केही वर्षअघि काठमाडौं उपत्यकालाई विश्वकै प्रदूषित सहर मेक्सिकोसँग तुलना गरियो र 'गुडबाई साङ्गिरला' हरू लेखिए । अहिले फेरि काठमाडौं वायु प्रदूषणका कारण विश्वकै प्रदूषित सहर बन्ने खतरामा पुगेको समाचार सार्वजनिक भएको छ । वातावरण प्रदूषण मानव स्वास्थ्यसँग प्रत्यक्ष र परोक्ष दुवै रूपमा जोडिएको सबैभन्दा बढी संवेदनशील विषय पनि हो । शहरी क्षेत्रमा कुल मानिसको मृत्युमध्ये १८ प्रतिशतको मृत्यु श्वास प्रश्वासम्बन्धी रोगका कारण हुने गरेको छ । औसत पाँच प्रतिशत नेपालीको मृत्यु श्वासप्रश्वाससम्बन्धी रोगका कारण हुने गरेको तथ्यका अगाडि शहरी क्षेत्रको बढ्दो तथ्यले वायु प्रदूषणको प्रत्यक्ष असरलाई इङ्गति गर्दछ । सरकारी तथ्याङ्कले १८ प्रतिशतमध्ये झण्डै ७० प्रतिशत मानिसको मृत्युको कारण वायु प्रदूषणको प्रभावबाट हुने गरेको देखाएको छ । यो अत्यन्त डरलाग्दो परिणाम हो ।
यस्तो किन भइरहेको छ त ? काठमाडौं उपत्यका बढी प्रदूषित हुनुमा कचौरा आकारको भौगोलिक बनावट त जिम्मेवार छ नै, त्यसभन्दा पनि बढी मानवीय क्रियाकलाप जिम्मेवार देखिएको छ । पछिल्लो समाचारअनुसार, काठमाडौंको वायु प्रदूषणका कारकहरूमध्ये एक हावामा रहेका मसिना धूलाका कणहरू हुन् र यस्ता कणको परिमाण विश्व स्वास्थ्य सङ्गठनले तोकेको निर्देशिकाभन्दा छ गुणा बढी पाइएको छ । उपत्यकामा चल्ने सवारी साधनहरूमा प्रयोग हुने कम गुणस्तर र मिसावटयुक्त इन्धनले पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण बढाएको छ । काठमाडौंको वायु प्रदूषणको कारणमा करिव ५० प्रतिशत सवारी साधनहरू नै जिम्मेवार रहनु कम गम्भीर कुरो होइन । यातायात साधनहरूले वाषिर्क ३० देखि ४० हजार टन घातक विषादि उत्सर्जन गर्ने पक्ष अर्को अत्यन्त गम्भीर पक्ष हो । उपत्यकामा हुने बन्द-हडताल, विरोध प्रदर्शन जस्ता मानवीय क्रियाकलापमा सबैभन्दा बढी टायरहरू बाल्ने गरेको देखिन्छ । यसले उपत्यकाका कालोपत्रे सडकहरूलाई कमजोर तुल्याउने काम मात्र गरेको छैन, यसले वायु प्रदूषण पनि बढाएको छ । यसबाट मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिने रासायनिक तत्वहरूलाई वायुमण्डलमा फैलाउने काम गरेको छ । मान्छेको ज्यान जोखिममा पार्ने वायु प्रदूषणलाई घटाउन राज्य तहदेखि जनस्तरसम्म दृढ इच्छाशक्ति, व्यापक हस्तक्षेप र आत्मानुशासनको आवश्यकता छ ।
काठमाडौं उपत्यकाको प्रदूषणको आयाम व्यापक छ । यो वायु प्रदूषणमा मात्र सीमित छैन । ध्वनि प्रदूषणबाट पनि काठमाडौं उपत्यका निकै आक्रान्त छ । यसलाई राजधानी वा ठूलो सहरको रूपमा योजनाविहीन तरिकाले विस्तार गर्ने निकायहरू मात्र होइनन्, नागरिक समाजको ठूलो समूहले आˆनो दायित्व जिम्मेवारीपूर्वक निर्वाह नगर्ने प्रवृत्तिले पनि काठमाडौं उपत्यका बढी प्रदूषित भइरहेको कुरा बुझ्न गाह्रो छैन । उपत्यकामा बग्ने गरेका स्वच्छ नदीहरू घर-घरबाट निस्कने फोहरमैला तथा विभिन्न उद्योगहरूबाट निस्कने औद्योगिक फोहरमैलाका कारण ढलको रूपमा परिणत भएर जलप्रदूषण बढ्ने क्रम पनि रोकिएको छैन । उद्योग, कलकारखानाको अव्यवस्थित विकास एवं सवारी साधनहरूको अत्यधिक चापले मानिसको श्रवण सहनशीलताभन्दा चर्को आवाजको कारण ध्वनि प्रदूषण पनि त्यही मात्रामा बढ्दैछ । यस बाहेक पनि विषादीको प्रयोग गरी फलाइएका वा अखाद्य मिसावट गरी तयार पारिएका खाद्यपदार्थदेखि अस्पताल तथा स्वास्थ्य उपचार कार्यमा संलग्न संस्थाहरूद्वारा लापरवाह तरिकाले फालिने हानिकारक फोहरमैला, अव्यवस्थित वस्ती विकास, राजधानीका मूल सडकहरू जोडिने सडकहरू समेत कच्ची हुनु, विकास निर्माण कार्यसँग सम्बद्ध निकायहरूबीच समन्वयको अभावलगायत थुप्रै तरिकाले जेलिएका विसङ्गत कारणहरूले गर्दा पनि काठमाडौं बढी प्रदूषित र अस्वस्थकर हुँदैछ । काठमाडौं त एउटा प्रतीक मात्र हो वातावरण र मानव स्वास्थ्यसँग जोडिएको गम्भीर अन्तर्सम्बन्ध देखाउने । समयमै सतर्कता अपनाइएन भने यसखालको समस्याले मुलुकका अन्य जुनसुकै शहरलाई पनि गाँज्न सक्छ । यसैले लामो समयदेखिको काठमाडौंको विकृतिजन्य कमजोरीको निरन्तरतामा साँच्चैको क्रमभङ्गता मात्र होइन, अन्यत्र पनि बेलैदेखि सावधानी अपनाउन जरुरी देखिएको छ ।