Friday, January 16, 2009

स्मरणशक्ति कसरी बढ्छ ?

मानिसले बोलेको हरेक शब्द, पढेको हरेक किताब वा हेरेको हरेक सिनेमाको याद उसको दिमागमा सधैं-सधैंका लागि संग्रहित भएको हुन्छ । व्यक्ति ९९ वर्ष बाँचे पनि ती स्मृतिहरू उसको दिमागमा जस्ताको तस्तै रहिरहन्छन् । यदि कुनै कुराले तपाईंको ध्यान आकषिर्त गर्छ वा हेर्ने, सुँघ्ने, छुने वा अनुभूति गर्ने इन्दि्रयलाई उत्तेजित गर्छ भने तपाईंले त्यसलाई सजिलै सम्झनुहुनेछ । स्मरणशक्ति बढाउनका लागि निम्न उपाय अपनाउन सकिन्छः

पढ्दा सक्रिय रूपले पढ्नुपर्छ ।

पढेको कुरामा ध्यान एकाग्र हुनुपर्छ र त्यसमा पूरा रुचि पनि हुनुपर्छ । पढेको विषयवस्तुलाई व्यस्थित रूपले संगठित अर्थात् सूचीबद्ध गर्नुपर्छ ।पढेको वा सुनेको विषयवस्तुलाई नोटकपीमा संक्षिप्त र व्यवस्थित रूपमा सारांश उतार्नुपर्छ । पछि सारांशलाई सही ढंगले विस्तार गरेर नोट बनाउनुपर्छ । पढेको कुरालाई पहिचान गर्न मात्र होइन, त्यसलाई तपाईंले पुनः उत्पादन गर्न अर्थात् लेख्न वा अरूलाई बताउन सक्षम हुनुपर्छ । स्मरणशक्ति त्यही व्यक्तिको उत्कृष्ट हुन्छ, जसले आफूले पढेको कुरा याद गर्ने चेष्टा गरिरहन्छ र त्यसलाई एकआपसमा व्यस्थित ढंगले उन्ने (जालो बुन्ने) वा शृंखला बनाउने प्रयत्न गर्छ । यसो गर्नका लागि स्कुल, कलेज वा सिक्ने ठाउँमा नास्ता खानका लागि छुट्टयाइएको अथवा कतै बसिरहँदा वा हिँडिरहँदाको खाली समय उपयोग गर्न सकिन्छ ।

सारांशमा, राम्ररी सम्झनका लागि राम्ररी पढ्नुहोस्, राम्ररी बुझ्नुहोस्, त्यसलाई मनमनै याद गर्नुहोस्, फेरि सिक्नुहोस्, फेरि याद गर्नुहोस् । यसरी स्मरणशक्ति विकसित हुँदै र तीक्ष्ण बन्दै जान्छ । आफ्नो दायाँ मस्तिष्कलाई अर्थात् कल्पना, लयात्मकता, शैली र दिवास्वप्नजस्ता कुरालाई उपयोगमा ल्याउन कहिल्यै नबिर्सनुहोस् । यिनको सहायताले स्मरणशक्ति सजिलै खारिँदै जान्छ । आफ्नो दिमाखलाई 'यो यो कुरा सम्भिmराख' भनेर आदेश दिनुहोस् । दिमाखले तपाईंले दिएको आदेश पालना गर्नेछ । पढेको वा सुनेको कुरा राम्ररी फाइलिङ गर्ने, सूचीबद्ध गर्ने र रेकर्डिङ गर्ने कुरामा ध्यान दिनुहोस् । भद्रगोल पारेर थुपारेको भण्डारबाट चाहिएको कुरा समयमै खोजेर निकाल्न सकिँदैन । त्यसैले दिमाखमा सम्झन पर्ने सबै विषयवस्तु राम्ररी व्यवस्थित पारेर मिलाएर राख्नुहोस् । पढ्दा वा सुन्दा नअलमलिनुहोस् । पढेको कुरा राम्ररी बुझ्नुभएको छैन वा सुन्दा राम्ररी सुन्नुभएको छैन भने त्यस्तो अस्पष्ट कुरा सम्झन पनि सकिँदैन । तथ्यहरू पढ्दा तिनको सन्दर्भ र पृष्ठभूमि पनि याद गर्नुहोस्, जसले गर्दा आवश्यक परेको बेला तथ्यहरू सजिलै सम्झन सकिन्छ । जस्तो- रकेटको बारेमा केही तथ्य सम्झनुपर्दा पहिला सगरमाथा टेक्ने निल आर्मस्ट्रङको बारेमा पनि सम्झनुहोस् । पढ्दा पाठको सम्पूर्ण आशय साङ्गोपाङ्ग बुझ्नुहोस्, जसले गर्दा तपाइंलाई जुनसुकै कोणबाट प्रश्न सोधे पनि उत्तर दिन सजिलो हुनेछ । जानकारी र सूचनाहरूलाई स-साना खण्डमा टुक्र्यायाएर सम्झने चेष्टा गर्नुहोस् । यसो गर्दा सम्झन दिमाखलाई धेरै बल पर्दैन । जानकारीहरूको एउटा दिमागी नक्सा तयार पार्नुहोस् ।आत्मविश्वास बढाउनुहोस् । मेरो स्मरणशक्ति सबैको भन्दा तीखो छ, मैले सबैले भन्दा राम्ररी सम्झन सक्छु भन्ने आत्मविश्वास दृढ बनाउनुहोस् । एक दिन मात्र चिताएर पुग्दैन, यस्तो आत्मविश्वास दृढ बनाउन लामो समय मनमनै अभ्यास गरिरहनुपर्छ, दोहोर्‍याइरहनुपर्छ । हीनताबोध त्यागिदिनुहोस् । आफूलाई कमजोर ठान्न थाल्नुभयो भने विस्तारै तपाईं साँच्चै कमजोर बन्दै जानुहुनेछ । आफ्नो स्मरणशक्ति कमजोर छ भनेर सोच्ने यो दुनियाँमा तपाइं मात्र होइन, करोडौं मानिसले यस्तै सोच्छन् । अतः चिन्ता नगर्नुहोस् ।

दिमागको क्षमता असीमित छ भन्ने हेक्का राख्नुहोस् । त्यसलाई कसरी अधिकतम् उपयोग गर्ने भन्नेबारेमा सोचिरहनुहोस् । अल्बर्ट आइन्स्टाइनले भनेकै हुन् : मानिसको मस्तिष्कको १० प्रतिशत पनि उपयोग भएको छैन भनेर । यसलाई पूरापूरा उपयोग गर्न नसके पनि ५० प्रतिशत उपयोग कसरी गर्न सकिन्छ, यसबारेमा सोच्नुहोस् ।

लामो सूची सम्झनुपरेको छ भने सूचीमा भएका कुराहरूलाई एउटै शृंखलामा लिंक गर्नुहोस्, त्यसलाई बढाईंचढाईं अर्थात् अतिरञ्जना गरेर एउटा हास्यास्पद, रंगीन र रोचक कथाजस्तो बनाउनुहोस् र सम्झने चेष्टा गर्नुहोस् । यसरी लामो लामो सूचीहरू पनि सजिलै सम्झनुहुनेछ ।

सूचीमा भएका आइटमहरू सम्झनका लागि तिनलाई परिचित चिज वा वस्तुसँग जोड्ने वा हरेकलाई सुहाउँदो नम्बर दिने पनि गर्न सकिन्छ ।अध्ययनको गति जति तेज हुन्छ, त्यति नै एकाग्रता बढ्छ । त्यसैले लोसे चालले होइन, गतिशील रूपमा अध्ययन गर्नुहोस् ।