरिकी राजनीतिमा उनको छवि द्रुत गतिले अगाडी बढेको छ र अहिले संसारको ध्यान उनीमा केन्द्रित छ । अमेरिका अहिले सन् १९३० मा देखिएजस्तो आर्थिक मन्दीको भुमरीमा परेको छ । रिपब्लिकन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने उदार अर्थतन्त्रका पक्षधर जर्ज डब्लु बुसले अमेरिकी अर्थतन्त्र सुधारका लागि चालेका यावत् कदमहरू असफल भएको बेलामा ओबामा अमेरिकी सत्ताको साँचो सम्हाल्दै छन् । ५२ प्रतिशत मत पाएर राष्ट्रपतिमा निर्वाचित ओबामाले अमेरिकी अर्थतन्त्रलाई सुधार्ने विश्वास गरिएको छ ।

ओबामाको विजय यसकारण पनि महत्त्वपूर्ण मानिएको छ, अमेरिकामा सदियौंदेखि वर्णविभेद कायम रहेको छ । अमेरिकामा रहेका श्वेतहरूले अश्वेतलाई अझै पनि राज्यका सबै स्रोतहरू उपभोग गर्नबाट वञ्चित गर्दै आएका छन् । यो क्रम भंग भयो भने पनि अमेरिकामा रहेका धेरै अश्वेतले ओबामाको विजयलाई कालान्तरसम्म ऐतिहासिक घटनाको रूपमा लिनेछन् । आफ्नो विजयपछि दसौं हजार समर्थक र शुभेच्छुकमाझ खुसी बाँड्दै ओबामाले भनेका थिए 'हामी अहिले यहाँ विजयोत्सवका लागि हाजिर भएका छौं । यो विजय नयाँ युगको सुरुवात हो । संकटग्रस्त अमेरिकन अर्थतन्त्रबाट पार पाउन सके नयाँ युगको सुरुवात हुनेछ ।' चुनावकै समयमा सार्वजनिक भएका विभिन्न सर्वेक्षणहरूले पनि डेमोक्र्याट उम्मेदवार ओबामाले मात्र अमेरिकन अर्थतन्त्रलाई सुधार गर्न सक्ने बताउँदै आएका थिए। चुनावी परिणाम आएलगत्तै उनी शान्त मुद्रामा समर्थकसामु उभिए र भने, 'अमेरिकामा परिवर्तन आएको छ ।'"एउटा दास युगबाट रुपान्तरित हुँदै एउटा काला जातिको मानिस राष्ट्रपती सम्म हुन सक्नु हाम्रो लागि अत्यन्त खुशीको कुरा हो । बल्ल हामी अमेरिकी नागरिक भएको महशुस गरेका छौ ।"दुईसय बर्षिय अमेरिकाको राजनितिक इतिहासमा पहिलो पल्ट अफ्रिकन अमेरिकन राष्ट्रपतिको हैसियतमा उनि उभिएर यो देशमा सबैले भन्ने "ल्याण्ड अफ अपरच्युनितटी" वास्तवमै हासिल गर्न सकिने रहेछ भन्ने उदाहरणको रुपमा सबैलाई हौसला दिदै विजयको उदघोषण गरेकाछन नयाँ राष्ट्रपति ओबामा ,जो आफैमा एउटा महान इतिहास बनेकाछन र बनाएकाछन हरेक नागरिकको एउटा उदाहरणको पात्र । उनले गर्वका साथ अगाडि भने " बृद्ध बालक, धनि गरिब, डेमोक्रयाट, रिपब्लिकन, काला गोरा, हिस्पानीक, एसियन, नेटिभ अमेरिकन, गे, अपांग, सपांग, निर्वल सबैलाई समेटेर जान सक्ने देश हो यो र यो मात्र रातो र निलो रंगले बनेको देश हैन यो एउटा संयुक्त राष्ट्र हो र जहिलेपनि संयुक्त रहि रहने छ । अमेरिकामा परिवर्तन आएकोछ र यो परिवर्तन हरेक नागरिकले महसुस गर्नेछन् ।"अमेरिकाको शक्ती भनेको बन्दुक र युद्ध होइन, प्रजातन्त्र, मानव अधिकार र आदर्श हो"यो अभिव्यक्तीले पनि उनको शान्तिप्रतिको प्रतिवद्धता व्यक्त गर्दछ । बिजयको पहिलो दिन उनले दिएको बक्तब्य र राष्ट्रपती भइसकेपछी १८ मिनेट लामो ब्यक्तब्यमा पनि उपर्युक्त कुरामा अझ जोड दिदै उनले अगाडि भनेका छन "अमेरिका विश्वको एक महान लोकतान्त्रिक मुलुक हो,आज विश्वको नजर हामीमाथि छ अमेरिका आज जस्तो छ त्यो नेताहरुको बुद्धिले होइन जनताहरुले गर्दा हो।"अमरीकी संविधानको चर्चित अंश 'परस्यूट ऑफ़ हैप्पीनेस'बाट प्रेरणा लिदै उनले भने 'हामी सबै मनिसहरु समान,स्वतन्त्र र सबैको लागि आफ्नो तरिकाले खुशी खोज्नको लागि अवसर मिल्नुपर्छ।'


आठ बर्ष सम्मको बुशको असफल बिदेश निती र र धरासायी हुन लागेको अमेरिकि अर्थतन्त्रलाई सम्हाल्ने र वासिङ्टनलाई परिवर्तन गरी जनताको शासन स्थापित गर्ने नारा दिएर ओबामाले लाखौं लाख नयाँ मतदाता, युबा विद्यार्थीहरुको मत मात्र प्राप्त गरेका छैनन् अमेरिकामा टाउको दु:खाइ बनिरहेको आप्रबास समस्यालाई गैर कानुनी आप्रबासिहरुको पक्षमा समाधान गर्ने बाचा गरेर लाखौं अमेरिकाको नागरिकता प्राप्त गरिसकेका हिस्प्यानिक र अन्य आप्रबासिहरुको मत पनि उछिट्ट्याउन सफल भएका छन् ओबामाको अमेरिकि समाज बदल्ने, राजनीति जनताको पक्षमा ल्याउने र अमेरिकन सपना कायम राख्ने नारा नै यो निर्वाचनको प्रमुख आकर्षण र बिजयको एकमात्र कारण हो । विश्व समुदायमा गुमेको अमेरिकी साख पुनर्जिबित गर्न ओबामाको नयाँ अनुहार सहायक सिद्ध हुनसक्छ । त्यसैले ओबामा सँग समस्या र चुनौती को पहाड सँगै सम्भावना र अबसर पनि त्यतिकै मात्रामा छ । आशा गरौ अमेरिकामा परिवर्तन हुनेछ, वासिङ्टन जनताको पक्षमा काम गर्ने छ, अमेरिकी सपना पुनर्बहाली हुनेछ,अमेरिकी अर्थतन्त्र फेरी बलियो हुनेछ जस्ले अमेरिकामा बस्ने मात्र होइन जसरी अमेरिका बिग्रदा विश्वकै अर्थतन्त्र बिगार्ने गर्छ त्यसै गरी पुनर्स्थापित अर्थतन्त्रले विश्वलाई फेरी नयाँ ट्र्याकमा ल्याउने छ । यही सोचाइ भएरनै होला उनको बिजयमा अमेरिका बासी मात्र होइन सारा विश्व खुशी भएको।



कमल भट्टराई मनासस-भर्जिनिया
bhattaraikamal1973@gmail.com