नेपालमा आज र भोलि फागु वा होली खेलेर मनाउने गरिन्छ । नेपालमा यो वर्षका चाडपर्वमध्ये झन्डै अन्तिम पर्व हो यो । वसन्त ऋतुको आगमनसँगै प्रणयकालीन मौसमले उद्वेलित बनाएका मनहरूको अभिव्यक्ति प्रकट हुने यो पर्व नेपालमा दुई भिन्नाभिन्नै संस्कृतिको प्रतिविम्बका रूपमा पनि प्रकट हुन्छ । खासगरी पहाडमा यसलाई फागु पूणिर्माका रूपमा रंग खेलेर, खुसी साटेर मनाइन्छ । तराईमा भने यो त्यसको भोलिपल्ट पारिवारिक वातावरणमा मनाइन्छ । पहाडमा भन्दा यसको सांस्कृतिक महत्ता तराईमा बढी देखिन्छ । दसैँमा पहाडे हिन्दूमा देखिने चाडको मर्म तराईमा यस पर्वमा देखापर्छ । टाढा छुट्टएर बसेका आफन्त वा परिवारजन यसपटक भेला हुन आइपुग्छन् । र, पारिवारिक जमघट, शुभकामना आदान-प्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर बिताउँछन् । सबै नेपालीलाई यस पर्वका अवसरमा हाम्रो हार्दिक शुभकामना !
धार्मिक मान्यता अनुसार, दैत्यराज हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए ।तर आगोमा होलिका आफैं भष्म भइन् बिष्णुभक्त प्रल्हादलाई आगोले छोएन । त्यसै बेलादेखि हिन्दु धर्मावलम्बीहरु आसुरी शक्तिमाथि ईश्वरी शक्तिको विजयका रुपमा यो पर्व मनाउने गर्दछन् ।राम्रो तरिकाले तयार पारिएका रंग र अबिर खेल्दा छालाको रोग समेत निको हुने आयुर्बेदमा उल्लेख छ । काठमाण्डौंको वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन गाडिएको चीरलाई मंगलबार विधिपूर्वक ढालिन्छ । त्यस चीरलाई बाजागाजा सहित टुँडिखेलमा लगेर जलाइने परम्परा छ ।यसैगरी राती टुडिंखेलमा गुरुमापा नामका राक्षसलाई इटुम्बहालदेखि कतै नबिसाई ल्याएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको जधु धारामा चुठाउने चलन छ ।
यो रंगहरूको पर्व हो, लेकमा गुराँसका बहुरंगी फूल फुल्ने मौसम । चराहरूले गुँड लगाउने यस मौसममा मान्छेका मन त्यसै-त्यसै भावुक बन्छन् । यसमा प्रयोग हुने रंगहरूको संयोजनले यसलाई बहुरंगी स्वरूप दिन्छ । रंगहरूको संगतिपूर्ण प्रयोगको दृश्यले मानिसका मनमा रहेका कुभावना मेटाउँछ । समूहमा खेलिने रंगले सामाजिक एकता र मेलमिलापको सन्देश दिन्छन् । तर, केही वर्षयता होलीको यो पर्व राजनीतिक स्वार्थहरूको चपेटामा परेको छ । बन्द, हडताल र आन्दोलनले समाज र समुदायबीच एकप्रकारको खाडल र प्रतिशोध जन्माइदिएका छन् । यतिवेला पनि तराई अशान्त छ । थरुहटको बन्दले कैयौँ दिनदेखि यातायात चलेको छैन । कहिले मधेसवादी दलहरू त कहिले चुरे भावर अनि कहिले थारू जनजातिका आन्दोलनले मान्छेलाई सहज र शान्त मनले रंग खेल्न पनि दिएका छैनन् ।
अर्कातिर खासगरी काठमाडौंमा यस चाडलाई परपीडक संस्कारले ग्रस्त पार्दै लगेको छ । होलीको पर्व आउनुभन्दा धेरै दिनअघिदेखि नै लोला बर्साएर बाटामा मान्छेको सहज आवत-जावतलाई हुनसम्म डिस्टर्ब’ गरिन्छ । युवतीहरूको जमघट तथा आवत-जावत बढी हुने गल्ली र स्कुल-कलेज आतंकका पर्याय बनेका हुन्छन् । खेल्न चाहनेले पनि राम्रोसँग मित्रतापूर्ण र हार्दिक वातावरणमा भन्दा आफ्ना कुण्ठा व्यक्त गर्ने कुप्रथा बढ्दो छ । युवतीहरूलाई उनीहरूका इच्छाविपरीत विद्यालय, अफिस वा कार्यालय वा किनमेलका लागि बजार जान पनि नसकिने गरी आतंक सिर्जना गर्ने यस्ता दुष्कर्ममाथि नियन्त्रण गरेर सामान्य र सहज वातावरणमा इच्छित मानिसको समूहमा रंग खेल्ने हो भने रंग पखाल्दा मान्छेको मनको मैलो-धैलो पनि पखालिने थियो । हामीकहाँ मान्छेको समूह र समाजलाई बलियोसँग एकतामा बाँधेर राख्ने यस्ता चाडपर्वको जगेर्ना असल परम्परालाई जोगाउने शैली र उद्देश्यले भइदिए हामी कति खुसी हुँदा हौँ !