आदिवासी जनजातिहरूलाई अहिले आ-आˆनो मातृभाषा जोगाउने काम चुनौतीपूर्ण बनिरहेको तर्फ हालै आयोजित एउटा कार्यक्रममा सङ्केत गरिएको थियो । कुनै पनि भाषा त्यो चाहे अल्पसङ्ख्यक, आदिवासी र जातीय समूहले बोल्ने सीमित भाषा होस् चाहे सबै भाषाकाबीच सम्पर्क भाषाका साथै राष्ट्रिय रूपमा सरकारी कामकाजको राष्ट्रिय भाषा होस्, ती सबै राष्ट्रिय सभ्यता र संस्कृतिका अभिन्न अङ्ग हुन् । तिनीहरूको संरक्षणमा सिङ्गो राष्ट्र गम्भीर हुनु जरुरी हुन्छ । हुन त राज्यले मातृभाषामा शिक्षाको व्यवस्था गर्दै तिनको आवश्यक पाठ्यक्रम, पाठ्यपुस्तकहरू लेख्ने-लेखाउने काम पनि सुरु गरिसकेेको छ । यसको पूर्ण कार्यान्वयन पछि यी चुनौतीमा निश्चय नै केही कमी आउने छ नै ।
भाषिक चुनौतीको सामना गर्न त्यति सहज भने देखिँदैन । भाषा-संस्कृतिको प्रश्न राजनीतिक स्वार्थ साधनको लागि बोलिने नारा मात्र होइन । यो मूलतः जातीय समूहसँग गाँसिएको अस्मिताको प्रश्न हो । राष्ट्रिय सभ्यताको निर्माणमा सबै भाषाभाषी, जातजाति र भाषा-संस्कृतिको उत्तिकै योगदान रहने यथार्थ स्वीकारेर एकको विकास अर्काको हानि नभएर सहयोगी हो भन्ने यथार्थ स्वीकार्ने हो भने एकले अर्काको विकासमा सहयोगी बन्न कुनै सङ्कोच गर्नुपर्ने देखिँदैन तर यस विपरीत एक अर्काप्रति विद्वेष र ईष्र्याजन्य निषेधका स्वरहरू पनि सुनिन थालेको छ, जुन निश्चय नै स्वस्थ प्रवृत्ति होइन ।
नेपालका सबै आदिवासी, जनजाति र अन्य भाषिक समुदायका भाषाले आज बेहोर्नु परिरहेको चुनौती सामना गर्नका लागि एउटा प्रभावकारी माध्यम मातृभाषामा शिक्षाको अवधारणाको व्यावहारिक प्रयोग नै हो तर यसलाई सफल तुल्याउन अन्तर्मनदेखिकै प्रतिबद्धता सर्वप्रथम मातृभाषी समुदायमै विकसित हुनु जरुरी छ । आफ्नो भाषाप्रतिको अनुरागलाई राजनीतिक नाराको तहबाट माथि उठाएर व्यावहारिक प्रयोगका तहमा लैजान सकियो भने हर प्रकारका चुनौती सामना गर्न नसकिने होइन । भाषाको सम्बर्द्धन, विकास र उन्नयन कोरा नाराबाट सम्भव हुँदैन, त्यसको व्यावहारिक प्रयोगको प्रभावकारिताले नै यसलाई सफलताको सिँढी चढाउन सघाउँछ । मातृभाषामा शिक्षाको व्यवस्था भएर पनि विद्यार्थीलाई त्यो भाषा पढ्न अभिभावकबाट प्रेरणा प्राप्त भएन भने यसले सफलता पाउन सक्दैन । पाठ्यसामग्री तयार गर्न राज्यले सघाउनुपर्छ तर तिनको लेखन र सिर्जनामा सम्बन्धित भाषाभाषी नै तत्पर हुनुपर्छ । ती भाषा बोल्ने अभ्यास सर्वप्रथम घरैदेखि हुने वातावरण बन्न सकेन र कमाउ भाषा अङ्ग्रेजी बिग्रने डरले मातृभाषामा बोलचाल गर्न निरुत्साहित गर्ने अहिले देखिन थालेको प्रवृत्तिमा कमी आउन सकेन भने अल्पसङ्ख्यक जनजाति र अन्य जातीय समुदायका भाषा मात्र होइन, आजको राष्ट्रिय तथा सम्पर्क भाषाको ठाउँसमेत बाहिरी भाषाले लिन असम्भव छैन । आज छिमेकका र विश्वका शक्तिशाली भाषा तथा तिनका प्रसारक सञ्चार सञ्जालका कारण कुनै पनि साना राष्ट्र र जातिका भाषा सुरक्षित छैनन् । तिनको संरक्षण हामीजस्ताका लागि ठूलै चुनौती बनिरहेका छन् । यी चुनौती अहिले अल्पसङ्ख्यक जनजातिका भाषाभाषीले जति अनुभव गर्नु परिरहेको छ, भाषिक-सांस्कृतिक तीव्र दबाब खेपिरहेका हाम्रोजस्ता मुलुकका बहुसङ्ख्यकले बोल्ने र शासकीय भाषाको आरोप लाग्दै आएको राष्ट्रिय भाषाले पनि चाँडै नै कडा चुनौतीको सामना गर्नु नपर्ला भन्न सकिन्न ।