Sunday, February 8, 2009

दश प्रतिशत पुरुष जँड्याहा

रक्सीको स्वाद चाख्ने वा दोस्रो पेगसम्म लिने कुरा ठिकै होला। तर जिब्राको दास हुनेहरूलाई रोगको दास पनि हुनुपर्छ नै। हालै गरिएको अध्ययनबाट बिहानै मन्दिर गएजस्तो सम्साँझै भट्टी धाउने आदत भएका पुरुषहरू मद्यपानजन्य समस्याबाट ग्रसित हुने सम्भावना २० प्रतिशतसम्म रहेको अध्ययनले देखाएको छ। र, १० प्रतिशत पुरुष त जँड्याहा नै हुने देखिएको छ।
अधिक रक्सी पिउने र रक्सीमै डुब्ने बानी २५ वा ३० वर्षको हाराहारीबाट सुरु हुने युनिभर्सिटी अफ क्यालिफोर्निया, सानडियागोका अनुसन्धाताले उल्लेख गरेका छन्। यद्यपि महिला भने यस्तो आदतबाट ग्रसित हुने सम्भावना आठदेखि दस प्रतिशत मात्र रहेको अनुमान गरिएको छ।
केही दिनअघिको बेलायती सरकारी आँकडाले देखाएको थियो– वाइनको बोतलसँग रात बिताउनेे लाखौं बेलायतीले तिनको स्वास्थ्य जोखिममा पारेका छन्। सरकारी निर्देशनमा चेतावनी दिइएको थियो– कुनै पनि पुरुषले दैनिक तीनदेखि चार युनिटभन्दा अधिक र महिलाले दैनिक दुईदेखि तीन युनिटभन्दा बढी पिउनुहुँदैन।
तर, अर्कोतर्फ विशेषज्ञहरूले के चेतावनी दिएका छन् भने आजभोलि कडा वाइन उत्पादन गर्न थालिएको र गिलासको आकार पनि ठूलो हुन थालेकोले कति पिउनु ठीक हो भन्ने मापन गर्न झन् कठिन हुँदै गइरहेको छ। ठूलो गिलासको वाइन झन्डै तीन युनिट हुन्छ। यसो हुँदा पिउन बसेपछि निश्चित मात्रा सजिलै नाघ्छ। 'दिनदिनै अधिक मद्यपान गर्न थालेपछि यसले स्वास्थ्यलाई ध्वस्त पार्नेछ,' अमेरिकी अनुसन्धाता भन्छन्।
मद्यपानजन्य समस्या भएका मानिसमा क्यान्सर मृत्युको दोस्रो ठूलो कारक हो। अनुसन्धानबाट टाउको र घाँटीको क्यान्सर भएका झन्डै ७५ प्रतिशत बिरामीले अत्यधिक मद्यपान गर्ने गरेको पाइएको छ। यद्यपि ल्यान्सेट मेडिकल जर्नलका लागि रिपोर्ट लेखेका अनुसन्धाताहरूले चाहिँ मद्यपानजन्य समस्या समाधान गर्न सकिने बताएका छन्।
युनिभर्सिटी अफ क्यालिफोर्निया, सानडियागोका डा. मार्क सुकिट भन्छन्, 'उपचारपछि मद्यपानको आदत लागेका बिरामीले मद्यपान गर्न छोडेका छन् र अल्कोहल लिने गरेका अधिकांश बिरामी सामान्य र असल दिनचर्यामा फर्किएका छन्। दैनिक मद्यपान नगरी नहुने आदत लागेका ५० देखि ६० प्रतिशत महिला र पुरुषले उपचारपछि या त मद्यपान गर्न चटक्कै छोडेका या थोरै पिउन थालेका देखिएको छ, यो आशाजनक संकेत हो।