Saturday, June 20, 2009

यथार्थ

चुरोटको बट्टा बट्टामा

‘धूमपान स्वास्थ्यको लागी हानिकारक छ’

लेख्दा लेख्दै पनि

रक्सीको बोतल-बोतलमा

‘मदिरा नपिउनु नै बेस’

देख्दा देख्दै पनि

‘तान्ने’हरुको भीड नघटेपछि

‘पिउने’हरुको जमात झन् बढेपछि

‘उल्टो असरको सिद्धान्त’ले काम गरेको र

चेतावनिको बारम्बार पुन:उक्ति पनि

झन्-झन् बेमतलब बन्दै गएको देखेपछि

आजकल त यहाँ

अर्कै चलन चलेको छ रे

भ्रष्टाचारिहरु प्र्त्येक घोटालापछि

‘भ्रष्टाचार देशद्रोह हो’ भन्छन्

घुस्याहाहरु हरेक किस्ता बुझेपछि

‘घुस खानु महापाप हो’ जप्छन्

चेतावनि र विज्ञापन संगसंगै चलिरहेछन् ।

क्यान्सर र भ्रष्टाचार दिनदिनै बढिरहेछन् ।
- दिलीप( कान्तिपुर ०३-०६-२०५५)