Monday, April 6, 2009

जातीय विभेद नचर्काऊ

नयाँ संविधानमा विभिन्न जातजाति, वर्ग, क्षेत्रका समुदायले आफ्नो अस्तित्व र अधिकार खोजिरहेका छन् । मधेसीलाई मधेस चाहिएको छ भने थारूलाई थरूहट अनि तामाङलाई ताम्सालिङ चाहिएको छ भने राई, लिम्बू, किराँतलाई खम्बुवान र लिम्बुवान । कसैलाई सरकारी सेवामा आरक्षण त कसैलाई राज्य सञ्चालनमा पहँुच अनि कसैलाई आत्मनिर्णयको अधिकार । यो स्वाभाविकै हो तर एउटा जाति, वर्ग, क्षेत्रलाई अधिकार दिने नाममा अर्को जाति, वर्ग, क्षेत्रको अस्तित्व समाप्त पार्ने काम कदापि हुनु हुँदैन । बाहुनक्षेत्री समुदायभित्र जातका दलित नभए पनि विभेद र व्यवहारले दलित बनाइएकाहरू प्रशस्त छन् त्यस्तै उत्पीडन, गरिबी, अशिक्षा, रोग, भोकले घेरिएकाको संख्या पनि निकै ठूलो छ ।

बाहुनक्षेत्री भएकै कारण राज्यले उपलब्ध गराउने विभिन्न अवसरबाट समुदायलाई वञ्चित पार्न खोजिँदैछ । हो, राजनीतिक र सरकारी ओहदाको माथिल्लो तहमा अन्य समुदायको तुलनामा बढी भए पनि सम्पूर्ण बाहुनक्षेत्रीको जनसंख्यामा ज्यादै न्यून छन् । के बाहुनक्षेत्रीको सबैको हैसियत प्रचण्ड, गिरिजा, माधव, सूर्यबहादुर र कमल थापाहरूसँग दाँज्न मिल्छ । बाहुनक्षेत्री हुँदैमा सबै खराब हुन्छन् ? केही बाहुनक्षेत्रीको बदमासीको मूल्य सम्पूर्ण समुदायले चुकाउनुपर्ने हो ? अन्य समुदायमा सबै असल मान्छे मात्र छन् ?

बहालवाला मन्त्रीहरू बाहुनवाद भन्दै हिँड्छन् । यिनीहरू देशका मन्त्री हुन् कि एउटा समुदायको ? सबै कुरा बुझेर, हामीमात्र नेपाली हौं भन्ने भावना सबै जाति, वर्ग, क्षेत्रका समुदायमा पलाउनु जरुरी छ ।