Wednesday, March 25, 2009

परीक्षार्थीलाई शुभकामना

परीक्षाको मर्यादा कायम भएन भने औचित्य पनि समाप्त हुन्छ। माध्यमिक शिक्षाको अन्तिम खुड्किलो मानिने एसएलसी परीक्षा बुधबारदेखि सुरु हुँदैछ। वार्षिक शैक्षिक कार्यतालिकामा यो सबैभन्दा ठूलो अभ्यास हो। यस वर्ष विद्यालय स्तरको शिक्षा पूरा गरेका ४ लाख १२ हजार ८१ जनाले १ हजार ४ सय ४ केन्द्रबाट एसएलसी दिन लागेका छन्। यिनमा ४७ हजार ४ सय ९० जना पुराना (एक्जेम्टेड)परीक्षार्थी हुन्। यस वर्ष क्षेत्रगत रूपमा प्रश्न पत्रहरू तयार गरिएका छन्। यति ठूलो कार्यक्रमको व्यवस्थापन पक्कै पनि सजिलो हुँदैन। परीक्षार्थीलाई अप्ठेरो नबाई परीक्षाको मर्यादा कायम गर्नु चुनौतीपूर्ण कार्य पनि हो।
उच्च शिक्षाको मूल ढोका मानिने हुनाले परीक्षार्थी र अभिभावकले एसएलसी परीक्षालाई विशेष महत्त्वसाथ विशेष तयारी गर्छन्। साथै एलएलसीमा बढी अङ्क ल्याउने होडमा उचित अनुचित उपाय पनि अपनाउने गरेको पाइन्छ। यस्तो अनियमिततामा विद्यार्थीमात्र हैन केन्द्राध्यक्ष, निरीक्षकहरूसमेत संलग्न हुने र उनीहरूमाथि कारबाही गरिने गरेको उदाहरण छ। यसरी कारबाहीमा परेका विद्यार्थीको भविष्य नै प्रभावित हुने गर्छ। अर्कोतिर, व्यवस्थापनमा भएका त्रुटिका कारण उत्पन्न तनाव र अप्ठेरोले पनि विद्यार्थीको परीक्षा प्रभावित हुन्छ। यसैले एसएलसी परीक्षाको व्यवस्थापन निकै संवेदनशील काम हो।
परीक्षाको मर्यादा महत्त्व पक्ष हो। परीक्षार्थी र व्यवस्थापन पक्ष दुबैले यसको मर्यादा कायम राख्‍न विशेष प्रयास गर्नुपर्छ। यसैगरी परीक्षा केन्द्र र वरपरको वातावरण शान्तिपूर्ण बनाउन पनि ध्यान दिनु आवश्यक छ। परीक्षामा खटिने सुरक्षाकर्मीलगायतका व्यवहार पनि संयमित र मैत्रीपूर्ण हुनु उत्तिकै जरुरी हुन्छ। परीक्षामा नक्कल गर्ने र गराउने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ तर यसका लागि अपनाइने उपायले परीक्षार्थीलाई तर्साउने हुनुहुँदैन। एक दशक लामो अध्ययनको कसी केही दिन र घन्टाको परीक्षा मानिनु आफैँमा विडम्बना हो। त्यसमा पनि परीक्षार्थीले तनावको वातावरणमा जाँच दिनुपर्‍यो भने निश्चय पनि सही मूल्याङ्कन हुन सक्तैन।
अतः सम्बन्धित सबै पक्षले परीक्षाको मर्यादा कायम राख्‍ने र परीक्षार्थीले तनावमुक्त भएर जाँच दिने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्छ। फलामे ढोका पार गर्ने प्रयासमा लागेका सबै परीक्षार्थीलाई हार्दिक शुभकामना!