Sunday, January 11, 2009

क्रान्तिकारी हुँ भन्ने ?

माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि देशले विस्तारै काचुली फेर्नेछ,देशमा जताततै शान्ति छाउने छ,लगानीको वातावरण बन्ने छ,अझ सरकारको नेत्रित्व गरेपछि त, माओवादीको सरकार देश र जनताप्रती पूर्ण रुपले उत्तरदायी हुनेछ। दश, प्रन्ध हजार कमाउन विदेशिनु पर्ने छैन,रुल रेगुलेशनको पालना हुनेछ आदी इत्यादी लगायतका राम्रा कार्यले देश नयाँ नेपालमा प्रवेश गर्ने छ भन्ने आशा प्राय सबैले सोचेका थिए । तर,बिडम्बना माओवादी शान्ति प्रक्रियामा आएको तीन वर्ष बिति सक्यो। आफ्नै सरकारले हनिमुन पिरिएड पार गरिसक्यो। यस अवधिमा देशमा बिकास कार्य हुनु कता हो कता महंगी, अभाव र कमजोर शान्तिसुरक्षाले मुलुकलाई आक्रान्त पारेको छ। दिनहुँजसो व्यक्ति हत्याको श्रृंखला बढ्दो छ। जनताले सधैं असुरक्षाको महसुस गरिरहेका छन्। बन्द,अपहरण,हत्या, हिंसा, अशान्ति लुट, असुरक्षामा भारी वृद्धि भएको छ । सर्वसाधारण जनतालाई नेपालमा क्रमिकरूपमा बढ्दै गएको महंगीले यहाँबाट विदेशिन बाध्य बनाउन लागेको छ।


सर्वहारा जनताका लागि राजनीति गर्दै आएको भाषण ठोक्ने राजनीतिक दल माओवादीका एक नम्बरका क्रान्तिकारी हुँ भन्ने नेताहरूलाई पनि देश बिकास तथा चर्को महंगीका विषयमा गम्भीरतापूर्वक सोच्ने फुर्सद कहिल्यै भएन भाषणमा मात्रै चर्को क्रान्तिका कुरा गर्ने व्यवहारमा नउतार्ने प्रबिर्तीको तिब्र गतिमा बिकास भइरहेको छ अर्थात माओवादीको भनाइ, गराइ र व्यबहारमा आकाश जमिनको फरक छ । इमान, जमान,राजनीति सिद्धान्त जनता र मुलुक केही होइनन् आफू र आफ्नो पार्टी भनेर माओवादी सरकारमा गएको हो भने त ठिकै छ, होइन दशौं हजार शहीद, राष्ट्र,अशिक्षा, युद्धका अपांग तथा गरिबीको रेखामुनिका जनताका विषयमा पनि सरकार जवाफदेही हुने पर्ने होइन र? एकातर्फ,अनाबस्यक एककोहोरो सुगारटाइ-आफ्ना लडाकूजत्थालाई नेपाली सेनामा समायोजन गर्ने तर्फ बढी केन्द्रित हुनुले माओवादीको नियतमा प्रसस्त संका गर्ने ठाउँ त छदैछ। अर्कोतर्फ, सर्पले काचूली फेरेजस्तै आफ्ना भाषण फेर्न माओवादी नेताहरु निपूर्ण, ब्यस्त र तल्लिन भएको कारणले गर्दा उनिहरुको कुन चाँही कुरा सत्य हो जनताले कसरी छुट्याउने/पत्याउने?


आफैं सरकारमा भएर मालिक–मजदुरबीच तनाव उत्पन्न गराउनु। मिडियामा तोडफोड ,मालिकलाई शोषक, मजदुरलाई सर्वहारा भन्दै उचाल्नु। स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन युनियन उचाल्नु माओवादी राज्यसत्ता कब्जा गर्ने नीतिभित्रकै कुरा हुन्। आफै सत्तासिन प्रधानमन्त्री भएर वर्तमान सरकार ढालिए देशको अस्तित्वसमेत नरहने ठोकुवा र जनबिद्रोह मार्फत सत्ता कब्जा गर्ने धम्की दिनुले नेपालको राजनितीमा फेरी अर्को कालो बादल मडारिन थालेको आभाश मिल्छ । जब सरकार नै कानुनी राज्यको खिल्ली उडाउने काममा लाग्छ भने जनताले कसबाट शान्ति सुरक्षाको अपेक्षा गर्ने? अहिलेको स्थितिलाई अध्ययन गर्ने हो यसबाट के स्पस्ट हुन्छ भने हामी अराजकतातिर उन्मुख हुँदै गइरहेका छौं मुलुक नजानिँदो ढंगबाट लोकतन्त्रतिर होइन, अधिनायकवादतिर लम्कँदैछ। ।
जताततै समस्यै समस्या धार्मिक आस्थामा विश्वास नगर्ने पार्टीले पशुपतिनाथको पुजारीमा पशुपति क्षेत्र विकास कोषको नियम क्रमभंग गर्दै सकारात्मक कार्य नेपाली पुजारी नियुक्त गर्यो । कुनै संस्थानको महाप्रबन्धक फेरेजस्तो । तर प्रकृया पुर्याउन सकेन । जसका कारण नागरिक समाज आन्दोलित बन्यो र सरकार झुक्न बाध्य भयो। यसबाट पनि के भान हुन्छ भने यो सरकारले हतारमै निर्णय लिन्छ,दीर्घकालिन सोचको अभाव छ।
विश्वमा जलस्रोतको दोस्रो धनी मुलुक नेपाल हाल अन्धकारमय बनेको छ। हाम्रो लागि यो भन्दा दुर्भाग्यको कुरा अरु के हुन सक्छ? लोडसेडिङ बढाउँदै लगि दैनिक १६ घण्टा पुर्याएपछि मुलुक प्रगति र समुन्नतिको नयाँ युगतिर अग्रसर हुने हैन पछौटे, गरिबी र पुरातनवादी पुरानो युगमा फर्किने लक्षण देखिएको छ । नेपालसँगै प्रजातान्त्रिकरणको युगमा प्रवेश गरेका मुलुकहरु विकासका गतिले कहाँ पुगिसके? तर, हामी नयाँ नेपालको गफ हाँक्दाहाँक्दै टुकी युगमा फर्कदैछौं। यस्तो स्थिति आउनुका पछाडि हाम्रा शासकहरु जिम्मेवार छन्। शासकहरुमा मुलुक र जनताप्रति अलिकति मात्रै जिम्मेवारबोध हुन्थ्यो भने हामी यो स्थितिमा पुग्ने नै थिएनौं। त्यसैले आफ्नो निहित स्वार्थपूर्तिका लागि सिंगो मुलुकलाई भड्खालोमा हाल्नुभन्दा माओवादीका लागि सत्ता हातमा आएको बेला केही गरेर देखाउने राम्रो अवसर पनि हो । उनीहरुले पनि यो कुरा नबुझेका होइनन्। तर, उनीहरु आफैंप्रति इमान्दार नभएको, बोली र व्यवहारको अन्तरले पनि इमान्दार छैनन् भन्ने देखाउँछ। त्यसैले हाल प्रशासनदेखि जनता एकदमै रुष्ट छन्।
कुनै पनि देशको सफलतामा इमानदारिता, दूरदृष्टि र प्रतिबद्धता साथमा भ्रष्टाचारमुक्त कर्मचारीतन्त्र रहनु आवश्यक रहन्छ ।०६३ सालको जनआन्दोलनबाट सफलता प्राप्त गरेपछि नयाँ नेपाल बनाउने सपना हामीले पाएका छौं र देख्यौं पनि । तर आज खोइ हाम्रो सपनालाई कहाँ बज्र पर्‍यो ? हामी अलमलिन थाल्यौं । प्रधानमन्त्री प्रचन्डले पटक-पटक दिएको अभिव्यक्ति 'म कन्फ्युजमा छु' भन्ने वाक्यले हामीलाई झन् सोच्न बाध्य बनाइरहेको छ । जुन जोगी आए पनि कानै चिरेको भनेझैं जसको क्रान्तिकारी सरकार आए पनि देश र जनतालाई उस्तै!देश र जनतालाई उस्तै !!