माघी मान्न राउटेलाई खसी... शीर्षकको समाचार पढ्दा खुसी लाग्यो । खुसी यस अर्थमा लाग्यो कि आफूलाई वनको राजा मान्ने राउटे समुदायका सहायक मुखिया ऐनबहादुरको समूहले प्राप्त गरेको हवाई भाडा जोगाएर आफ्ना जनताका लागि खसी र चामल लिएर अछाम फर्केका छन् । हवाई भाडाबापत सरकारले दिएको थोरै पैसाले आफ्ना जनतालाई खसी र चामल किन्न आफूहरू बसमा आएको बताउँदै ऐनबहादुरले भने, 'पिलेनमा आए पैसा मासिन्छ जनताका लागि पैसा बचाउन बसमा अएको हो ।'
यस भनाइबाट सबै क्षेत्रबाट उपेक्षित भएका राउटे समुदायका मुखियामा आफ्नो समुदायप्रतिको जिम्मेवारी र कर्तव्यबोध कति धेरै छ भन्ने कुरा प्रस्ट हुन्छ । आफ्ना जनताको इच्छा र चाहनालाई कति ख्याल गर्दछन् भन्न्ने कुरा उनको खसी रोजाइबाट नै प्रस्ट हुन्छ । आर्थिक र आधुनिकता हिसाबले गरिब र पिछडिएको भए पनि राउटे जिम्मेवारी र कर्तव्यबोधले सबैभन्दा धनी र अग्रगामी देखिन्छन् ।
यसको साटो आफूलाई सबैभन्दा जानकार र अग्रगामी भ्न्ने हाम्रा नेताहरू जनताप्रतिको जिम्मेवारी र दायित्वबोधका हिसाबले राउटेभन्दा सयौं गुणा पिछडिएका र गरिबीको भूमरीमा छन् । परिवर्तनका वाहक भनेर आफूले आफैंलाई भन्ने हाम्रा नेता तथा अगुवाहरूले देश र जनतालाई हालसम्म के दिए ? लोडसेडिङ र अभावै अभाव । सरकारमा बसेर भ्रम बढाउने नेताले राउटेबाट सिकून् ।
बाख्रा चराउन जाँदा भीरबाट लडेर मरेका र बलात्कारीलाई समेत सहिद घोषणा गरी नेपाली जनताको टाउकोमा थप व्ययभार थप्न आतुर सरकारले राउटेबाट सिकोस् कि जनतालाई थप शोषण होइन, राहत चहिएको छ । सरकारी ढुकुटीबाट मनग्य भत्ता लिएर पार्टीको पोल्टामा हाली, देश गरिब र पार्टीलाई धनी बनाउने राजनेताले सिकून् । संविधान लेखनका लागि जनताको मत प्राप्त गरेर राजधानी छिरेका हाम्रा नेताले दिनहुँजसो संविधान सभा बहिष्कार तथा अवरुद्ध गरेर जनताको करबाट आफ्नो भत्ता थाप्ने हाम्रा सभासदले पनि सिकून् । पूर्व र पश्चिममा बाढीबाट जनताले दुःख पाउँदा कति सांसद र मन्त्री तथा नेताहरूले आफ्नो सुविधाबाट राहत प्रदान गरे ? एकछिन गम्भीर भएर सोचून् । साँच्चै नै नयाँ नेपाल बनाउने हो भने, हामी सबैले राउटेबाट शिक्षा लिउँ र सिकौं । सबैले आ-आफ्नो ठाउँबाट देश र जनताका लागि केही न केही योगदान गरांै