Saturday, March 7, 2009

बन्द संस्कृतिको अन्त्य गरौं

पहिले पहिले बन्द गर्दा धेरै ठाउँमा कालो पट्टी टाउको वा हातमा बाँधेर काम गर्थे । गाडीहरूमा पनि कालो झन्डा लगाएर गाडी चलाउँथे । सिनेमाघर, संघसंस्था, स्कुल, औद्योगिक क्षेत्र, दूरसञ्चार, समाचार प्रकाशन क्षेत्रमा पनि हातमा कालो पट्टी बाँधेर सुचारु रूपले काम भएकै हुन्थ्यो ।

अब नयाँ नेपाल बनाउने बेलामा जताततै एउटा महारोग लागेछ । त्यो रोग हो तालाबन्दी । विद्यार्थीहरूलाई स्कुल शुल्क धेरै भयो घटाउनुपर्‍यो, पि्रन्सिपललाई घेरी पि्रन्सिपलको अफिसमा ताला बन्द, स्कुलमा अध्यापकहरूलाई अर्काे स्कुल सरह सहुलियत चाहियो स्कुलमा ताला बन्द, अस्पतालमा एउटा सिकिस्त रोगी मर्‍यो, ताला बन्द, चोरले टेलिफोन लाइन चोरेर बेच्यो लाइन फेरि बिछाउन समय लाग्यो, दूरसञ्चार कार्यालयमा ताला बन्द, लोडसेडिङको बेला भए पनि कहिलेकहीँ आएको बिजुलीको लोड सहन नसकी ट्रान्सफरमर नै जलेपछि ट्रान्सफरमर बदल्न पनि समय लाग्छ, विद्युत् कार्यालयमा ताला बन्द यस्तै अनेकौं कार्यालयहरूमा ताला बन्दको रोग लाग्दा काम कसरी गर्ने ? आफ्नो आफ्नो क्षेत्रबाट प्रतिनिधिहरू पठाएर सरसल्लाह गरी समस्याको समाधान गर्नु नै आजको शिक्षित व्यक्तिहरूको कर्तव्य हो । सम्बन्धित क्षेत्रहरूमा तालाबन्दी हँुदा स्कुले विद्यार्थीहरूको परीक्षा नजिकै आएका, पाठ्यक्रम रिभिजन हुन त परै रहोस् पाठ्यक्रमसम्म नभ्याउने हो कि ? अस्पतालमा उपचार गर्न दुर्गम क्षेत्रबाट बल्लतल्ल अस्पताल आइपुगेका रोगी डाक्टरहरूको परीक्षण बिना नै मर्ने हो कि ? एकपटक सोचौं त के तालाबन्दी गर्नु नै हाम्रो समस्या समाधान गर्ने एकमात्र उपाय या विकल्प हो ?

सडक बन्द


विद्यार्थीले बसभाडामा मागेको विद्यार्थी सहुलियत पाएन। बस चालक वा उसको सहायकसित विद्यार्थीको झ्गडा भयो। परिणाम- सडक बन्द।

बसको भाडा उठाउनेसँग भाडाकै विषयमा यात्रुको वादविवाद, हात हालाहाल भयो। स्थानीय बासिन्दाले र बस व्यवसायीले गर्ने एउटै काम हो- सडक बन्द।

कुनै सवारीले बटुवालाई हिर्काएर टाप ठोक्यो। सडक बन्द।
चोरी भयो, चोर पत्ता लागेन। सडक बन्द।
डकैती भयो, धनमाल लुटियो। सडक बन्द।
पैरो गयो, गाईवस्तु परे। सडक बन्द।
बाढी आयो, घरखेत बगायो। सडक बन्द।
डढेलो लाग्यो, झुप्राहरू जले। सडक बन्द।
हत्या भयो, अपराधी समातिएन। सडक बन्द।
जागिर खोसियो। सडक बन्द।
परीक्षाको प्रश्नपत्र आउट भयो। सडक बन्द।
दुर्घटना भयो, ज्यान गयो या घाइते भयो। सडक बन्द।
मोटरसाइकल ट्रकसित ठोक्कियो। सडक बन्द।
ग्याङ फाइट भयो। सडक बन्द।
मन्त्री या नेताले बोलेको कुरा मन परेन। सडक बन्द।
बिजुली बलेन। सडक बन्द।
फोहोर उठेन। सडक बन्द।
धारामा पानी आएन। सडक बन्द।
पार्टीका कार्यकर्ताबीच झ्डप भयो। सडक बन्द।
प्रहरीद्वारा कोही समातियो। सडक बन्द।
ट्राफिक प्रहरीले कार्वाही गर्‍यो। सडक बन्द।
भाडा बढ्यो। सडक बन्द।
भाडा घटेन। सडक बन्द।
भैंसी हरायो। सडक बन्द।
बाख्रा चोरियो। सडक बन्द।

कसैलाई केही रोमाञ्चक काम गर्न मन लाग्यो। सडक बन्द।अब कुनै यस्तो कुरा रहेन, जसका कारण सडक बन्द नहोस्। झ्न् जसलाई हामी राजमार्ग भन्ने गर्छौं, त्यो त बात बातमा बन्द हुन्छ। जसले चाह्यो र सक्यो त्यसैले राज गर्न पाउने भएकोले नै राजमार्ग नाम राखिएको हुनसक्छ।

तत्काल राहत। तत्काल न्याय। तत्काल घोषणा। तत्काल क्षतिपूर्ति। तत्काल आपूर्ति। तत्काल कारबाही। तत्काल नियन्त्रण। तत्काल गिरफ्तारी। तत्काल रिहाई। तत्काल निर्माण। तत्काल रोजगारी। तत्काल भत्ता। तत्काल तलब। तत्काल नियुक्ति। तत्काल खारेजी। तत्काल पदोन्नति। तत्काल क्षमायाचना। तत्काल संशोधन। संविधानमा समावेश गरिने तत्काल वचन। तत्काल शहीद घोषणा। यस्तै माग राखेर गरिन्छन् सडक बन्द।सबै थोक अहिल्यै, तुरुन्तै, तत्कालै, तात्तातै चाहिन्छ। नत्र सडक बन्द। राजमार्ग बन्द। त्यो पनि अनिश्चित कालका लागि।

जहाँ सडक पुगेको छ, त्यहाँका जनताले त मनलागी सडक बन्द गर्न पाउने गणतान्त्रिक अधिकारको भरपूर उपयोग गर्न पाइरहेका छन्। त्यसमा कुनै शङ्का छैन। टुट्टामा त ती ठाउँका जनता परे जहाँ अझ्ै सडक पुगेको छैन। जुम्ला, हुम्ला, मुगु, मनाङ, सोलु जस्ता सडक नपुगेका अनेक जिल्ला छन्। त्यहाँका जनता सडक बन्द गराउन पाउने मूलभूत मानवअधिकारबाट बञ्चित भइरहेका छन्। एकथरीले राज्यलाई निहुर्‍याउने कडा हतियारको उपयोग गरिरहेका छन् भने अर्काथरीले टुलुटुलु हेरेर बस्नु परेको छ। यो त सरासर अन्याय हो। सडक नपुगेका जिल्लाका जनताले पनि त सडक बन्द गरेर आफ्ना न्यायोचित मागहरू पूरा गराउन सक्ने अधिकार हुनुपर्‍यो नि! कि ती दुर्गम जिल्लावासीहरूका नाममा एक दुई सर्को सडक बन्द गरिदिने कार्यक्रम कसैले राखिदिनु पर्‍यो। कि सरकारले झ्ट्ट ती जिल्लाहरूमा सडक पुर्‍याइदिनु पर्‍यो जसले गर्दा उनीहरूले सडक बन्द गर्न सकुन्। लौ जानिफकारहरू भन्नोस्, उनीहरूको यस मूलभूत मानवअधिकारको रक्षा कसरी गरिदिने?ऋतुराज