बाल्यकालमा साथी भाइसँग भेट्दा उरेन्ठेउलो कुरा हुन्थ्यो। उपद्रो व्यवहार हुन्थ्यो। ठट्टैठट्टामा तैले एक लाख रुपियाँ बाटोमा भेट्टाइस् भने के गर्छस्? भनेर ख्यालठट्टा गरिन्थ्यो। एक रुपियाँ पनि गोजीमा नभएको मानिसले एक लाख भेट्टायो भने के गर्ला? न योजना छ न उद्देश्य? ठीक यस्तै हविगत भएको छ– हाम्रा प्रधानमन्त्री प्रचण्डको। सायद प्रचण्डले आफ्नो जीवनमा यति चाँडै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्छु भनेर सोचेका होलान्। त्यसैले उनलाई प्रधानमन्त्रीको पद पाँच महिनामै 'खाउँ भने दिनभरको शिकार, नखाउँ भने कान्छाबाबुको अनुहार' जस्तै भएको छ।
क्रान्तिकारी कुरा गर्न जति सजिलो हुन्छ, काम गर्न त्यत्ति नै गाह्रो हुन्छ भन्ने कुरा बल्ल प्रचण्डले बुझ्न थालेका छन्। हिजोसम्म बैंक लुट्ने, भौतिक संरचनाहरु माथि बम विस्फोट गराउने, निहत्था जनतालाई मार्ने तिनै प्रचण्डको मुखबाट आज नयाँ नेपालको निर्माण गर्ने कुरा सुन्दा धेरैलाई अचम्म लागेको हुनसक्छ। जब देश र जनताको चिन्ता प्रचण्डलाई थियो भने जनयुद्धको नाममा उनले मुलुकको विकासलाई पचास वर्ष पछाडि धकेल्ने काम किन गरे भन्ने प्रश्न यतिबेला धेरैले गर्न थालेका छन्।
जबसम्म नेताप्रति आम जनताको आस्था र विश्वास जाग्दैन, तबसम्म भाषणले मात्रै देश बन्दैन। प्रचण्डले भनेका कुरा पत्याउने कति जनता छन्? प्रचण्डले बोलेका कुराहरु कति पूरा भएका छन्? भन्ने अर्को महत्वपूर्ण प्रश्न हो। जुन नेता आफैंप्रति इमान्दार छैन, उसले अरुलाई बेइमान भन्नुको कुनै अर्थ हुन्न। राजनीतिमा नैतिकता र इमान्दारिता भन्नु नै राजनेताको योग्यता हो। प्रचण्ड कति नैतिकवान, कति इमान्दार छन् भन्ने कुराले नेपालको राजनीतिमा प्रभाव पार्छ।
०४६ सालदेखि अहिलेसम्मको राजनीतिमा मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र मदन भण्डारीबाहेक कोही नेता स्थापित किन भएनन् भन्ने विश्लेषण गर्ने हो भने जवाफ एउटै आउँछ– नेताहरु जिम्मेवार भएनन्। सत्तामा सबै भन्दा लामो समयसम्म बसेका गिरिजाप्रसाद कोइरालाको कुरा गर्ने हो भने उनलाई प्रजातन्त्रकै कलंक भने हुन्छ। जसका कारण मुलुकले यो दुर्गति भोग्दैछ।
नेपाली जनताले धेरै बलिदानी दिए। धेरै नेता जन्माए। तर, ती नेताहरुले देश र जनताको पक्षमा काम नगरेको उदाहरण वर्तमान नेपाल हो। ००७ सालदेखि अहिलेसम्म धेरै राजनीतिक परिवर्तन भए। त्यो परिवर्तनले मुलुकको अवस्था सुदृढ पार्न नसक्नुको एउटै कारण भनेको दूरदर्शी नेताको अभाव नै हो। प्रचण्ड प्रधानमन्त्री भएपछि अब त केही होला कि भन्ने आशामा मानिसहरु थिए। यो पाँच महिनाको उनको कार्यकालले जनता फेरि निराश हुन थालेका छन्। माओवादीले जनताको पक्षमा एउटा पनि राम्रो काम गर्न सकेको छैन। सत्तामा पुगेर पनि माओवादीको व्यवहार परिवर्तन नभएपछि मानिसहरु मानसिक आतंक भोगिरहेका छन्। अझै पनि माओवादीप्रति शंका छ, विश्वास छैन। प्रधानमन्त्रीका रुपमा एउटा प्रचण्डले दिएको अभिव्यक्ति पनि त्यही असफलता र हतासको एउटा उदाहरण हो। उनको यो हतास र असफलत मानसिकताबाट मुलुकलाई जोगाउन सकिएन भने मुलुक ठूलै दुर्घटनामा पर्न सक्छ। त्यसको संकेत प्रचण्डको अभिव्यक्तिले गरिरहेको छ।
-शम्भु श्रेष्ठ