Monday, March 16, 2009

कारबाही गर

मुलुकमा गणतन्त्र स्थापना भइसक्दा पनि नेतामा विलासी, स्वार्थी र मोजमस्तीको चरित्र कामयै रहेको देख्दा लाज भइरहेको छ । देशमा लोडसेडिङका कारण उद्योग, कलकारखाना प्रायः बन्द हुने अवस्थासँगै मानिसको दैनिक जीवन कष्टकर भइरहेका बेला पूर्वप्रधानमन्त्रीदेखि बहालवाला मन्त्री र कर्मचारीले समेत करोडौं पर्ने चिल्ल गाडी निजी प्रयोजनमा उपभोग गर्नु निन्दनीय छ ।

नेपाली जनताको थाप्लामा ऋणको भारी बोकाएर महँगा गाडी खरिद गर्ने र निजी प्रयोजनमा ल्याउने प्रवृत्ति चमेलियामात्र नभई अन्य आयोजनामा पनि रहेको छ । यो नेपाली जनतामाथि गरेको घोर अन्याय हो र लोकतन्त्र तथा नेपाली जनताले नेतामाथि गरेको विश्व्सको अपमान हो ।

सर्वसाधारण जनता भोकमरी, अभाव र अनेकौं संकट भोग्न बाध्य भइरहेको बेला नेता भने सुविधा भोग गर्न र आर्थिक लाभ लिन तल्लीन छन् । ठूला आयोजनाबाट ठूलै आर्थिक घोटाला हुने गरेको छ । त्यसैले अहिले सञ्चालन भइरहेका र हुन लागिरहेका आयोजनामा आर्थिक घोटाला रोक्न सरकारले विश्वासिलो आधार दिन सक्नुपर्छ ।

गाडी फिर्ता गर्न लगाउने, आयोजनाबाट अनुचित फाइदा लिनेलाई कारबाही गर्ने र आयोजनाबारेमा संसदीय सुनावाइ गर्ने तथा जनतालाई यथार्थ जानकारी गराउने कदम तत्काल चालियोस। यो सरकार पनि विगतको निरन्तरता नै हो भन्ने बुझाइ सर्वसाधरणमा छ ।- अर्जुन भट्टराई