Friday, May 8, 2009

प्रचण्डको भिडियो काण्ड र मेरो सोचाइ...

सरकारले अवकाश दिएका प्रधान सेनापति रुक्मांगत कटवाललाई पुनःस्थापन गर्ने राष्ट्रपति डा. रामबरण यादवको निर्देशनले द्वैधसत्ता कायम गरेको भन्दै प्रधानमन्त्रि पुष्पकमल दाहालले राजीनामा दिएपछि नेपाली राजनीतिको एउटा अध्याय समाप्त भएको छ भने नयाँ अध्याय सुरु भएको छ। अवकाशको प्रकरणमा असन्तुष्टि जाहेर गर्दै माओवादी नेतृत्वको सरकारप्रति एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले राजीनामा गर्नुपर्ने स्थिति आएको हामी सबैलाई थाहा छदैछ । माओवादी सत्ता-कब्जाको रणनीतिमा लिप्त रहेको वा सत्तामा टाँसिएर सर्वसत्तावाद र अधिनायकवाद लाद्न उद्यत रहेको आरोपलाई व्यवहारतः खण्डन गर्दै प्रचन्डले सरकारबाट राजीनामा दिएर जनताको प्रशंसा पाउने काम गरेका थिए । मलाई पनि लागेको थियो साच्चिकै माओवादीले देश र जनताकालागि काम गर्दो रहेछ। तर बिडम्बना मेरो यो सोचाइ एक दिन पनि टिक्न सकेन। जब प्रचण्डको सत्ता कब्जा गर्ने योजनाको पर्दाफास भएका भिडिओ आज हेरेर सके। त्यसपछीको मेरो ब्यक्तिगत विश्लेसण- नेपालमा अहिले साबित भइरहेको सो हट केक घटनाक्रम,भिडियोमा प्रचण्डले बोलेका केही गोप्य कुरा अहिले आम जनमानसमा उजागर भइसकेका छन। भिन्न मतप्रति माओवादी कार्यकर्ताको असहिष्णुता जनतालाई थाहा छदैछ । देशमा हाल राष्ट्रपतिको कदमविरुद्ध माओवादीको विरोध अशिष्ट र अमर्यादित हुँदै गहिरहेको छ। अहिले सत्ता छाडेर सडकमा ओर्लिएको माओवादीले सदनलाई मर्यादित र जिम्मेवार बनाउन नदिएर सरकार छाडेर बनाएको नैतिक जमिन गुमाइसकेको छ। लोकतन्त्रमा संगठन दबाव र लाठीले बन्दैन, जनमुखी काम र व्यवहारबाट बन्छ भन्ने माओवादी पार्टिले भुलिसकेको छ। राष्ट्रपतिको कदमले माओवादी कार्यकर्तालाई उत्तेजित बनाएको होला तर त्यो उत्तेजना अमूक पार्टीका कार्यकर्तामाथि भौतिक आक्रमण वा धम्कीका रूपमा प्रकट हुनु राजनीतिक होइन, आततायी उद्वन्डता हो ।

निस्चयनै यो भिडियोबाट आम-नागरिक सजग र सचेत हुनुपर्ने बेला आएको छ । उक्त भिडियोमा कमरेड प्रचन्ड प्रसन्न मुद्रामा आफ्नो रणनीति सुनाउदै थिए शुरुमा त म झुक्किए पनि हिजो,अस्ती मात्र प्रचन्ड अत्यन्त गम्भीर थिए राजीनामा दिदा आजै यति चाडै प्रसन्न कसरी भए ? तर कुरो त संविधान सभा निर्वाचन ताकाको रहेछ। एउटा कुरा त मान्नै पर्ने हुन्छ माओवादीमा जस्तो समर्पित कार्यकर्ता अहिले अरु दलमा छैनन कि? तर मलाई प्रचन्डको ग्राण्ड डिजाइन कुनै नौलो लागेन सोही साझमा BBC सुने, पासाड भन्दै थिए यो सब हामो अध्यक्ष कमरेड प्रचण्डको चरित्र हत्या गर्ने प्रयास हो। उनले त्यसबेलाको परिस्थिती बेग्लै थियो भनेपछि माओवादीहरु डराएका रहेछन् भन्ने भान ममा पर्नु स्वभाविक थियो। जबकि मैले यसमा चरित्र हत्या हुने वा BBC ले भने जस्तो प्रचण्डको द्धैध चरित्र भन्नुपर्ने कुरै देखिन किनकी उनी एक माओवादी कम्युनिष्ट हुन, एमाले ले त आफ्नो लक्ष जनगणतन्त्र भन्छ भने प्रचण्डले सत्ता कव्जाको नियत राख्नुमा के आश्चर्य भयो र ? यो अवश्य हो कि यो पर्दाफासले कटवाल बर्खास्तगी पछाडि नागरिक सर्वोच्चता नभई नेपाली सेना लाई प्रचण्डकै शब्दमा "माओवादीकरण गर्ने" सुनियोजित रणनीति अन्तर्गत भएको प्रमाणित भने गरेको छ र कटवाल यसमा सर्वाधिक बाधक रहेको प्रचण्डले यो भिडियो मा उतिबेलै स्वीकारेका छन्।

नैतिकताको आधारमा राजीनामा दिएका प्रचन्डले UNMIN लाई झुक्याएर सात आठ हजार मात्र वास्तविक सेना भएको जनमुक्ती सेनालाई २१ हजार पुरयाएको गर्वपूर्ण स्वीकारोक्तीले चाहि उनको राष्ट्रिय अन्तराष्ट्रिय विश्वसनीयतामा गहिरो धक्का अवश्य पुरयाउनेछ ,यसले संयुक्त राष्ट्र संघको नेपाल मिसन (अन्मिन) समेत विवादमा तानिने पक्का छ। यो ढाड भाच्ने, खुट्टा भाच्ने कुरा त प्रचण्डले नै पो सिकाएका रहेछन् उनी भन्दै थिए, एमालेलाई तिमिहरुको खुटटा भाचछौ भनेर तर्साए खुटटा भाच्न गारो पनि छैन आदि यो भिडियो सकारात्मक रुपमा हेर्ने हो भने माओवादी नेतृत्वले पनि कम भन्दा कम मानवीय क्षतिमा कम्युनिज्म स्थापना गर्न सकियोस भन्ने चाहेको हो कि जस्तो पनि देखिन्छ। कानुनी समाधान जे आए पनि एकदलीय कम्युनिजम नचाहने तर राष्टपतिको कदम गलत हो भन्नेहरुले यो पनि जवाफ खोज्नपर्ने हुन्छ, के नेपाली सेनाको माओवादीकरण गर्न दिन उचित हुन्थ्यो त ? यो भिडियोले कटवाल को अडान दम्भपूर्ण र अटेरी मात्र थियो भन्ने तर्क पनि कमजोर हुन गएको छ । शायद यही कुरा प्रमाणित गर्न नै अहिले यो भिडियो सार्वजनिक गरेको हुनुपर्छ। मलाइ चाहि माओवादीको चरम असहिष्णुता, एमालेको ढलमल(अहिलेको तुरुन्तै ठोस निर्णय गरेर सरकार छाडेको बाहेक), र काग्रेसको शास्त्रीयता फिटिक्कै मन पर्दैन तर फेरि माओवादीकै जोस जागर, एमालेको समन्वयता, र काग्रेस को सैद्धान्तिक स्पष्टता भने मन पर्छ। एउटा कुरा चाहि के हो भने अब चाहि म जानाजान कनै पनि आन्दोलन सान्दोलन मा भाग लिन्न नजानेरै भाग लिन पुगेछु भने अर्कै कुरा। आखिर जुनै तन्त्र आए पनि मलाइ खासै फरक त नपर्ने र छ। आफु महान बन्नको लागि सुखद भविष्य को सपना देखाएर कमनिजमका पवर्तक मानिसलाइ किरा भन्दा फरक देख्दैनन,कुल्चिदिन्छन् देशले अब भने स्पष्ट बाटो खोजेको छ माओवादी सर्वोच्चता सहितको गणतन्त्र वा लोकतान्त्रीक गणतन्त्र ?


आज माओवादीकै हठ र एकलौटीकरणले मुलुक अराजकता तथा विदेशी चलखेलको मैदान हुने अवस्थामा उभिएको छ । तसर्थ मुलुक र जनताको भाषणमा मात्र हैन व्यबहारमा पनि अलिकति माया बाँकी छ भने र आफूबाहेक यो मुलुकमा अरूको पनि इच्छा, आकांक्षा, जिन्दगी छ भन्ने आभाष छ भने आजको राजनीतिक संकट टार्न माओवादीले पहल गर्नैपर्छ ,गर्नैपर्छ। यसको लागि ऊ आफू सामेल भएको राष्ट्रिय सहमतिको सरकारमा सहमत हुनैपर्छ । देशलाई धेरै समय 'केयर टेकर' सरकार मातहत राख्नु ठीक हुँदैन। 'नानीदेखि लागेको बानी'मा भुलेका नेता तथा कार्यकर्ताहरूको व्यवहारले आफ्नै पार्टी नेतृत्वलाई समेत खतरामा उभ्याएको छ केवल आश्वासन दिएर पुग्दैन, कारवाही नै गर्नुपर्छ आफ्ना उद्ण्द कार्यकार्तालाई जनतालाई थाहा दिएर माओवादीले । नत्र त शक्तिखोर प्रवृत्ति हाबी भएको दलले आफू र आफ्ना आकांक्षालाई त सिध्याउँछ नै, बाँकी हामी सबैको भविष्य पनि अन्धकारमा पारिदिन्छ । उपर्युक्त सबै प्रश्नको उत्तर माओवादीको लचकतामा भर पर्ने देखिन्छ नत्र एक राउंड फेरि युद्ध होला जस्तो छ। सबैलाई चेतना भया ! चेतना भया !! चेतना भया !!!