Saturday, June 20, 2009

गल्ती गरौं, महान बनौं

स्कुल पढ्ने बेलामा एकदिन अंग्रेजीको शिक्षकले एउटा अंग्रेजी भनाईको माने सम्झाउँदै भन्नु भएको थियो “ … महान मान्छेबाट पनि गल्ती हुन्छन्” । मैले भने त्यतिबेला त्यो भनाईको अर्थ अर्कै निकालेको थिए : “गल्ती गर्ने मात्रै महान बन्छन” । शिक्षकले शब्दार्थ देखाएर तर्क प्रस्तुत गरे, मैले सत्यार्थ दर्शाएर बुझ्न ईन्कार गरें । उनले आफ्नो शिक्षकवादको हैकम देखाएर मलाई हप्काए, मैले आफ्नो विद्यार्थी जोश देखाएर उनलाई रन्काएँ । कक्षामा निकै वेर चर्काचर्की भयो। त्यतिबेला मलाई आफ्नै तर्क शतप्रतिशत ठीक लागेको थियो, तर स्थितिको गाम्भीर्यलाई ध्यानमा राखेर म नै चुप बसें (कारण त्यतिबेलाका शिक्षकका हातमा एउटा लठ्ठी पनि हुने गर्थ्यो :)

बीचमा केहि समय शिक्षकको तर्क ठीक लाग्यो, तर वरिपरिको वातावरण र अहिलेको स्थिति हेर्दा लाग्छ स्कुल समयको मेरै तर्क सहि रहेछ । तपाई आफैं हेर्नुस न, यहाँ गल्ती नै नगर्ने ठूलो मान्छे को नै छ?।

कुर्सी पाएपछि भोट हाल्ने जनता भुल्ने नेता, प्रसिद्धि पाएपछि सुटीङमा ढिला आउने अभिनेता, आँखा अगाडि घटेको घटना नदेख्‍ने तर हावा खबर लेख्‍ने पत्रकार, आफ्नै घर्रामा भएको फाईल नभेट्ने र कामवालालाई पुरै कार्यालय घुमाउने कर्मचारी , सबै नै आ-आफ्ना क्षेत्रमा अगाडि बढ्दैछन। यी सबलाई तपाईले बदमासी गर्दा गर्दै समात्नु भयो भने सबैले एउटै जबाफ दिनेछन : “के गर्ने गल्ती त मान्छेबाट भैहाल्छ नि …” । तर मेरो बिचारमा यो वास्तबमा भुल हैन, माथी माथी चढ्ने पुल हो । किनकि अहिलेको जमनामा भुल नगरिकन ठूलो मान्छे बन्नु असम्भव नै छ। पत्याउनु हुन्न ?, हेर्नस त :

तपाई सरकारी कर्मचारी हुनुहुन्छ र तपाईले कुनै काम गर्नु छ, तपाईसंग समय प्रशस्त छ र काम गर्ने वातावरण पनि छ, तर पर्खनुस !, हतार गरेर त्यो काम नगरिहाल्नुस, किनकि अर्काले एकचोटि भन्ने बित्तीकै काम गरिहाल्ने व्यक्ति कहिल्यै ठूलो मान्छे बन्न सक्दैन । पहिला त दुई तीन पटक भोलीभोलीको वहानामा उसको दिमाग तताउनुहोस, त्यसपछि चार पाँचपटक कार्य व्यस्तताले गर्न नसकेको बताउनुहोस। अनी कुनै दिन, फुर्सद भयो र ‘मुड’ पनि चल्यो भने बल्ल उसको काममा हात चलाउनुहोस। यस बीचमा ऊ पन्ध्र पटक निवेदन लिएर आउनेछ, सत्र पटक चीया र खाजा खुवाउने छ। अन्त्यमा उसको काम गरिदिएकोमा धन्यवाद पनि दिने छ (काम र ठाम हेरी आउने अदृश्य वस्तुहरुको चर्चा भने अहिले नगरौं)।

तर सो व्यक्ति आउनेबित्तिकै तपाईले उसको काम गरिदिनु भएको भए के हुन्थ्यो त तपाईलाई थाहा छ? । उ तपाईको कार्यालय कोठामा प्रवेश गर्थ्यो, तपाइ लुसुक्क उसको काम सक्काईदिनु हुन्थ्यो, उ खुरुक्क आफ्नो बाटो लाग्थ्यो । सायद बाटोमा यस्तो सोच्दो हो – “ओहो ! निक्कै नाम सुनेको थिएँ, निक्कै व्यस्त हुन्छन् भन्थे त !, के को व्यस्त हुनु, काम नै केहि रहेनछ … । ऊ तपाईलाई निकम्मा सम्झदों हो, बेकारी सम्झदों हो, धन्यवाद र कृतज्ञताका शब्द त कता हो कता । त्यसैले काम हेरी कम्तीमा पनि सानो कामलाई ३ दिन, मझ्यौलालाई ५ दिन र ठूलोलाई १० दिन सम्म झुलाउनु होस् । हैन तपाईलाई ठुलो मान्छ बन्नु छैन भने त भिन्दै कुरा।

अब भुलाउने र झुलाउने कलाको बारेमा पनि केहि चर्चा गरौं । यसका मुख्य दुईवटा मात्रै अति असरदार र जोडदार तरिका छन्- एक व्यस्तता देखाउने, दुई भुलेको नाटक गर्ने । व्यस्तताको नाटक गर्न धेरै सजिलो छ। तपाई अफिसको टेबुलमा टाउको अड्याएर निदाई रहनु भएको छ, फोनको घण्टीले तपाईको निन्द्रा खलबलिन्छ । “हेलो !, म भूँडिवाल अग्रवाल … ” उताबाट आबाज आउँछ “ मेरो काम … ”। उताको आबाजलाई बीचैमा काटेर भन्नुहोस “ … अँ, आजभोलि कामको भिडले गर्दा केहि गर्न भ्याएको छैन, दुई तीन दिनपछि सम्पर्क गर्नुहोस न ”। उताबाट सधन्यवाद फोन राखीन्छ र उ तपाईको व्यस्तताको गुणगान गाउन थाल्छ, तपाई चाहिँ निंन्द्रा बिगारेकोमा उसलाई सराप्न थाल्नुहोस ।

तर कहिलेकाही कामवाला यस्ता हुन्छन्, जो बिना फोन एक्कैचोटी तपाईकहाँ पुग्नेछन (बदमासहरु!), तर नआत्तिनुहोस्, झट्ट फोन उठाएर गरको नम्बर डायल गर्नुहोस “अँ … म फलानो … कति बजे रे आजको मिटिङ … ल ल म तुरुन्तै निस्कें” बस् फोन राखेर अगाडिको मानिसलाई हेरेर हिस्स हाँसिदिनुहोस् अगाडिको मान्छे आफैं माफी मागेर हिंडछ । (ऊ तपाईको अफिस बाहिर जान्छ, तपाई ट्वाईलेट सम्म गएर फर्कनुहोस –एक पन्थ दुई काज) । साथै त्यस्तै अपर्झट परेको बेलामा धुल्याई सकेको फाईल पल्टाउने वा श्रीमतीको चिठ्ठी हेरेर घोरिई दिने गर्नाले पनि अगाडिको मान्छे फर्कन सक्छ ।

अब कामको बोझले गर्दा भुलेको बहाना गर्ने उपाएहरुको बारेमा सोचौं । यो त झन माथिका उपाएहरु भन्दा पनि सजिलो छ । बस मनमनमा “यो मोरो कहाँबाट आईपुग्यो!” भन्ने भाव आएपनि मुखले भने “… हे हे हे ! हेर्नुस कामको भीडमा तपाईको त ठ्याक्कै भुलेछु, एक दुई दिनमा हेर्छु है !” भन्नुस, कामवाला सम्झन्छ ‘ओहो, यत्रोविधि काम समालेर बसेका छन, एक दुईवटा त बिर्सन पनि सक्छन नि!” । ऊ तपाईले ढाँटेको थाहा पाउँदैन र तपाईको कार्य व्यस्तताको राग अलाप्दै फर्कन्छ । तपाई आफ्नो सफलतामा गुनगुनाउन थाल्नुहोस ।

मान्छे अगाडि छैन र फोनमा भुलेको देखाउनुछ भने त झनै सजिलो । हेर्नुस त तपाईको फोनको घण्टी बज्दैछ … , किन हतार गरेर उठाउन लागेको, पाँच-सात घण्टी बज्न दिनुहोस। ल, अब उठाउनुस “ हेलो, म मालामाल कम्पनीबाट बोलेको, मेरो निबेदन … ” उताबाट आबाज आउँछ, ल! तपाई किन आत्तेको?, जबाफ म सिकाईदिन्छु “ ओहो मालामालजी ( काम बिर्सेको मान्छेको तपाईले नाम पनि बिर्सन सक्नु हुन्छ ) हेर्नुस न … यो हप्ता साह्रै काम थिए, तपाईको त झण्डै बिर्सेको … तर धन्दा नमान्नुस म अर्को हप्ता हेरिदिन्छु” । उताबाट सधन्यबाद फोन राखीन्छ । ‘अरुको यत्रोविधि काम हुँदा हुँदैम पनि मलाई सम्झिरहेका रहेछन’ ऊ, वास्तविकता भन्दा धेरै परबाट तपाईको गुणगान गाउँन थाल्छ, तपाई भने त्यो मालामाल कम्पनीको को मान्छे होला र त्यसको के काम थियो होला भनेर सोच्दै गर्नुस ।

माथिका उदाहरणरुको अनुसरण गरेमा तपाई पनि एकदिन अवश्य ठूलो मान्छे बन्नु हुनेछ । त्यसैले तपाई पनि आजै देखी भुल्ने र गल्ती गर्ने बानी सिक्नोस्। एकचोटि गल्ती भएपछि सुधार्ने बानी छ भने त्यो पनि छाडनुस किनकि यहाँको चलन नै यस्तै छ :

अमर हुनलाई पहिला मर्नुपर्छ ।
महान बन्न धेरै गल्ती गर्नुपर्छ ।।

तपाईले कोहि नमरीकन अमर भएको मान्छे देख्‍नु भएको छ?, कोहि गल्ती नै नगर्ने महान् व्यक्तिलाई चीन्नु भएको छ ?

(गोरखापत्र ०१-०४-२०५६)