Friday, July 30, 2010

नेपालले पहिलोचोटि विश्वकप खेल्दा...


ठूलै भाग्यले गर्दा आफ्नै नातिले विश्वकपमा खेलेको प्रत्यक्ष हेर्न पाइयो । त्यही पनि आफ्नै देशमा । ओहो ! हेर-हेर कति राम्रो देखिया छ केटोलाई, मैदानमा । सबैलाई छलाउँदै, झुक्याउँदै भकुन्डोलाई लात्तै-लात्ताले हान्यो, गोल गर्‍यो, कस्तो मज्जा !

'लौ है, त्यो १० नम्बरको जर्सी लगाउने नेपाली टिमको ठिटोचैँ मेरो नाति हो' भनेर बेस्सरी कराउने मन छ । तर, बूढो बौलाएछ भन्लान् भन्ने डर । सावाँको भन्दा ब्याजको माया भएजस्तै छोराको भन्दा यो नातिको खुब माया लाग्छ । हेर्नुस् न, यो बुढेसकालमा यसलाई पिठ्युँमा बोकेर मैदान वरिपरि घुम्ने रहर छ । मैदानमा यसको नाम लिँदै हुटिङ गरिरहेका दर्शकलाई पनि 'अझै हुटिङ गर' भनौँ कि जस्तो लाग्छ । तैपनि, मनमनै खितखिताउनु, खुसी हुनु, उसले हात उठाउँदा आफूले पनि हात उठाउनु, यसैमा छ मज्जा । भन्दाभन्दै उसले गोल हान्यो । सबै नेपाली दर्शक उत्तेजित भएका छन् । नेपाली झन्डा र्फपmराइरहेको छ । बुढेसकालमा भगवान्को भजनभन्दा त यो विश्वकपको रौनक पो रमाइलो लागिरहेछ । १० वर्षको उमेरदेखि नै यो भकुन्डो खेल्न मरिहत्ते गथ्र्यो । पढ्नभन्दा यही भकुन्डो खेल्नै रमाइलो छ हजुरबा भन्थ्यो । म उसका बाउ-आमालाई कोठामा पढ्न गएको छ भनेर खेल्न पठाइदिन्थेँ । हेर्नुस् हजुरबा, म यही खेलबाट हाम्रो देश नेपालको नाम विश्वमा फैलाउँछु भन्थ्यो ।

सानैदेखि यो नाति प्रश्नहरू सोधेर हैरान गथ्र्याे । हजुरबा तपाईंहरूको जमानामा केही खेल खेल्नुभएन ? एकदिन हैरान गर्‍यो । के भनौँ, भनौँ भयो— खेल्याथ्यौँ, खेल्याथ्यौँ । हाम्रा पालाँ वास्तवमा विश्वकपभन्दा त्यो कुर्सी तानातान खेल खुब 'हिट' थियो । कुर्सीको खेल रे ? उसले कहिल्यै नसुनेको खेल सुनेर छक्क पर्‍यो । यसको पालामा यो खेल खेलिने भए पो छक्क नपरोस् त । देश चलाउने नेताहरू नै कुर्सी तानातान गर्न मैदानमा उत्रन्थे । हामी युवा दर्शक भने कालो, रातो झन्डा लिएर सडकमा उत्रन्थ्यौँ । सडकै जाम हुनेगरी उत्रँदा नेताहरू अझ हौसिन्थे ।

हाम्रो पालाका नेता र यसका पालाका नेताबीच आकाश-पातालको फरक छ । हाम्रो पालामा नेताहरू कुर्सीमा बस्न भनेपछि जुको टासिएजस्तै हुन्थे । तर, यसका पालामा त आफूले गरेको प्रतिबद्धता पूरा गर्न सकेनन् भने राजीनामा दिइहाल्छन् । अर्काे आत्मविश्वासी, आफूले गरेको प्रतिबद्धता पूरा गर्न दृढ, भाषणले भन्दा कामले जनताको मन जित्नेले अवसर पाइहाल्छ ।

कुन्नि के कारणले हो, सहभागिताको पहिलो वर्षमै नेपालले विश्वकप आयोजना गर्ने मौका पाएको छ । सहभागिताका लागि खेलाडी छनोट गर्न विभिन्न राज्यबीच खुब भिडन्त चलेको थियो । हरेक राज्यका थुप्रै क्लबलाई भिडाएर उनीहरूले राम्रो खेलाडी छनोट गर्दै गणराज्यभरिका एक-एकजना सब से च्याम्पिन खेलाडी मिलाएर एउटा राष्ट्रिय टिम बनाइएको छ । सबै राज्यका राम्रा-राम्रा खेलाडीले भरिएको यो टिमलाई मैदानमा हेर्दा लाग्छ— विश्व नै हल्लाउने आँट भएका एकहुल केटाहरू एकै उद्देश्यमा होमिएका छन् ।

'गोल, गोल, गोल...' सबै दर्शक कराए । फाइनल खेल हो यो । सायद समय पनि धेरै छैन । मैले पनि बार्दलीतिर तन्कँदै दुरबिनलाई बेस्सरी समाएँ । नाति जता जान्छ उतै ध्यान दिइरहेको छु । अरू दर्शकले जस्तै । नभन्दै मेरो नातिले भकुन्डो अगाडि बढायो । दुवै टिमको यसअघिको अंक बराबर भएको र समय पनि संघारमा पुगेकाले उसले यो क्षण गोल गरेमा नेपालले विश्वमा एकपटक सगरमाथाको जस्तै उचाइ लिने थियो । बल उसले अझै अगाडि बढाइरहेको छ । झन्डै विपक्षले छोएको । धन्न छलायो । उसले गोलपोस्टमा प्रहार गर्‍यो । 'गोल नाति, गोल !' भन्दै म कराएँ । सबै दर्शक उचालिए । चिच्याए । म बङ्लंग पछारिएँ ।

हैन, गोल भयो कि भएन ? म त खाटबाट पो पछारिएको रहेछु । एक महिनासम्म विश्वकपको रौनकको 'ह्याङओभर' भएको मैले कस्तो सपना देखेछु । साथीले म कराएको थाहा पाएर लात्ताले हानेछ, निद्रा बिथोलेको भनेर । सपना सम्झाउँदा कसैको पनि हाँसो थामिएन । छोरो पाउने कहिले-कहिले भोटो सिउने अहिले भनेजस्तो बिहे नै नभएको मैले अचम्मको सपना देखेछु ।-कृष्णचन्द्र बन्जारा