Tuesday, February 10, 2009

नयाँ नेपालका नयाँ शहीद

यो नयाँ नेपाल हो । त्यसैले यहाँ सबै थोक नयाँ हुनुपर्छ । त्यसैले त राजनीतिक व्यवस्था नयाँ । काम गर्ने तौरतरिका नयाँ । देश हाँक्ने नीति नयाँ, जनता बाँच्ने रीति नयाँ । सब थोक नयाँ, नयाँ नेपालमा ।

हिजोसम्म संसदमा खसीको टाउको देखाएर कुकुरको मासु बेचिन्छ भन्दै संसदबाट टाढा रहेको माओवादी आज संसदीय अभ्यासमा मख्ख छ, दंग छ ।
एमालेको राजनीतिक जग जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद ठान्ने एमाले नेतृत्वपंक्ति त्यही जनताको बहुदलीय जनवादमा संशोधन गर्ने भन्दैछ ।

सँधै कांग्रेस सत्तामा हुने राजनीतिक सत्यता उपर कुठाराघात भयो भन्छ कांग्रेस। आज कांग्रेस प्रतिपक्षमा छ ।
विकास र अधिकारका लागि सम्पूर्ण मधेश एक प्रदेश अनिवार्य भन्दै सडक र सदनमा कुर्लंदैछ, मधेशवादी दल।

जनताका लागि भन्दै जनयुद्ध लड्ने माओवादी नेतृत्व अहिले चिल्ला चार पांग्रे र सुटबुटमा ठाँटिएका छन् । यो पनि त नयाँ नै हो नि।

जनता उज्यालोमा बस्लान केही पढ्लान्, केही देख्लान र केही बुझिहाल्लान भन्या जस्तै गरी अधिकांश समय देश अँध्यारो पारेका छन् । राजस्व संकलन गर्ने र त्यसले देश विकास गर्ने भन्दै नुनदेखि सुनसम्म, इच्छादेखि शिक्षासम्म कर थोपरेका छन्।

सबथोक नयाँ, नयाँ नेपालमा ।

अब तपाईंहरु आफै भन्नुहोस् । यो नयाँको चक्करमा आफै घनचक्कर भएका माननीय नेतागणले शहीदमा पनि केही नयाँ त थप्नै पर्‍यो नि । परेन र - आजकाल शहीदको परिभाषा पनि नयाँ ।

गजबकै व्यवस्था छ । नयाँ नेपालमा नयाँ शहीदको । कालगतिले मरेका बाहेक सबै शहीद । र, हाम्रा माननीय नेतागणले शहीद वर्गीकरण पनि गजब कै गरेका रहेछन् । सुन्नुहोस् है शहीद वर्गीकरण हाम्रो प्रचण्ड परिषद्ले गरेको।

एक नम्बरमा- राजनीतिक भिडन्त शहीद ।
दुई नम्बरमा- कार्यकर्ता शहीद ।
तेस्रो नम्बरमा- नातागोता इष्टमित्र शहीद ।
चौथो नम्बरमा- जिल्ला र क्षेत्र शहीद ।
पाँचौं नम्बरमा- दुर्घटना शहीद ।

सब शहीदलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको व्यवस्था गरिनेछ। बिक्री भइसकेको माल फिर्ता हुने छैन भने जस्तै घोषणा भइसकेको शहीद फिर्ता लिइने छैन।

यी शहीद वर्गीकरणका केही नमूना मात्र । थप वर्गीकरण प्रचण्ड परिषद्ले गरिरहेको र छिट्टै र्सार्वजनिक हुनेछ।

छैन त गजब ?
सब थोक नयाँ, नयाँ नेपालमा ।
दीपक खरेल