Monday, January 5, 2009

आस्थाको सम्मान गर

पशुपतिनाथका मूल भट्ट र भट्टहरूले राजीनामा दिएपछि सुरु भएको विवाद चर्किंदै गएको छ । पशुपतिनाथ संसारभरिका हिन्दुहरूको आस्थाको केन्द्र हो । सुरुमा पुजारीको नियुक्ति विषयमा रहेको विवाद पछिल्लो समयमा आएर पशुपतिनाथको विवादमा राजनीतिक रङ देखापर्ने सम्भावना बढ्न थालेको छ । यो विशुद्ध धार्मिक, साँस्कृतिक र परम्परागत मुद्दाभन्दा पनि राजनीतिक मुद्दाका रूपमा आगडि बढ्ने खतरा बढ्दै छ । यसैमा टेकेर मुलुकमा भइरहेको अग्रगामी परिवर्तनलाई सहन नसक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वहरूले खेल्ने सम्भावना बढेको छ । त्यसैले यस सम्बन्धमा सरकारले चनाखो भएरमात्र पुग्दैन, छिट्टोभन्दा छिट्टो समाधानको बाटो पहिल्याउनु जरुरी छ ।
दक्षिण भारतका भट्टहरूले पशुपतिनाथको पूजा गर्न थालेको विसं १८०४ देखि हो । तर पशुपतिनाथमा नेपाली पुजारी राख्नुपर्ने माग पनि तत्काल उठेको विषय होइन । नेपालीमात्र होइन, विश्वभरका हिन्दुका लागि पशुपतिनाथमा भइरहेको विवाद र तनाव चासोको विषय बनेको छ । अझ सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरी पुरानै भट्टहरूबाट पूजा गराउन दिएको आदेश दिइसकेको छ । यसपछि नयाँले पूजा गर्न नपाउने र पुराना नमान्ने अवस्था सिर्जना हुने अवस्था छ ।
भारतीय भट्टहरूको राजीनामा स्वीकृतिपछि नेपाली पुजारी नियुक्तिको प्रक्रिया पशुपतिनाथको प्रारम्भिक विवाद थियो । तर पछिल्ला दिनमा विभिन्न प्रकारका सवालहरू उठ्न थालेका छन् । त्यसको पछिल्लो कडीका रूपमा आइतबार पूर्वराजा
ज्ञानेन्द्रको वक्तव्य आएको छ । कट्टर हिन्दुवादी भारतीय जनता पार्टीको कडा आलोचना आइसकेको छ र उसले संघर्ष गर्ने घोषणा पनि गरेको छ ।
नेपाली पुजारीको नियुक्ति गर्ने सरकारी निर्णय आफैंमा गलत
छैन । पशुपतिनाथको व्यवस्थापन अपारदर्शिताका लागि लामो समयदेखि विवादमा पर्दै आएको छ । त्यसका दुई कारण थिए, पहिलो राजदरबारको ठाडो हस्तक्षेप र दोस्रो भारतीय भट्टहरू तथा त्यसको सञ्चालन संयन्त्र । सरकारले त्यसलाई पारदर्शी बनाउन खोज्नुलाई गलत भन्न मिल्दैन । तर जुन विधि र प्रक्रिया सरकारले पुजारी नियुक्तिमा अपनायो, त्यसले धेरै आशंका पैदा गराएको छ ।
सर्वोच्चको आदेश मान्नु सरकारको कर्तव्य र विधिको शासनलाई पालन पर्नु हो । जुन ढंगको अभिव्यक्ति संस्कृतिमन्त्रीबाट आएको छ, त्यसले विवादलाई बढाव दिने काममात्र गर्नेछ । धार्मिक, साँस्कृतिक र परम्परागत विषय सबैका लागि संवेदनशील कुरा हुन् । यसमा बोल्दा वा नयाँ कामको थालनी गर्दा सरोकारवालाको सहमति लिनु आवश्यक छ ।
अब सरकारले तत्काल पशुपतिनाथसँग सरोकार राख्ने सबैसँग संवाद र छलफलको थालनी गर्नुपर्छ । उनीहरूको गुनासो र यथोचित मागलाई सम्बोधनका लागि कदम चाल्नुपर्छ । त्योभन्दा पहिला तत्काल पशुपतिको नित्य पूजामै आप्ठ्यारो परेको छ, त्यसका लागि अस्थायी प्रकृतिका कामचलाउ व्यवस्था गर्नु जरुरी छ । दीर्घकालीन असर पर्ने खालका निर्णयहरू र पुजारीको नियुक्तिका लागि सरोकारवालाहरूसँगको छलफलबाट विधि र प्रक्रिया निर्धारण गर्न सकिन्छ ।
पशुपतिनाथसँग लाखौं भक्तजनको आस्था जोडिएको छ । पुजारी नियुक्ति कुनै संस्थानको महाप्रबन्धक फेरेजस्तो राजनीतिक नियुक्तिको विषय होइन । सबै सरोकारवाला र आमनागरिकसमक्ष सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्न र भक्तजनहरूको आस्थाको सम्मान गर्न सक्नुपर्छ ।from kintipur