Sunday, March 15, 2009

सहमति, सहकार्य र एकता अपरिहार्य

शान्ति प्रक्रियाको महत्त्वपूर्ण एउटा पाटो सेना समायोजनसम्बन्धी विषय समयमै टुङ्गो लाग्न नसक्दा विस्तृत शान्ति सम्झौतामा उल्लेख भएका सर्त र भावनाको पूर्ण पालना हुन सकेन । सम्झौता उल्लङ्घन हुँदा सेना समायोजनको विषय सर्वोच्च अदालतसम्म पुग्यो । अदालतले अन्तरिम आदेश जारी गरिसकेको हुनाले अब सेना समायोजनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी राजनीतिक दलहरू र नेपाल सरकारकै हो । विस्तृत शान्ति सम्झौता अनुसारका आयोग समयमै बनेका भए विवाद पनि कम हुँदै जान्थे र सुल्भिन्थे पनि । शान्ति प्रक्रियालाई सफल पार्नमा आपसी विवाद कम पार्दै लैजानुपर्नेमा कुनै विवाद छैन । संविधानसभाको निर्वाचन सम्पन्न भई देश नयाँ संविधान निर्माणको प्रक्रियामा अग्रसर भएको बेलामा देशका कतिपय भागमा विभिन्न समुदायले अधिकार र पहिचानको कुरा उठाइरहनुभएको छ । यो बेलामा राज्य कमजोर भएको हो कि भन्ने आशङ्का उठ्न सक्छन् तर द्वन्द्वको सही निकास ननिक्लेसम्म र संविधानमा जनताका अधिकार सुनिश्चित नहुन्जेलसम्म राज्यका सबै पक्षले संयम र विवेकपूर्ण कार्य गर्नैपर्छ ।

सुरुका दिनमा शान्ति प्रक्रियालाई अगाडि बढाउन जसरी राजनीतिक नेतृत्व तहबाट त्याग बलिदानी र कुशल नेतृत्व प्रदान भएको थियो अहिले पनि त्यही अपेक्षा गरिएको छ । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने जिम्मेवारी सबै राजनीतिक दल, सरकारको नेतृत्व, नागरिकसमाजको पनि हो । सेना समायोजनमा ढिलाइ हुँदा केही अविश्वास पैदा भयो । तर यसलाई विश्वासमा परिणत गरेर सही निकास निकाल्नुको कुनै विकल्प छैन । असमझदारीले अविश्वास बढाउँछ, अविश्वासले द्वन्द्व निम्त्याउँछ र द्वन्द्व चर्कंदा शान्ति प्रक्रियामा ठेस पुग्दछ । संविधान निर्माण प्रक्रियालाई सहज र सरल ढङ्गले अगाडि बढाउन विगतमा जस्तै दलहरू र विशेष गरी उच्च राजनीतिक नेतृत्व तहमा सहमति, सहकार्य र एकताको राजनीतिलाई अगाडि बढाउनु आजको अपरिहार्य आवश्यकता हो । सेना समायोजनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति बनिसकेको हुनाले अब ढिलाइ नगरी निकासको बाटो खोलिनुपर्छ ।

शान्ति प्रक्रियाका मुख्य दुई मुद्दा सेना समायोजन र संविधान निर्माण कार्यलाई हामीले अत्यन्त सुझबुझ राखी संयम भएर अगाडि बढाउनुपर्छ र यसैमा सबैको हित गाँसिएको छ । राज्य सङ्क्रमणकालबाट अगाडि बढिरहेकाले यस्तो बेलामा अस्थिरता चाहने तìवहरूले अनावश्यक चलखेल गर्न सक्छन्, त्यसबाट हामी बेलैमा सजग र सतर्क हुनु जरुरी छ । दलहरूको एकता नै आजको अजय शक्ति हो, त्यसलाई नयाँ नेपाल निर्माणको महान् कार्यमा लगाऔं र सहमति, सहकार्य एवं एकताको सूत्रलाई आत्मसात् गरौं । यसैले हामीलाई सुन्दर नेपाल निर्माणको सही गन्तव्यमा पुर्‍याउँछ ।