संयोग र दुर्घटनाले केही दललाई तत्काल फाइदा र घाटा भए पनि नेपाली राजनीतिको भविष्यलाई अन्धकारमा पार्ने निश्चित छ
विभिन्न दलका आ-आफ्ना उम्मेदवार र सर्तका कारण देश अहिले नेतृत्वविहीन छ । बहुमतीय र सहमतीय सरकार बनाउने घरदैलो अभियानले पनि कुनै अर्थयुक्त समीकरण बनाउन सकेको छैन । दलहरूले सहमतीय सरकार बनाउन नसके पनि बहुमतीय सरकार त दिनुपर्ने हो । तर, दुई-दुईपटकका चुनाव कसैको समर्थन, कसैको विरोध र कसैको तटस्थताले गर्दा प्रधानमन्त्री चुन्न असफल भइसकेको अवस्थामा अबको तेस्रो चुनाव पनि तात्विक रूपमा भिन्न होला भन्ने कुनै आधार अहिलेसम्म देखिएको छैन । १७ साउन धेरै टाढा छैन, तर दलहरूको चाला र ढिपी देख्दा भने प्रधानमन्त्रीय तेस्रो चुनाव पनि ँहात्ती आयो, हात्ती आयो फुस्सा’ होला जस्तो देखिन्छ ।
हिजो राजतन्त्रविरोधी आन्दोलनको एउटै मोर्चामा सँगै उभिन सक्ने प्रधानमन्त्रीका प्रत्याशीद्वय माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका रामचन्द्र पौडेल राजनीतिक दल र नेताहरू नमिली नहुने अवस्था आज पनि छ । तर, यस्तो संकेत अहिलेसम्म देखिएको छैन । अझ मधेसी मोर्चामा आबद्ध दलको दृष्टिकोण पनि अहिलेसम्म स्पष्ट भएको छैन । मौका यही हो भनेर सम्भव-असम्भव मागको भारी प्रधानमन्त्रीका दुवै प्रत्याशीलाई बोकाइरहेका छन् उनीहरू । उनीहरूका माग हेर्दा कुनै पनि प्रत्याशीले सबै मागमा सहमति गर्न सम्भव छँदै छैन । अर्कातिर आफ्ना प्रत्याशीले जित्ने सम्भावना हुँदाहुँदै पनि उम्मेदवारी फिर्ता लिएर पछि हटेको एमाले सहमतीय सरकारको रट लगाएर तटस्थताको नाटक गरिरहेको छ । आखिर देशलाई सहमतीय या बहुमतीय जुनसुकै नामको भए पनि सरकार अविलम्ब चाहिएको छ ।
यस्तोमा यो वा त्यो बहानामा देशलाई अनिर्णयको बन्दी बनाइनु कुनै पनि अवस्थामा जायज मान्न सकिन्न ।
प्रधानमन्त्रीय चुनावको नौटंकीसँगै दलहरूभित्र रडाको सुरु भएको छ । माधव-केपी समूहले एमालेका झलनाथ खनालको प्रधानमन्त्री बन्ने सपनामा तुषारापात गरिदिएपछि एमालेभित्र अर्को रडाको जन्मेको छ । अहिलेको अवस्थामा पुरानै निर्णयमा अडिग रहेर तटस्थताकै रट लगाइरहने वा निर्णय उल्ट्याएर दुईमध्ये कुनै एक प्रत्याशीलाई मतदान गर्ने भन्ने विवाद एमालेभित्र चर्किंदै गएको छ । यो विवाद चर्कदै गए सहमतिको सरकार नभएसम्म सरकार नबनाउने र कांग्रेसलाई समर्थन गर्नुपर्छ भन्ने विवाद चर्कने र त्यसले एमालेमा अर्को दुर्घटना निम्त्याउने खतरा बढेको छ । कुनै दल र कुनै समीकरणमा जुट्ने संयोग र दुर्घटनाले केही दललाई तत्काल फाइदा र घाटा भए पनि नेपाली राजनीतिको भविष्यलाई अन्धकारमा पार्ने निश्चित छ । त्यसैले अहिले दल र गुटबीच समूल रूपमा अस्तित्व विघटनको होइन, अधिकतम रूपमा परस्पर सहयोग र सहकार्यको आवश्यकता छ । अधिकतम रूपमा सहयकार्यका लागि सबै दल तत्पर हुनैपर्छ ।
naya patrika